कर्णालीका भीरपाखा हुँदै थारूबस्तीका भलमन्साहरूसँग
सारांश
- कर्णालीका भीरपाखादेखि सुदूरपश्चिम थारू बस्तीसम्मको यात्रामा समाजवादी कम्युनिस्ट पार्टीको टोलीले जनतासँग दुःखसुख साटेको थियो।
- यात्राको क्रममा जाजरकोट, बागलुङ, रुकुम हुँदै थारू समुदायका घरसम्म पुगेर अभियान सञ्चालन गरियो।
- जनतामा आधारित कार्यक्रम र अभियानको सफलताले क्रान्तिको आवश्यकतालाई उजागर गर्यो।
एक महिनासम्म कर्णालीका भीरपाखा हुँदै सुदूरपश्चिम थारूबस्तीका जनताको घरबस्तीमा दुःखसुख बाँडेर काठमाडौँ फर्किएपछि घोत्लिँदै ती दिनहरूको स्मरण गरिरहेको छु । यद्यपि यसअघि पनि पश्चिमदेखि पूर्वसम्म केही जनअभियानहरू सञ्चालन भइरहेका छन् । ‘जनतामा जाऊँ, जनताको सेवा गरौँ’ नारासाथ यसपटक हामी तनहुँ, कास्कीको पोखरा हुँदै सुदूरपश्चिमसम्मको कार्यक्रम बनाएर यात्रामा निस्केका थियौँ ।
समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंह ‘समरजङ्ग’ को नेतृत्वमा पार्टीको केन्द्रीय टिम नै अभियानमा परिचालित थियो । जाजरकोटको कुशेस्थित मान्नेढुङ्गा माविमा सहिद परिवारलाई न्यानो लुगासहित अभिनन्दन र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरी जनसमुदायका माझमा अभियान उद्घाटन गर्ने निर्णय थियो । यसपटकको अभियान जनकेन्द्रित बनाउने योजना लागू गर्दै थियौँ हामी ।
१८ गते बिहानै पूर्ण, अशोक, विनोद, माधव, उषा राना, कुशल र आकृतिसहितको हाम्रो टोलीले भक्तपुर छोड्यो । गाडीमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालय ग्रन्थका बोरा पनि राखियो । स्वयम्भू पुगेर सरोजजीको माध्यमबाट बन्दोबस्तीका थप सामान गाडीमा चढाएपछि सीतापाइला, छत्रे देउराली हुँदै हाम्रो यात्रा धादिङतर्फ अघि बढ्यो ।
हामी बिहानको हुस्सु नहट्दै धार्के पुगिसकेका थियौँ । मलेखुको ‘उही पुरानो गोपालको होटेल’ मा खाना खाएर अपराह्न हामीले तनहुँका अग्रज किसान नेता विजय दाइलाई भेट्यौँ र सोझै पोखरातिर हानियौँ । पोखराबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग प्रयोग गर्दै पर्वतको कुस्मा छोएर बागलुङ बजार पुग्यौँ । पहिलो दिन जाजरकोटको रिम्ना पुग्ने हाम्रो लक्ष्य बागलुङमै स्थगित भयो ।
_QB37aGAKck.jpg)
बागलुङबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै पश्चिमतर्फको बाटो मेरा लागि नयाँ थियो । बिहुँकोट, गल्कोट, बुर्तिबाङ, निसी, ढोरपाटन आरक्षण क्षेत्र हुँदै हामी करिब ३५०० मिटर उचाइको पातीहाल्ना पहाडको चिसोसँग मितेरी लगाउन पुग्यौँ । पातीहाल्ना बागलुङ, रोल्पा र रुकुमपूर्वको त्रिसाँध रहेछ । अत्यधिक चिसो खाएर बाँचिरहेको उक्त पहाडको चुचुरो पर्यटकीय क्षेत्र भएर पनि एउटा सानो छाप्रे होटेलको भरमा टिकिरहेझैँ लाग्यो ।
प्राकृतिक छटाले सबैलाई सर्जक बनाइरहेको थियो । केही साथीहरू कोइलीको कुहुकुहुलाई ‘डाँफे, मुनाल र कोइलीको सुमधुर च्यारच्यार धुन’ भनेर सायरी हालिरहनु भएको थियो । यात्राभरि त्यसलाई ‘च्यार साहित्य’ का नामले सम्बोधन गरियो । उच्च पहाडबाट बग्ने खोल्सीहरू हिउँमा परिणत भइसकेका थिए ।

पातीहाल्ना लेकबाट हामी पश्चिमतर्फ लाग्दै गर्दा पूर्वी रुकुमका लुकुम, काँक्री हुँदै सदरमुकाम रुकुमकोट पुग्यौँ । सदरमुकामको कमल दह चर्चित दह रहेछ । साँख, पश्चिम रुकुमको सदरमुकाम मुसीकोटमा साथी हीरामणि रावल हामीलाई स्वागत गर्न तयार भएर बस्नुभएको थियो ।
गाडीमा कोचिँदै माछमी, हासीबाङ, छिबाङमा पुगेर चिया पियौँ । छिबाङमा पिठ्युँमा बच्चा बोकेर चिया दिँदै गरेकी १४–१५ वर्षकी नानीलाई मैले सोधेँ– भाइ कि बहिनी ? उनले लजाउँदै 'मेरो छोरो हो' भनिन् । कर्णालीमा अझै बालविवाह रोकिएको रहेनछ । सिम्ली पुगेपछि सानी भेरीसँग जम्काभेट भयो हाम्रो । हामी मध्यपहाडी राजमार्गलाई बिदा गर्दै कच्ची बाटो मेगा, गराएला हुँदै पश्चिम रुकुमलाई पनि बाईबाई गर्दै रिम्नामा ठूली भेरीको पुल तरेर जाजरकोट प्रवेश गर्यौँ ।
अघिल्लो दिन बास बस्ने तय भएको रिम्ना आज पो पुगियो । पिपे औलमा पूर्णजीको आफन्तको घरमा पाहुना भयौँ हामी । उषा म्यामकी आमा र भाइलाई पनि हामीले त्यहीँ बहिनीकोमै भेट्यौँ ।
- पुत्याउरोको यात्रा
भोलिपल्ट बिहानै टोली जख्खीको बोको लिएर पिपेखोला हुँदै जङ्गलैजङ्गल उत्तरतर्फ माथिल्लो बस्तीमा जाँदै थियो । मगर समाजमा छोरीतर्फबाट नाति जन्मिएपछि बोका काटेर भोज खुवाउने चलन रहेछ । त्यसलाई 'पुत्याउरो मनाउने' भनिँदो रहेछ ।
उषा म्यामकी आमाले नाति कुशलको स्वागतमा बोकाको बन्दोबस्त गर्नुभएको रहेछ । खोला, पानीघट्ट र पिपेको सानो हाइड्रो कटेर आधा जङ्गल उकालो काटेपछि 'मैले यात्रा टुङ्ग्याउँदै फर्किन्छु' भनेँ । साथीहरू 'बोका काटेको ठाउँसम्म जाऊँ' भन्दै हुनुहुन्थ्यो । अझै करिब एक घन्टाको उकालो हिँड्न आँट गरिनँ मैले । घरबाट निस्किँदा भेरीको स्याँठले लगलग काँपिरहेको शरीर पिपे जङ्गलको उकालो हिँड्दाहिँड्दै पसिनाले निथ्रुक्कै भिजिसकेको थियो ।

शरीरमा सुगरको मात्रा घटेझैँ भयो । टोलीलाई छोडेर बिदा हुँदै म तलतिरै फर्किएँ । घरमा उषा म्यामकी आमा भान्साको तयारी गर्दै हुनुहुन्थ्यो । हामीलाई जाजरकोट पुर्याउने नवराज गुरु अझै निद्राबाट ब्युँझिएका थिएनन् । गुरुलाई उठाएपछि आमाले बनाएको गुलियो चिया पिउँदै हामी घाम तापेर गफियौँ ।
टोली पुत्याउरोको बोको काटेर दुई–तीन समूह हुँदै फर्किंदा हामीले भने खाना खाइसकेका थियौँ । बसाइ विविध कारणले रमाइलो र अविस्मरणीय बन्यो ।
भोलिपल्ट हाम्रो यात्रा पिपेको पल्लो औल हुँदै हुलु जिउला खोला पुल काटेर राउत गाउँ हुँदै माओवादी नेता शक्ति बस्नेतको जन्मघर भएको कालेगाउँ, स्याँला हुँदै थाप्ले खलङ्गा पुग्यो । यो जाजरकोट जिल्ला सदरमुकाम हो । पिपे, खलङ्गा हुँदै कुशे डोग्रीसम्मको यात्रा मैले पाँच वर्षअघि पनि गरेको हुँ, पूर्णजी र उषा म्यामसँगै । त्यतिबेला कलाकार अग्निराज पौडेल ‘अराप’, भाइहरू मुकुन्द श्रेष्ठ र उषाकिरण आजाद पनि हुनुहुन्थ्यो ।
थाप्ले खलङ्गामा सहिद मण्डलकी दिदी माया र बहिनी हरिकला हाम्रो प्रतीक्षामा हुनुहुन्थ्यो । माक्र्सवादी विश्वविद्यालयका पुस्तक बहिनी हरिकलाको क्वाटरमा राखेर हामी गाडीमा कोचिँदै अघि बढ्यौँ । हामी नौ जनालाई बोकेर नवराजको स्कार्पियो गाडी नयाँ बाटो अघि बढ्यो । हामीले थाप्ले खलङ्गा छाड्यौँ ।

थाप्ले खलङ्गाबाट बिदा भएर हामी पहिलेझैँ गैरीखाली, कोटखोला, रिसाङ, दारनेटा, बाहुनथाना, पोखरा, राङ्सी, डिँगाको छेउ हुँदै नाउली निस्कियौँ । नाउलीमा हामीले पहिले पनि यहाँको ख्यातिप्राप्त दही खाएका थियौँ । माया दिदीले मकैका रोटा बोक्नुभएको रहेछ । हामीले यसपालि पनि मीठो मानीमानी दहीरोटा खायौँ ।
नाउली कटेर हामी जनयुद्धको एक ऐतिहासिक मोर्चा पाँचकटिया प्रहरीचौकी काटेर दमदाला, ढिमेको पुछार मालुमेला, खुर्पाखोला छिचोल्दै गतबर्खामा सरुगाड थुनिएर बनेको र हामीले यात्रामै राखिदिएको नाम ‘लहरे ताल’ पुग्यौँ र सहिद मण्डलको घरमा बास बस्यौँ । सहिद मण्डलका दिदीबहिनी हाम्रो साथमै हुनुहुन्थ्यो । त्यस दिनको बास त्यहीँ भयो । राती अबेरसम्म सहिद मण्डलका बुबा कुमार सिंहसँग आगो ताप्दै गफिएर बस्यौँ ।
भोलिपल्ट बिहानै माया दिदीले 'भाइहरू रोटा मन पराउँछन्' भन्दै रोटा हालिदिनुभयो । इच्छा हुनेले मकैको रोटा र नहुनेले भात खाएर हामी कुशे २ मान्नेढुङ्गा मावितिर उकालो लाग्नुपर्ने थियो । सहिदका दिदीबहिनी माया र हरिकला घरमै बस्नुभयो ।

हामी सरुगाडको झोलुङ्गे पुल तर्दै पारि पुग्यौँ । चैयाँगाडको सहायक रोलाखोला किनार हुँदै हाम्रो गाडी कुशे २ तिर हान्नियो । हामी तारेचौर, गोया, डेब्री, टापुचौर, गैरीखेत, कालिकाडाँडो हुँदै मान्नेढुङ्गा पुग्यौँ । नुन्याराबाट अघि बढ्दा बिलकोटको चिप्लो उकालोमा पाँच वर्षअघिजस्तै यसपालि पनि हाम्रो गाडी उक्लिन सकेन । हामी सबै गाडीबाट झर्यौँ । हामीले यात्राभरि जाजरकोटको विकासको गति पाँच वर्षसम्म पनि उस्तै रहेको सन्दर्भ उठाइरह्यौँ ।
पाँच वर्षअघि जुन खाल्टोमा ढुङ्गा हालेर गाडी धकेल्दै अघि बढ्नुपरेको थियो, अहिले पनि अवस्था उस्तै थियो । जाजरकोटी जनताले विश्वासले नेता बनाएर पठाएका मान्छेहरू पटकपटक सांसद, मन्त्री भए तर जिल्लाको विकासको अवस्था उस्तै रुग्ण, जीर्ण र दारुण थियो । जनताको जीवन र दैनिकी उस्तै विकराल थियो । प्रत्येक बस्तीहरू रित्तिँदै थिए । गाउँहरू सहर, कालापहाड र अरबका लागि बच्चा जन्माइदिने मेसिनभन्दा बढी हुन सकेका थिएनन् ।
श्रमिक, उत्पीडित जनता, सहिद–बेपत्ता योद्धाका परिवार सबैसबैले राज्यसत्ता, पार्टी र नेताहरूका विरुद्ध आक्रोश ओकलिरहेको पाइन्थ्यो ।

गाडीले मान्नेढुङ्गा माविको प्राङ्गणमा पुर्याएर हामीलाई उतारिदियो र काठमाडौँको बाटो ततायो । हामी अभियान उद्घाटनका लागि कमरेड रेडियमको नेतृत्वमा आउने पञ्चैबाजाको प्रतीक्षामा थियौँ । चौरमा बेन्चहरू मिलाइसकिएको थियो । विद्यार्थी ससाना समूह बनाएर केही गरिरहेका थिए । फाट्टफुट्ट अभिभावकहरू पनि देखिन थाले ।
जनयुद्धका सहिद–बेपत्ता योद्धाका परिवारका सदस्यहरूको पनि उपस्थिति हुन थाल्यो । विद्यालयका नानीबाबुहरूले स्वतःस्फूर्त रूपमा डेक बजाएर आआफ्ना नृत्यकला प्रस्तुत गर्न थाले । हामी भने विद्यालय परिवारसँग परिचय गर्नतर्फ लाग्यौँ ।
दुई बज्न लागेपछि कार्यक्रम सुरु भयो । सहिद–बेपत्ता योद्धा परिवारका कुमार सिंह, तुलसा सिंह, शेरबहादुर चलाउने, नन्दकली सिंह, मैसला, रामबहादुर चलाउनेलगायत प्रियजन र जनतालाई साक्षी राखेर जनअभियान उद्घाटन भयो । कुशे २ का वडाध्यक्ष मानबहादुर सिंह, विद्यालयका प्रअ सुरेन्द्रबहादुर सिंह, हरिभक्त नेपाली, धनबहादुर सिंह, वीरबहादुर हमाल, विष्णु नेपाली अतिथि हुनुभयो ।

सहिद–बेपत्ता योद्धा परिवारका सदस्यहरूलाई न्यानो कपडा तथा विद्यालयका विपन्न परिवारका छात्रछात्रालाई उपहारका रूपमा अभ्यासपुस्तिकाहरू प्रदान गरेर कार्यक्रम सम्पन्न गरियो ।
२२ गते साँझ हाम्रो टोली गुम्थले हुँदै पूर्णबहादुर सिंहको घर डोग्री पुग्यो जहाँ उहाँका दाजु–भाउजू र भतिजाभतिजीहरू बस्नुहुन्थ्यो । यो जनयुद्धमा छोराछोरीलाई बाबाआमाले रातो टीका लगाएर युद्धका लागि बिदा गर्ने एक ऐतिहासिक घर थियो । मान्नेढुङ्गाबाट हिँडेर गुम्थले हुँदै साँझ डोग्री पुग्न हामीलाई झन्डै दुई घन्टा लाग्यो । यही बाटो पूर्णजी विद्यार्थी हुँदा एक घन्टामा छिचोल्नुहुन्थ्यो रे ।
२३ गते डोग्रीबाट तम्तीतिर हिँड्नुअघि हामीले रमाउँदै भाउजूले तयार पार्नुभएको रोटा र सिस्नुको फाँडो खायौँ । बिहानको खाना सहिद तुफानकी आमा तुलसाको हातबाट खाने निधो भयो । सहिदकी आमा तुलसा र दाजुभाउजूले रातो टीका लगाइदिएर हामीलाई न्यास्रिँदै बिदा गर्नुभयो ।
हामी टालेगाउँको ओरालो, चिप्लो घुम्ती, पहरा, कुइनेटा हुँदै अघि बढ्यौँ । यसबिचमा हामी रोलखोला हुँदै धाउनी छहरा, लहरे छहरा (भौँता छहरा), मालटाकुरा तारेचौर, चैयाँ खोला पार गरेर तम्ती पुग्यौँ । सहिद मण्डलकी बहिनी हरिकला र दिदी माया हिजो साँझ बाटुलेबाट यहाँ आइसक्नुभएको थियो ।
विद्यालय परिवारसँग बिदा भएर हामी साँझ हरिकला बहिनीको पाहुना भयौँ । पाथीभरा फेदीबाट ल्याइएको जख्खीको भेडो काटियो हाम्रो स्वागतका लागि । साँझ वडाध्यक्षसहितका केही शिक्षक र हाम्रो टोली भोजमा रमायो । माछामासुबाट टाढा रहन अभ्यास गरिरहेकाले मेरा लागि भने फलफूल, दूध र दहीको व्यवस्था गरिएको रहेछ ।
खाना खाएर हामी चैयाँ खोला किनारैकिनार बाटुलेमा सरुगाडलाई भेट्टाउन निस्कियौँ । सरुगाड आज दिनभरिका लागि हाम्रो साथी बन्दै थियो किनकि हामी आज सरुगाडको किनारैकिनार धुलेबाटो मटेला, दुले, राँगा, नल्फु, लम्तीखोला, ढुङ्गिल, थलह, बडाबन, चङ्खिल, मनाघाट जिउला हुँदै अघि बढ्दै थियौँ ।
अबका केही दिन हामी पिपेलाई आधार बनाएर सरदरमुकाम खलङ्गामा केही कार्यक्रम गर्दै थियौँ । हामीले खारा शिवालय पुगेर चिया पियौँ । त्यसपछि हामी शिवालय गाउँपालिकाका नाहाडा, बालुवा, मोर्क हुँदै पुल तरेर स्याँपी, भाँगेतरा, रातामाटा, छेडा हुँदै छेडा पुल तरेर दमारबजार, कालाभीरतिर लाग्यौँ ।

रोचक के भयो भने गाडीबाट झरेपछि हामीसँगै यात्रा गरेका श्रीमान् श्रीमतीलाई खोजिरहेका थिए भने श्रीमती श्रीमान्लाई । आखिर दुवै जना सँगै थिए तर धुलोले पूरै शरीर ढाकेर एकले अर्कालाई चिन्न सकिरहेका थिएनन् । पछि धुलो टकटक्याएपछि श्रीमान्ले आफ्नै नजिक रहेकी श्रीमतीलाई चिने । हाम्रा बीच हाँसोको फोहोरा छुट्यो ।
छेडापुल तरेर हामी दमारबजार निस्कियौँ । आकाशजी आफ्नो घरतिर लाग्नुभयो । हामी कालाभीर, आली, भुरचौर, कुदु हुँदै अघि बढिरहेका थियौँ । हाम्रो यात्रा मटेला हुँदै बोहोरा, जिरो प्वाइन्ट, फेरि उही कालेगाउँ, राउतगाउँ हुँदै पिपे औल पुग्यो । अब हामी केही दिनका लागि पिपे औलका पाहुना थियौँ बहिनी पदमकलाको घरमा ।
उषा म्याम छोराछोरी कुशल र आकृतिलाई लिएर काठमाडौँ लाग्नुभयो । मञ्जितजी घर फर्किनुभयो । हामीले एक साता पिपेलाई केन्द्रबिन्दु बनाएर राजनीतिक, वैचारिक र विश्वविद्यालयको काम अघि बढायौँ ।
भेरी नपा १ का वडाध्यक्ष दीपक रानाका बुबा डण्डवीर राना पुरानो कम्युनिस्ट हुनुहुँदो रहेछ । उहाँ स्थानीय प्राविको प्रअ पनि भइसक्नुभएको रहेछ । 'मजस्तो श्रमिक उत्तर कोरियामा जन्मिनुपर्ने थियो' भन्दै उहाँले कोरियाली युद्ध र त्यहाँको समाजवाद, रुस, चीन, क्युबा र भियतनामी क्रान्तिका कथाहरू सुनाउनुभयो । आठ दशक हाराहारी उमेरका उहाँको श्रम र विचार देखेर हामी अवाक् भयौँ ।
वर्तमान राजनीतिक अवस्थाप्रति कसैको चित्त बुझिरहेको थिएन तर भरपर्दो विकल्प पनि कसैसँग थिएन । पिपे छोड्नु अघिल्लो दिन माधवजी र रेडियमजीसहित म रिम्ना हुँदै पश्चिम रुकुमको राडीस्थित आठबीसकोट नगरपालिका पुग्यौँ । जनयुद्ध आरम्भ हुँदै गर्दा तत्कालीन नेकपा (माओवादी) ले राडी प्रहरीचौकी पनि कब्जा गरेको थियो सिन्धुलीगढी चौकीसहित ।
जनयुद्ध आरम्भ भएको चौधौँ दिनमा राज्यसत्ताले भीरबाट लडाएर हत्या गरेका मानबहादुर वली र मानबहादुर रावललाई सम्झिँदै उहाँहरूले बलिदान गरेको भीरलाई पृष्ठभागमा राखेर तस्बिर खिच्यौँ । मानबहादुर रावलका छोरा इन्जिनियरका रूपमा नलगाड नगरपालिकामै काम गर्दा रहेछन् ।
त्यसपछि हामी जाजरकोटको नलगाड नगरपालिका, दल्ली हुँदै नलगाड बहुमुखी क्याम्पस पुगेर क्याम्पस प्रमुख ललितबहादुर रावलसँग छलफल गरी तस्बिर खिचायौँ । पिपेमै जनमुक्ति सेनाका योद्धा कमरेड यज्ञबहादुर राना ‘विवेक’ सँग भेट्यौँ । सामान्य किसानको जीवन बिताउँदै भेरीमा आफैँले माछा मार्न जाल बुनिरहनुभएको थियो । जनयुद्धकालीन नेताहरू बिग्रेकोमा उहाँ धेरै नै चिन्तित हुनुहुन्थ्यो । यसरी हामीले पिपे औल केन्द्र बनाएर साताव्यापी राजनीतिक, वैचारिक अभियान सञ्चालन गर्यौँ ।
माघ १ गते रेडियमजी पनि काठमाडौँ फर्किनुपर्ने भयो । हाम्रो यात्रा पिपेको माया हृदयभरि साँचेर औललाई बाईबाई गर्दै छेडागाड, सल्यान, सुर्खेतको छिन्चु हुँदै बर्दियाको मैनापोखर पुग्यौँ । केही दिन हाम्रो केन्द्रबिन्दु मैनापोखर भयो । नेपालगन्जमा अग्रज राजनीतिक विश्लेषक एवम् जनयुद्धका वैचारिक नेता नरेन्द्रजङ्ग पिटरसँग आत्मीय भेट भयो ।

- थारूबस्तीमा पनि जनताकै घरआँगनमा
हामी कैलालीको मध्य थारूबस्तीको एउटा प्राचीन गाउँमा पुग्दा साँझ पर्न लागेकै थियो । विनोद र मलाई बलबहादुर परियारले जोशीपुर ५ सिमराना बीच टोलमा भलमन्सा फिरुलाल चौधरीको घरमा पुर्याएका थिए । चौधरी समुदायमा लामो समयदेखि जीवितै रहेको आफ्नै जाति–समुदायबाट भलमन्सा (अगुवा, बडघर, मुखिया) चुन्ने र निश्चित अवधिसम्म उनकै गिरानी, रेखदेख अगुवाइमा चल्ने समाज आदिम समाजवादको एक जीवित अवशेषझैँ लाग्यो ।
हामी फिरुलालकै पाहुना भएर उनको घरमा पुगेका थियौँ । भलमन्साले बस्ने बास र गाँसका लागि अरूको घर पनि सिफारिस गरिदिन सक्थे पाहुनाका लागि तर संयोग नै भनौँ, हामी भलमन्साकै घरका पाहुना बनिसकेका थियौँ । आमा–हजुरआमासँगै खेतबारीमा भुलिरहेका फिरुलालका चार वर्षीय नाति पनि एकछिनमा हजुरबालाई पछ्याउँदै आँगनमा आइपुगे ।
भलमन्सा फिरुलाल चौधरीका बुबा लालबहादुर डगौरा यसअघि सिमराना बीच टोलका भलमन्सा थिए । लालबहादुरले सात–आठ वर्षसम्म गाउँको मूली बनेर भलमन्सा पद सम्हालेका थिए । केही वर्षअघि उनको निधन भएपछि समाजले फिरुलाललाई भलमन्सा चयन गरेको हो । यस टोलमा अहिले ३५० भन्दा बढी घरधुरी भइसकेका छन् । भलमन्साले गाउँघरमा आइपरेका सबै किसिमका समस्याहरूको गाँठो फुकाउँछन् । यो चौधरी समुदायको स्वायत्त सत्ता नै हो ।
टोलको विवाद मिलाउनु र समाजलाई सन्तुलित बनाएर राख्नु भलमन्साको मुख्य काम हो । बालअधिकार, गुन्डागर्दी, चोरीडकैती, हेलाहोचोदेखि कर्तव्यज्यानसम्मका विषय भलमन्साले हेर्नुपर्छ । जटिल कानुनी समस्या उत्पन्न भए र टोलमा मिलाउन सकिएन भने मात्र त्यस्ता समस्या सरकारी निकायमा पुर्याइन्छ । भलमन्सा फिरुलालले कस्ताकस्ता समस्या समाधान गर्नुपर्छ भनेर केही उदाहरण पनि सुनाए ।
यो यात्रामा शाहीलगायत सयौँ प्रियजनसँगको भेटघाट, कुराकानी र अन्तरङ्गले देश र जनताको अवस्था बुझ्न ठूलो सहयोग पुर्यायो । देशमा ठुल्ठुला विद्रोहहरू भए तर जनताको गाँस, बास र कपासका लागि सल्केको मनभित्रको औडाहा भने शान्त भएको पाइएन ।
यो सङ्क्षिप्त सन्दर्भ टुङ्ग्याउनुअघि भन्छु– 'जनतामा जाऊँ, जनताको सेवा गरौँ' अभियानको यो शृङ्खला वास्तवमै जनताकै घरदैलोमा पुगेर एक हदसम्म सफल भएको अनुभूति भएको छ । क्रान्ति अत्यावश्यक, अनिवार्य, अपरिहार्य र अवश्यंभावी छ । हाम्रो तत्परता, क्रियाशीलता, इमानदारी र रूपान्तरणले यसको दूरी र आयतन मापन गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण