सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
निर्वाचन सुरक्षा

गुप्तचर निकायले कसरी निर्वाचन सुरक्षाबारे सूचना सङ्कलन गर्छ ?

सोमबार, १८ फागुन २०८२, ०६ : ३०
सोमबार, १८ फागुन २०८२

सारांश

  • राष्ट्रिय अनुसन्धान विभागले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सूचना सङ्कलनको जिम्मेवारी पाएको छ।
  • विभागले निर्वाचन सुरक्षाका लागि १,८०० जनशक्ति फिल्डमा खटाएको छ, जसमा स्थायी र अस्थायी कर्मचारी छन्।
  • विभागले निर्वाचन विरोधी गतिविधि, सम्भावित झडप र शङ्कास्पद वस्तुबारे सूचना सङ्कलन गर्न निर्वाचन सेल गठन गरेको छ।

काठमाडौँ । नेपालको गुप्तचर निकाय (राष्ट्रिय अनुसन्धान विभाग)ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा आवश्यक विभिन्न प्रकारका सूचना सङ्कलन गर्ने जिम्मेवारी पाएको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबारे सूचना सङ्कलन, विश्लेषण र सम्प्रेषण गर्न विभागका १ हजार ८ सय जनशक्ति फिल्डमा खटिएका छन् ।

केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत सुरक्षा योजना अनुसार विभागले निर्वाचन सुरक्षा सम्बन्धी सूचना सङ्कलन र सम्प्रेषण गर्न खुला एवं आवरणका कर्मचारी परिचालन गरेको छ । त्यस्ता कर्मचारी स्थायी प्रकृतिका र अस्थायी सूत्र पनि छन् ।

एकीकृत सुरक्षा योजनामा भनिएको छ, ‘सूचना सङ्कलन गर्न स्थायी, अस्थायी सूत्र र थप नयाँ सुराकीको परिचालन गर्ने, त्यसरी परिचालन गर्न मौजुदा कर्मचारी अपुग भएमा केन्द्र तथा प्रदेश कार्यालयबाट परिचालनको व्यवस्था मिलाउने ।’

राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन विरोधी गतिविधिमा संलग्नहरू, सार्वजनिक ठाउँमा शङ्कास्पद बस्तु राखेर आतङ्क सिर्जना गर्नसक्ने समूह र निर्वाचनमा हुनसक्ने सम्भावित झडपबारे सूचना सङ्कलन गर्न निर्वाचन सेल गठन गरेको छ । त्यस्ता निर्वाचन सेलहरू विभाग अन्तर्गतका ८५ वटै कार्यालयमा गठन गरिएको छ । ती कार्यालयमा ५–६ जना कर्मचारीले फिल्डबाट सूत्रहरूले पठाउने सूचनालाई माथिल्लो निकायमा सम्प्रेषण गर्नेछन् ।

643876174_1234277182168136_7942710420848747350_n

प्रदेश कार्यालयमा गठन गरिएको निर्वाचन सेलमा अधिकृतको नेतृत्वमा ७ जना कर्मचारी खटाइएको छ । सिंहदरबारस्थित विभागको मुख्यालयमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको छ । केन्द्रीय निर्वाचन सेलमा ८५ जना सुरक्षाकर्मी छन् ।

एकीकृत सुरक्षा योजनामा भनिएको छ, ‘केन्द्रीय निर्वाचन सेलमार्फत निर्वाचनसँग सम्बन्धित प्राप्त सूचना अध्ययन, सत्यपान (भेरिफाई), विश्लेषण र सम्प्रेषण कार्यलाई व्यवस्थित तथा छरितो बनाउने ।’

केन्द्रीय निर्वाचन सेलले मातहतका कामलाई टास्किङ गर्ने छ । सूचना सङ्कलन गर्न विभागले महानगरपालिका क्षेत्रमा ५ जना, उपमहानगरपालिका क्षेत्रमा ३ जना, प्रत्येक नगरपालिकामा २ जना र गाउँपालिकामा १ जना कर्मचारी फिल्डमा परिचालन गरेको छ । एकीकृत सुरक्षा योजना अनुसार सबै कर्मचारी र सूत्रहरूलाई फिल्डमा परिचालन गरिएको विभागका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

नाम उल्लेख नगर्ने सर्तमा ती अधिकृतले भने, ‘सूचना सङ्कलन र सम्प्रेषणको लागि विभागमा कार्यरतबाहेक अस्थायी सूत्र र थप नयाँ सूत्र परिचालन गरिएको छ ।’

फिल्डमा सङ्कलन गरिएको निर्वाचन सुरक्षासँग सम्बन्धित सूचना विभागीय जिम्मेवारी अनुरुप गुप्तचर निकायले विश्लेषण गरेर गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय र सेनालाई उपलब्ध गराउने छ ।

निर्वाचन सुरक्षासँग सम्बन्धित सूचना सङ्कलन र सम्प्रेषण गर्दा कुनै समस्या आएमा माथिल्लो तहमा समन्वय गर्नेगरी एकीकृत सुरक्षा योजना लागु गरिएको छ ।

  • जगेडा फौज राख्ने

निर्वाचनमा विषम परिस्थिति उत्पन्न हुनसक्ने आकलन गर्दै राष्ट्रिय अनुसन्धान विभागले आकस्मिक रूपमा परिचालन गर्न जनशक्तिलाई जगेडामा राखेको छ । एकीकृत सुरक्षा योजना अनुसार विभागको परिचालन व्यवस्थामा भनिएको छ, ‘निर्वाचनसँग सम्बन्धित गतिविधिको कारण उत्पन्न हुनसक्ने विषम परिस्थितिलाई मध्यनजर राख्दै आकस्मिक रूपमा थप कर्मचारी फिल्डमा खटाउनको लागि केही जनशक्ति जगेडा राख्ने ।’

643887163_1234276828834838_5142330792321754208_n

विभागले सबै मतदानस्थलमा पहुँच पुग्नेगरी थप कर्मचारी परिचालन गरेर सूचना सञ्जाल विस्तार गर्ने छ । मतदानस्थलमा रहेको सुरक्षा चुनौती, संवेदनशीलता, जनघनत्व, सहरी क्षेत्र र भौगोलिक दुरीबारे परिपक्व सूचना सङ्कलन गर्नेगरी विभागका कर्मचारी फिल्डमा खटिएका छन् ।

एकीकृत सुरक्षा योजना–२०८२ मा विभागको परिचानबारे भनिएको छ, ‘सबै निर्वाचनस्थलमा पहुँच (कभरेज) पुर्‍याउने सिलसिलामा विभागीय जिम्मेवारीका क्षेत्रमा परिचालन भइरहेका सूत्रलाई पनि निर्वाचनस्थलमा हुने गतिविधि उपर सूचना सङ्कलन कार्यमा खटाई आवश्यकता अनुसार थप सूत्र परिचालन गर्ने ।’

विभागका सुरक्षाकर्मीहरूले सूचना सङ्कलन गर्दा अन्य सरकारी निकायसँग समन्वय र सहकार्य गर्नुपर्ने छ । त्यस्तै, नेपाली सेना, सशस्त्र र नेपाली प्रहरी सम्मिलित संयुक्त संयन्त्रमा पनि विभागका जनशक्ति हुनेछन् । एकीकृत सुरक्षा योजनामा विभागका न्यूनतम कर्मचारीलाई कार्यालय सञ्चालनमा परिचालन गरेर अन्य सबैलाई निर्वाचन सुरक्षा सम्बन्धी सूचना सङ्कलनमा फिल्डमा परिचालन गर्ने निर्णय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप