बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
किताबका कुरा

‘साहित्य कहिल्यै समाजको ऐना बन्नु हुँदैन’

शनिबार, १६ फागुन २०८२, १४ : ३०
शनिबार, १६ फागुन २०८२

सारांश

  • अशेष मल्ल, एक चर्चित नाटककार र सांस्कृतिक अभियन्ता, ले नेपाली आधुनिक नाटक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
  • उनले नेपाली सडक नाटकको जन्म दिए र सर्वनाम नाट्य समूह मार्फत नयाँ शैली र सामाजिक चेतना ल्याए।
  • उनको 'किताबका कुरा' शृङ्खलाको अन्तर्वार्तामा, उनले पुस्तक, समाज, र नाटक प्रतिको आफ्नो दृष्टिकोण व्यक्त गरे।

नेपाली रङ्गमञ्चका चर्चित नाटककार तथा सांस्कृतिक अभियन्ता हुन् अशेष मल्ल । विशेषगरी नेपालमा आधुनिक नाटक आन्दोलनलाई अघि बढाउने प्रमुख व्यक्तिमध्ये पर्छन् उनी । उनलाई नेपाली सडक नाटकको जन्मदातासमेत भनेर चिनिन्छ । सर्वनाम नाट्य समूहमार्फत उनले नेपाली रङ्गमञ्चलाई नयाँ शैली, प्रयोगधर्मिता र सामाजिक चेतनासँग जोड्ने काम गरे ।

मल्लले दुई दर्जन पुस्तक र सयभन्दा बढी नाटक पनि लेखेका छन् । उनका 'अज्ञात प्रदेशहरूमा', 'निरन्तर निरन्तर', 'एक्लो एकान्त' लगायत कवितासङ्ग्रह प्रकाशित छन् । साथै उनले 'तुवाँलोले ढाकेको बस्ती', 'सडकदेखि सडकसम्म', 'अनादिक्रम', 'ब्ल्याक स्काई', 'समकालीन नेपाली नाटक' आदि पुस्तक लेखेका छन् । उनै मल्लसँग रातोपाटीको ‘किताबका कुरा’ शृङ्खलाका लागि रमा सुवेदीले गरेको कुराकानीः

  • पुस्तकले समाज परिवर्तन गर्न सक्छ वा सक्दैन ?

म सानो छँदादेखि नै कविता, कथा आदि लेख्थेँ । मेरो सानो हजुरबुवा हुनुहुन्थ्यो । मैले लेखेको देखेर एक दिन उहाँले भन्नुभयो, ‘ए, तँ अब लेखक बन्दै छस् ? एउटा कुरा याद गर, लेखुन्जेलसम्म त्यो तेरो चिज हो । लेखेर एकपटक छापिएपछि त्यो अरूको हो । तेरो एक शब्दले पनि कसैलाई हानि पुग्छ भने त्यसको अपराधी तँ हुन्छस् ।’ यतिका वर्ष बितिसक्यो । तर हरेक पटक म केही कुरा लेख्न बस्दा उहाँको त्यही कुरा सम्झिन्छु । मेरो सानो हजुरबुवा नै मेरो अगाडि उभिएजस्तो महसुस गर्छु । त्यसैले किताबसँग राम्रो–नराम्रो दुवै गर्ने शक्ति हुन्छ । त्यसैअनुसार यसको प्रभाव पनि हुन्छ ।

ashesh malla (1)

अस्ति एक जना साथीले ‘घरमा थुप्रै किताब छन्, के गर्ने होला ?’ भने । नाम किटेर केही लाइब्रेरीहरूलाई दिने कुरा पनि गरे । तर मैले सबै किताब नदेऊ भनेँ । उसले किन ? भनेर सोध्यो । किनभने अहिले छापिएका कतिपय किताबहरू समाजलाई नकारात्मक असर पार्ने खालका छन् । अझ त्यस्ता किताब स्कुलका विद्यार्थीहरूले पढे भने त झन् उल्टो असर गर्छ भन्ने लाग्छ । त्यसैले जुन किताबहरूले राम्रो प्रभाव पार्न सक्छन्, त्यस्ता किताब मात्रै देऊ भनेँ ।

  • धेरैले साहित्यलाई समाजको ऐना भन्छन् । हाम्रो साहित्य समाजको ऐना बन्न सकेको छ ?

साहित्य कहिल्यै समाजको ऐना बन्नु हुँदैन । ऐनामा त एउटा मात्रै पाटो देखिन्छ नि । साहित्यले समाजको एउटा मात्रै पाटो देखाउने हो र ? अर्को पाटो देखाउन पर्दैन ? ऐनाले त फेरि अर्धसत्य बोल्छ । ऐनाको सन्दर्भमा म तपाईंलाई एउटा परिघटना सुनाउँछु । सभागृहमा मेरो एउटा नाटक चलिरहेको थियो । अनि त्यो नाटक हेर्न ठूलो हुल आएको थियो । नाटक हेरेपछि सबैले ‘बधाइ’, ‘कति राम्रो’ भनिरहेका थिए । तर एक जना युवतीले ‘महिलालाई होच्याउने अधिकार तपाईंलाई कसले दियो ?’ भनेर झपार्नुभयो ।

सबैले बधाइ भनिरहेका छन् । एउटा अनौठो प्राणी आएर मलाई गाली गरिन् । ‘समाजमा जे छ, त्यही देखाउनु हो ? तपाईंहरूको कर्तव्य के हो ?’ भनेर भनाभनजस्तै भयो । पहिलो पटक मलाई कसैले त्यस्तो भनेपछि म साह्रै सोचमग्न भएँ । समाजमा जे घटना घट्छ, त्यही मात्रै लेख्ने हो भने त साहित्य फोटोग्राफी भइहाल्यो नि । फोटोले त जे छ, त्यही न खिच्छ । ती महिलाले ममा यति धेरै प्रभाव पारिन् कि पछि मैले उनीसँग बिहे गरेँ । उनमा अहिलेसम्म पनि मैले आफ्नो तगडा समीक्षक पाइरहेको छु । उहाँको त्यो कर्म घरमा पनि छुटेको छैन ।

ashesh malla (6)

  • तपाईं ७१ वर्षको हुनुभयो । उमेरले किताबको चयन फेर्दो रहेछ कि रहेनछ ? के छ तपाईंको अनुभव ?

उमेरले त होला केही वर्षदेखि मभित्र बढी आध्यात्मिक चेत जागृत भएको छ । केही अघि म साह्रै बिरामी परेँ । बच्चा अलिक सानै थिए, छाड्न मिलेन, श्रीमती साथमा जान पाइनन् । दिल्ली एक्लै जानुपर्‍यो ठूलै शल्यक्रियाका लागि । भोलिपल्ट मेरो अपरेसन छ । आज म बेडमा छु, एकदम डर लागिरहेको थियो । न त साथमा कोही परिवारका सदस्य छन् ।

दिल्लीजस्तो ठाउँमा एक्लै, भोलि ठूलो मेजर अपरेसन छ मुटुको । एक जना सहयोगीचाहिँ लिएर गएको थिएँ साथमा । म साह्रै डराएको देखेर उसले एउटा पत्रिका किनेर ल्याइदियो । त्यो पत्रिका फिल्मी पत्रिका थियो । सिरियस कुरा पढ्दा तनाव बढ्ला भनेर उसले सस्तो खालको फिल्मी पत्रिका ल्याएर दिएको थियो । पढ्दै थिएँ, पत्रिकाको पुछारमा एउटा कोटेसन थियो, ‘जहाँ विज्ञानको सीमाको अन्त्य हुन्छ, त्यहीँबाट अध्यात्म सुरु हुन्छ’ लेखिएको थियो ।

म थिएँ उग्रै नास्तिक । मान्छेले मृत्युको मुखमा पुगेपछि भगवान् सम्झिँदो रहेछ । त्यो एक लाइनले मलाई एकदमै हान्यो । जहाँ विज्ञानको सीमाको अन्त्य हुन्छ, त्यहीँबाट अध्यात्म सुरु हुन्छ । मलाई के लाग्यो भने भोलि मेरो अपरेसन हुँदै छ । अपरेसन गर्ने डाक्टर । डाक्टरलाई सिकाएको विज्ञानले । यसलाई विज्ञानले जे सिकाएको छ, त्यही मात्रै थाहा छ । मेरो त्योभन्दा अर्कै रोग निक्ल्यो भने ? विज्ञानको त सीमा छ नि । त्यो सीमा सकिएपछि अध्यात्म आउँदो रहेछ । सायद त्यही अध्यात्मले मलाई बचाउँछ कि भन्ने सोच ममा हावी भयो । अपरेसन भयो । बिस्तारै तङ्ग्रिएँ । त्यसपछि मैले अध्यात्म के हो भनेर खोज्न थालेँ ।

के हो त अध्यात्म ? पूजापाठ हो, मन्दिरमा जानु हो कि, धूपबत्ती बाल्नु हो ? चिन्तन गर्दै जाँदा अध्यात्मका कयौँ चरणबाट म गुज्रिएँ । मान्छेले आफूभित्रको अहम्को पर्खाल भत्काउन सक्यो भने त्यही हो अध्यात्म भन्ने निष्कर्षमा पुगेँ । म कुन धर्ममा छु, त्यो महत्त्वपूर्ण कुरा होइन, म अध्यात्मको कति गहिराइमा छु भन्ने कुरा महत्त्वपूर्ण रहेछ । आफ्नो लेखनमा पनि म यही चेतनाको कुरा गर्छु । मैले लेखेको कुरा वा नाटकमा प्रस्तुत गरेको कुरा जब पाठक वा दर्शकसम्म पुग्छ, त्यो पढेर वा हेरेर दर्शक या पाठकलाई मोटिभेसन हुन सक्दैन भने मैले त्यसलाई बाहिर निकाल्नु हुँदैन ।

ashesh malla (5)

  • तपाईं नाटकमा कसरी आकर्षित हुनुभयो, त्यसबारे केही कुरा जानौँ न ?

यसमा पनि म एउटा परिघटना भन्छु । १८–१९ वर्षको उमेरमा म नाटकमा अभिनय गर्थेँ । साथीहरूले नाटक लेख, कति अभिनय मात्रै गर्छस् भन्थे । अर्काको नाटक कति गर्ने, आफ्नै नाटक लेख्नुपर्छ भनेर ३१ सालतिर धनकुटामा मैले ‘तुवाँलोले ढाकेको बस्ती’ भन्ने नाटक लेखेँ । नाटक धनकुटामा मञ्चन भयो । पछि त्यही नाटक लिएर ३०–४० जनाको हुलसहित हामी काठमाडौँमा आयौँ । त्यो बेला धनकुटादेखि काठमाडौँ आउनु भनेको अहिले यहाँबाट न्युयोर्क, पेरिस पुगेभन्दा गाह्रो । बाटोमा रोकिँदै रोकिँदै आयौँ । काठमाडौँ आएपछि हामीले एकेडेमीमा नाटक देखायौँ ।

०३२ सालको कुरा हो । नाटकको पहिलो दिन, दुइटा कुराले मेरो जीवनलाई नै हल्लाइदियो । पहिलो, त्यो नाटक हेर्न बालकृष्ण सम आउनुभयो । काठमाडौँमा मेरो नाटक टिकट काटेर हेर्ने पहिलो व्यक्ति उहाँ हुनुभयो । दोस्रो, नाटक सकिएपछि सबैले बधाइ दिए । तर विजय मल्लले ‘तिमीले नेपाली नाटकलाई ५० वर्ष पछाडि धकेल्यौ । यस्तो थोत्रे, परम्परागत नाटक गर्ने हो ? आधुनिक नाटक लेख’ भन्नुभयो ।

१९–२० वर्षको केटो, जो भर्खरै नाटकमा पाइला चाल्दै छ, उसलाई नाटकको हिमालजस्तो व्यक्तिले त्यसो भन्दा के भयो होला ? उहाँको त्यो कुरा सुनेर म त बहुत निराश भएँ । मलाई निराश भएको देखेर पछाडिबाट हेरिरहनुभएको अर्को एक जनाले भन्नुभयो, ‘तिमी किन हतास हुन्छौ ? लेख्दै गर, उसले भनेर हुन्छ र ?’ त्यो भन्ने मान्छे को थिए थाहा छ ? हरिभक्त कटुवाल । २५–२६ दिन नाटक गरेर सबै धनकुटा फर्किए । म भने काठमाडौँमै रहेँ । किनभने मलाई आधुनिक नाटक लेख्नुपर्छ भन्ने भूतले जकड्यो । अहिले पनि यहीँ छु । कति लेख्न सकेँ अझै भन्न सक्दिनँ ।

  • नाटककार बन्ने यात्रामा निर्णायक भूमिका खेलेको कुनै पुस्तक छ ?

विजय मल्लले मलाई आधुनिक नाटक लेख्न भनेका थिए । म हरेक दिन ब्रिटिस लाइब्रेरी, अमेरिकन लाइब्रेरी, इन्डियन लाइब्रेरीमा दिनभरि बस्थेँ नाटक पढ्न । अङ्ग्रेजी किताबहरू धेरै नबुझे पनि म कनिकुथी पढ्थेँ । ब्रेख्तको ‘थ्री पेनी ओपेरा’ नाटक फेला पारेँ । पढ्न त पढेँ, तर खासै बुझिनँ । दुई पटक, तीन पटक पढेँ, बुझिनँ । तैपनि पढेको पढ्यै । बल्लतल्ल यसको प्रस्तुति थाहा पाएँ । लाइब्रेरीमा दिनभरि बसेर म एकै दिनमा चार–पाँचवटा नाटकहरू पढ्थेँ । यसै क्रममा मेरो हातमा मोहन राकेशको ‘आधे अधुरे’ नाटक आयो ।

ashesh malla (4)

यो नाटक पढेपछि मैले सारा खोजका उत्तर पाएँ । त्यतिबेला काठमाडौँमा कन्टेम्पोरेरी मोडर्न थिएटर भनेको के हो भन्ने कुरा थाहै थिएन । त्यो बेला काठमाडौँमा बालकृष्ण सम, विजय मल्लको एउटा दुइटा नाटक हुन्थ्यो । विजय मल्लको नाटक हेर्न जाँदा मलाई चित्तै बुझ्दैनथ्यो । उनले मलाई ‘आधुनिकता’ भनेका थिए । तर उनको नाटकमा आधुनिकता खोइ भनी मनमनै सोच्थेँ ।

संयोग कस्तो भने ठ्याक्कै त्यो बेला बम्बेबाट सभागृहमा देखाउन एउटा नाटक ल्याएका थिए । गोरखापत्रको तल ‘आधे अधुरे’ भन्ने नाटक मञ्चन हुँदै छ, हेर्न चाहनेले पास लिन इन्डियन एम्बेसी आउनु भनेको थियो । मैले इन्डियन एम्बेसीबाट पास लिएर त्यो नाटक हेरेँ । किताब पनि पढेँ । त्यसपछि मेरो सोच्ने शैली नै परिवर्तन भयो । त्यसपछि मैले ‘हामी वसन्त खोजिरहेछौँ’, ‘सडकदेखि सडकसम्म’ भन्ने नाटकहरू लेखेँ । ‘सडकदेखि सडकसम्म’ले मलाई चर्चित बनायो । त्यो नाटक त साझा प्रकाशनले मागेरै छाप्यो । मैले साझा पुरस्कार पनि पाएँ । विजय मल्लले त्यसो नभनिदिएको भए सायद म ‘तुवाँलोले ढाकेको बस्ती’ जस्तो परम्परागत ढर्राकै नाटकमा अल्झिरहेको हुन्थेँ ।

  • हामीले नाटकको कुरा गर्दा शेक्सपियर, म्याक्बेथ वा ह्याम्लेट भन्छौँ । नेपाली नाटकमा त्यस्तो महत्त्वपूर्ण नाटक के छ ?

यो सबै अङ्ग्रेजले बनाएको भाष्य हो । बेलायतले भारतमा शासन गर्दाखेरि सारा भारतलाई कब्जामा लिन उसको सामु दुइटा कुरा अवरोध बन्यो– संस्कृति र भाषा । यो दुइटालाई भत्काएपछि मात्रै हाम्रो वर्चस्व कायम हुन्छ भन्ने भएपछि उनीहरूले अङ्ग्रेजी भाषालाई भारतीय समाजमा स्थापित गराए र त्यसैका माध्यमबाट भारतको संस्कृति र भाषामा उपनिवेशवादी हस्तक्षेप बढाए ।

तर जब अङ्ग्रेजहरू भारतबाट गए, त्यतिखेर पनि भारतमा कालिदासजस्ता नाटककार रहेछन् भन्ने मैले पछि थाहा पाएँ । त्यसपछि मैले संस्कृत नाटकहरू पढ्न थालेँ । यी त आजभन्दा हजारौँ वर्ष अगाडि लेखिएका नाटक हुन् । कति भयानक छन् । ‘मुद्राराक्षस’ भन्ने नाटकको प्रस्तुतिको शैली अहिलेको आधुनिकलाई समेत माथ गर्ने खालको छ ।

ashesh malla (7)

  • नेपाली साहित्यमा पढ्नैपर्ने पाँचवटा पुस्तक सोधेँ भने कुन–कुन पुस्तकको नाम लिनुहुन्छ ?

अहिले फ्याट्ट ‘सुम्निमा’को नाम आयो । साहित्यकारका रूपमा बिपी विश्वस्तरीय लेखक हुन् । विडम्बना, उनले मदन पुरस्कार मात्रै होइन, कुनै पनि पुरस्कार पाएनन् । यसमा म सधैँ एउटा घटना सम्झन्छु, त्रिचन्द्र कलेजमा त्यही बेला एउटा पुस्तक प्रदर्शनी भएको रहेछ । राजा महेन्द्र प्रदर्शनीमा पुगेछन् । त्यहाँ कतै पनि बिपीको ‘सुम्निमा’ देखेनछन् । राजाले खोजेपछि आयोजकहरूले हतारहतार गरेर, खोजेर त्यो किताब राखेका थिए । महेन्द्रसमेत प्रभावित भएको त्यो किताब कस्तो होला केही भन्नै परेन ।

‘सुम्निमा’ लेखेको ५०औँ वर्ष भइसक्यो । जातीय सद्भावको उत्कृष्ट उदाहरण सुम्निमाबाहेक कतै पनि पाइन्न । सुम्निमाको पहिलो प्रभाव त महिला पात्रको प्रस्तुतीकरण हो । हाम्रो समाजमा नारीलाई दबाइएको छ भनिन्छ । तर सुम्निमा पात्र कति दरो छ हेर्नुस् त । अर्को हिन्दु र किराँती परम्पराको भयानक सम्मिश्रण छ । हरेक पटक हलिउड फिल्म हेर्दा यसमा पनि बनाएको भए हुन्थ्योजस्तो लाग्छ । सुम्निमामाथि हलिउड सिनेमा बनेको भए त्यसले ओस्कार पाउँथ्यो ।

त्यस्तै भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पनि महत्त्वपूर्ण पुस्तक हो । त्यसको शक्तिलाई चुनौती दिने अन्यत्र कतै पनि कवितासङ्ग्रह छैन । त्यसपछि मलाई नयनराज पाण्डेको ‘उलार’ अद्भुत कृति लाग्छ । अन्तिममा चाहिँ ध्रुवचन्द्र गौतमको ‘अलिखित’ भन्न चाहन्छु ।

  • पछिल्लो समय हामी डिजिटल युगमा प्रवेश गरेका छौँ । हाम्रो अधिकांश समय सामाजिक सञ्जालका भित्ता कोट्याउँदै बितिरहेको छ । डिजिटलाइजेसनले हाम्रो पढ्ने संस्कारमा पारेको प्रभावलाई तपाईंले कसरी हेर्नुभएको छ ?

मेरो पनि पठन कम भएको छ । अब हरेक युगमा एउटा न एउटा रिभोलुसन हुन्छ । सिनेमाको उत्पत्ति हुँदाखेरि अब रङ्गमञ्च सकियो भनेर भन्थे । टेलिभिजन आएपछि ल अब खतम नै भयो भनियो । तर अहिले यी दुवै आ–आफ्नो ठाउँमा छन् । अहिले डिजिटल युगमा हामीले अडियोको विकल्प पाएका छौँ । भर्खरै मैले सम्पूर्ण महाभारत गाडीमा सुनेँ । सुन्दा पढेकोभन्दा पनि भिजुअली आउँदो रहेछ । यति हुँदाहुँदै पनि सत्य के हो भने किताब आफ्नो ठाउँमा छ ।

ashesh malla (3)

डिजिटल युगले हामीलाई मात्रै हो बिगारेको । युरोपतिर अहिले पनि हरेकको हातमा एउटा किताब हुन्छ । म बङ्गलादेश गएको थिएँ, दुई वर्ष अगाडि । म छक्क परेँ । त्यहाँ त रिडर्स कल्चर कस्तो राम्रो रहेछ । बसमै लाइब्रेरी ! हाम्रो काठमाडौँ पनि त यस्तो हुन सक्थ्यो होला कि भन्ने लाग्यो मलाई । तर साँचो कुरा के हो भने जति नै डिजिटलाइज भए पनि, एआई आए पनि पुस्तक कहिल्यै पनि हराएर जाँदैन ।

  • सडक नाटक र रङ्गमञ्चमा प्रदर्शन गरिने नाटकबीच कस्तो संरचनागत भिन्नता छ बताइदिनु न ।

तपाईंले भनेको सडक र रङ्गमञ्च दुवै शैली रङ्गमञ्च संस्कृतिकै हिस्सा हुन् । युरोपमा जानुभयो भने, बच्चादेखि बूढोसम्मैले रङ्गमञ्चलाई पर्वका रूपमा लिन्छन् । हामी बिहे, पार्टीमा जाँदाखेरि सजिएर जान्छौँ नि, त्यहाँ नाटक हेर्न त्यसरी सजिएर जान्छन् । यसलाई विशेष पर्व मान्छन् । त्यहाँ फिल्म हलका टिकट ५ डलरमा पाइन्छ । तर नाटक हेर्न थिएटरमा कम्तीमा पनि १०० डलर खर्च गर्छन् । तपाईंलाई एउटा अनुभव सुनाउँछु । मेरो छोरा अमेरिकाको भिसा लिन गएको थियो । दूतावासमा उसलाई ‘तैले जति नम्बर ल्याएको छस् त्यो हेरेर तँलाई भिसा के दिनु ? तँ थिएटर आर्टिस्ट रहेछस्, त्यसैले हामी तँलाई भिसा दिन्छौँ’ भनेर भनेछन् । त्यसबाट उनीहरूले रङ्गमञ्चलाई गरेको सम्मान झल्किन्छ ।

यहाँ त गाली गर्नुपर्‍यो भने नौटङ्की भन्छन् । मैले नै नाटक गर्दाखेरि आजभन्दा ३०–४० वर्ष अगाडि नाटकमा खेल्न महिला कलाकार नै पाउँदैनथेँ । त्यो समयमा रङ्गमञ्चमा नाटक गर्नु भनेको तल्लो स्तरको काम गर्नु बराबर हुन्थ्यो । अहिले स्थिति फेरिएको छ तर नाट्य संस्कृतिको विकास हुन सकेको छैन । त्यसका लागि अझै समय लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप