शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरानको मिसाइल वर्षाबिच चुप लागेर नबस्ने यूएईको चेतावनी

आइतबार, १७ फागुन २०८२, १५ : १३
आइतबार, १७ फागुन २०८२

आबुधाबी । इरानले मिसाइल र ड्रोन आक्रमण जारी राखे आफू थप कडा भूमिकामा जान सक्ने चेतावनी संयुक्त अरब इमिरेट्स (यूएई)ले दिएको छ ।

यूएईकी अन्तर्राष्ट्रिय सहकार्य राज्यमन्त्री रीम अल–हासिमीले सीएनएनसँग कुरा गर्दै देश आफ्नो रक्षा गर्न पूर्ण रूपमा तयार रहेको बताइन् । उनले भनिन्, ‘हामी आत्मरक्षाका लागि तयार छौँ । यस्तो अवस्थामा पुग्न नपरोस् भन्ने आशा छ, तर यस्ता लगातार आक्रमणको सामना गर्दा हामी चुप लागेर बस्दैनौँ ।’ 

आवश्यक परे यूएईले थप आक्रामक भूमिका लिन सक्ने हो कि भन्ने प्रश्नमा उनले आवश्यक परे त्यसतर्फ जान सक्छौँ भन्ने जवाफ दिइन् । अल–हासिमीले इरानतर्फ संकेत गर्दै भनिन्, ‘अब इरानले आफ्नो छिमेकी र क्षेत्रसँग कसरी व्यवहार गर्ने भन्ने कुरा उसैको हातमा छ । हामी सधैँ उनीहरूका लागि न्यायपूर्ण र असल छिमेकी रहँदै आएका छौँ ।’ 

यूएईको रक्षा मन्त्रालयका अनुसार शनिबार राति इरानले कम्तीमा १३७ वटा ब्यालिस्टिक मिसाइल र २०९ वटा ड्रोन प्रहार गरेको थियो, तीमध्ये अधिकांशलाई छेकिएको भए पनि १४ वटा ड्रोन लक्ष्यमा ठोक्किएको बताइएको छ ।

इरानले यूएईको राजधानी अबुधाबी तथा आर्थिक र पर्यटकीय केन्द्र दुबईलाई लक्षित गर्दै अभूतपूर्व मिसाइल र ड्रोन आक्रमण गरेको जनाइएको छ । ‘हामीसँग विश्वकै उत्कृष्ट हवाई तथा मिसाइल प्रतिरक्षा प्रणालीमध्ये एक छ । नागरिक र बासिन्दाको सुरक्षा सुनिश्चित गर्न हामी कुनै कसर बाँकी राख्ने छैनौँ,’ अल–हासिमीले अगाडि भनेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप