बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचनमा सशस्त्रको परिचालन

प्रत्येक निर्वाचन क्षेत्रमा सशस्त्रको बेस, सिनामंगलमा दुईवटा गणको फौज स्ट्याण्डबाई

शुक्रबार, १६ माघ २०८२, १३ : ३०
शुक्रबार, १६ माघ २०८२

सारांश

  • सशस्त्र प्रहरी निर्वाचनको दोस्रो घेरामा परिचालन हुने, निर्वाचन सुरक्षाका लागि ३१ हजार सुरक्षाकर्मी खटिनेछन्।
  • प्रत्येक निर्वाचन क्षेत्रमा बेस स्थापना गरिने, तराईमा स्ट्राइकिङ फौज परिचालन हुनेछ र अनुशिक्षण तालिम दिइनेछ।
  • एसएसपीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन, विभिन्न तहमा निर्वाचन सेलहरू बनाइनेछ र विपद् उद्धार गण स्ट्याण्डबाईमा राखिनेछ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालन हुन्छ । केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत एकीकृत सुरक्षा योजना अनुसार निर्वाचनमा ३१ हजार सशस्त्र प्रहरी परिचालिन हुनेछन् ।

निर्वाचन त्रुटिरहित, निष्पक्ष र भयरहित बनाउन सशस्त्र प्रहरीले प्रत्येक निर्वाचन क्षेत्रमा बेस स्थापना गर्ने भएको छ । एकीकृत सुरक्षा योजना अनुसार सशस्त्रले १६५ क्षेत्रमा निर्वाचित क्षेत्र सुरक्षा बेस स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । एकीकृत सुरक्षा योजनामा भनिएको छ, ‘निर्वाचनको १ महिनाअघि देखी निर्वाचन क्षेत्र सुरक्षा बेस स्थापना गर्ने ।’

सुरक्षा योजना अनुसार हिमालमा १७ स्थानमा, पहाडमा ७० स्थानमा र तराईमा ७८ स्थानमा बेस स्थापना हुँदै छ । माघ २१ मा बेस स्थापना गरिने सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

तराईका जिल्लामा सशस्त्रको स्ट्राइकिङ फौज परिचालन हुनेछन् । तराईका जिल्लामा एउटा निर्वाचन क्षेत्रमा ४ वटा स्ट्राइकिङ फौज परिचालन गरिने एकीकृत सुरक्षा योजनामा उल्लेख छ ।

सुरक्षा योजना अनुसार  पहाडमा प्रत्येक निर्वाचन क्षेत्रमा ३ वटा र हिमालमा एउटा स्ट्राइकिङ फौज परिचालन गरिने छ । स्ट्राइकिङ तथा मोबाइल टोली निर्वाचनको १५ दिन अगाडिदेखि सवारी साधन सहित परिचालित हुनेछन् ।

निर्वाचन सुरक्षामा खटिने सशस्त्रका सकलदर्जालाई अनुशिक्षण तालिम प्रदान गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ । सुरक्षा योजनामा भनिएको छ, ‘अनुशिक्षण तालिम सम्बन्धी पाठ्यक्रम तयार गरेर निर्वाचनमा खटाउनुपूर्व सकलदर्जालाई अनुशिक्षण तालिम दिने ।’

सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी बलले एसएसपीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेको छ । निर्वाचन सेलको कमाण्ड कार्य विभागका एसएसपी राजेश उप्रेतीले गरेका छन् । ७ वटा प्रदेशका बाहिनीमा ‘बाहिनी निर्वाचन सेल’ र गण, गुल्म पनि निर्वाचन सेल गठन गरिने एकीकृत सुरक्षा योजनामा उल्लेख छ ।

जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयको सुरक्षामा सशस्त्रले बन्दोबस्तीका सामान सहित मोबाइल, स्ट्राइकिङ्ग र रिजर्भ परिचालन गर्ने छ ।

निर्वाचन हुने दिन हलचोकमा रहेको नम्बर–१९ विशेष कार्यदल गणको फौजलाई सिनामंगल स्थित नम्बर–२० विपद् उद्धार उपत्यकामा स्ट्याण्डबाई राख्ने गरी सुरक्षा योजना स्वीकृत भएको छ । सशस्त्रका एकजना उच्च अधिकृत भन्छन्, ‘दुईवटा गणको फौजलाई तत्काल हेल लिफ्ट गर्न सक्नेगरी विपद् उद्धार गणमा स्ट्याण्डबाई राख्ने निर्णय भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप