शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘कुलमानको अनुहार मात्र होइन, काम र डेलिभरी हेरेर भक्तपुरका जनताले भोट दिन्छन्’

सोमबार, १८ फागुन २०८२, १३ : १२
सोमबार, १८ फागुन २०८२

सारांश

  • उज्यालो नेपाल पार्टीका तर्फबाट भक्तपुर क्षेत्र नम्बर २ बाट जितराम लामाले आगामी निर्वाचनमा उम्मेदवारी दिने भएका छन्।
  • लामाले चुनावी प्रतिस्पर्धा, रास्वपासँगको गठबन्धन र आफ्नो भावी योजनाबारे जानकारी गराएका छन्।
  • उनले पार्टीको नेतृत्व, मतदाताको बुझाइ र आफ्नो चुनावी एजेन्डाबारे पनि कुरा गरेका छन्।

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट उज्यालो नेपाल पार्टी’का तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका छन्, जितराम लामा । लामो समय सामाजिक क्षेत्र तथा गैरसरकारी संस्था महासंघको केन्द्रीय नेतृत्वमा रहेर काम गरेका लामा अहिले कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीबाट चुनावी मैदानमा छन् ।

भक्तपुर–२ को चुनावी माहौल, प्रतिस्पर्धी दलहरूसँगको टक्कर, रास्वपासँग हुन नसकेको गठबन्धन र उनको भावी योजनाका विषयमा रातोपाटीका लागि अनिस मिजारले गरेको कुराकानी ।

  • चुनावी माहौलमा हुनुहुन्छ, भक्तपुर–२ एकदमै प्रतिस्पर्धात्मक क्षेत्र हो । चुनौतीहरू कस्तो पाउनुभएको छ ?

– चुनौती त सबै क्षेत्रमा हुन्छ तर चुनौतीलाई अवसरमा ढाल्न सक्ने क्षमता र व्यवस्थापन शैलीले हामीलाई सजिलो बनाएको छ । भक्तपुरका हरेक वडा र बस्तीमा पुग्दा मतदाताको अपार माया र समर्थन पाएका छौँ ।

हामी पुरानो राजनीतिक पार्टी होइनौँ, सबैभन्दा नयाँ पार्टी हौँ । त्यसैले पुराना पार्टीले जस्तो गल्तीको स्पष्टीकरण हामीले दिइरहनु पर्दैन ।

अर्को कुरा, हाम्रो पार्टीको नेतृत्व कुलमान घिसिङले गर्नुभएको छ, जसले आफ्नो कार्यदक्षता देखाएर प्रमाणित गरिसक्नुभएको छ । त्यसैले जनता निकै उत्साहित हुनुहुन्छ ।

  • भक्तपुर–२ मा नेपाली कांग्रेसले जित्दै आएको र चिनिएका अनुहारले जित्छन् भन्ने आकलन छ । तपाईंको त्यति धेरै राजनीतिक लाइमलाइट नहुँदा जनताको मनोवैज्ञानिक बुझाइ कस्तो पाउनुभयो ?

–भक्तपुर–२ का मतदाता धेरै सचेत हुनुहुन्छ । २०६४ सालयता एउटै पार्टी वा उम्मेदवारले यहाँ दोहोर्‍याएर जितेको इतिहास छैन । जनताले जहिले पनि परिवर्तन खोजेका छन् । पुराना पार्टीप्रति जनतामा चरम निराशा र आक्रोश छ । युवाहरू बिदेसिनुपरेको छ, बेरोजगारी र भ्रष्टाचार चरम सीमामा छ ।

हाम्रो पार्टी उज्यालो नेपाल भनेको उज्यालो छर्न सक्ने र परिणाम दिन सक्ने पार्टी हो । कुलमान घिसिङ एउटा ब्रान्ड हो । पार्टी पनि आफैमा ब्रान्ड हो । बत्तीको मात्र उज्यालो होइन, सुशासन, समृद्धि र भ्रष्टाचारविरुद्धको उज्यालो ल्याउनुपर्नेछ भन्नेमा जनता विश्वस्त छन् ।

  • भक्तपुर–२ लाई एमालेका नेता महेश बस्नेतको प्रभाव क्षेत्र पनि भनिन्छ, त्यहाँ तपाईंको उम्मेदवारी कतिको सहज/असहज मान्नुभएको छ ?

–हामीलाई एकदमै सहज छ । हामी कुनै पनि राजनीतिक शक्ति वा व्यक्तिलाई गालीगलौज गर्ने, होच्याउने वा उहाँहरूको कमीकमजोरी औँल्याएर आफू अगाडि बढ्ने राजनीतिको विरोधी हौँ ।

हामी आफ्नो एजेन्डाले स्थापित हुने हो, जनताको मन जितेर राजनीति गर्ने हो । हिजो महेश बस्नेत हुन् कि, कविर राणा हुन् कि, राजीव खत्री हुन । त्यसले हामीलाई कुनै प्रभाव पार्दैन । हामी जितराम लामा र उज्यालो नेपाल भनेर चिनिन चाहन्छौँ ।

  • भक्तपुर–२ का जनताले अरूलाई छाडेर जितराम लामालाई नै भोट दिनुपर्ने कारण के हो ?

–पहिलो कुरा, हामी भाषणमा होइन, काम र परिणाममा विश्वास गर्छौँ । म भक्तपुरकै स्थानीय बासिन्दा हुँ । लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको छु । गैरसरकारी संस्था महासंघको केन्द्रीय अध्यक्षको रूपमा नेपालभरि काम गरेको अनुभव छ । शैक्षिक हिसाबले पनि दुईवटा विषयमा मास्टर्स गरेको छु र विपद् व्यवस्थापनमा पीएचडी गर्दैछु ।

भक्तपुरको कला, संस्कृति र सम्पदालाई पर्यटनसँग र दिगो उद्यमशीलतासँग जोडेर अगाडि बढ्ने हाम्रो स्पष्ट प्रतिबद्धता छ । जनताले अब गफ गर्ने होइन, संसद्मा गएर सुशासन कायम गर्न कानुन बनाउने र परिणाम दिन सक्ने सक्षम व्यक्ति खोजेका छन् । त्यो विकल्प हामी हौँ ।

  • रास्वपासँग १२ दिन एकता गरेर फेरि छुट्टिएर उज्यालो नेपाल पार्टी नै बनेर चुनावमा आउनुभयो । कतै उज्यालो नेपाललाई रास्वपासँग मिसिनु गल्ती रहेछ भन्ने महसुस भएको हो ?

– त्यस्तो गल्ती भयो भन्ने केही छैन । यो गर्दै जाने र सिक्दै जाने प्रक्रिया हो । नयाँ शक्तिहरू सबै मिल्नुपर्छ र पुराना राजनीतिक शक्तिलाई धक्का दिनुपर्छ भन्ने जनताको सुझाव थियो । त्यही आधारमा हामी हतार–हतार मिल्न गयौँ । तर भित्र गइसकेपछि कार्यशैली, काम गर्ने तरिका र दृष्टिकोणमा बेमेल भयो ।

हामीले संविधानको मूल मर्म,संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, र सामाजिक समावेशीकरणको सन्दर्भमा अहिल्यै प्रस्ट भएर जानुपर्छ भन्यौँ । सायद उहाँहरूले त्यो क्लियर गर्न चाहनुभएन । त्यसपछि हामीले कुनै गुनासो नराखी सौहार्दपूर्ण वातावरणमा अलग हुने निर्णय गर्‍यौँ ।

  • रास्वपाको लहर चलेको देखिन्छ, यस्तो बेला छुट्टिँदा तपाईँहरूलाई घाटा भएन ?

–हामीलाई कुनै घाटा छैन । १२–१४ दिन हामी अलमलियौँ होला तर अहिले हामी पूर्ण गतिका साथ अगाडि बढेका छौँ । हाम्रो पक्षमा पनि व्यापक जनलहर छ । बरु हामी छुट्टिएकोमा धेरै जनता खुसी हुनुहुन्छ । किनकि त्यहाँ (रास्वपामा) विवादित कुराहरूको उत्तर दिँदै हिँड्नुपर्ने अवस्था थियो । ठगी काण्ड लगायतका विषयमा उहाँहरूले उत्तर दिनुपर्नेछ । हामीले त्यो गलत क्रियाकलापको भारी किन बोक्ने ? हामी आफ्नो स्पष्ट बाटोमा छौँ ।  

  • राजनीतिमा होमिनुभएको छ । यो निर्वाचनमा पराजित हुनुभयो भने राजनीतिमै रहनुहुन्छ कि प्लान बी पनि छ ?

–हामी उज्यालो नेपाल पार्टीलाई एउटा सशक्त राजनीतिक पार्टीको रूपमा अगाडि बढाउने सङ्कल्पका साथ आएका छौँ । सामाजिक न्याय, सुशासन र समृद्धिको एजेन्डा बोकेर आएका छौँ । यो चुनावमा जित–हार ठुलो कुरा होइन । यो चुनाव हाम्रो लागि संगठन निर्माणको अभियान पनि हो ।

तत्काल क्षणिक कुराको लागि मात्र हामी आएका होइनौँ । यो लामो रेसको घोडा हो । आगामी दिनमा नेपालको महत्त्वपूर्ण राजनीतिक शक्तिको रूपमा उज्यालो नेपाल स्थापित हुन्छ र हामी जनताको मन जित्छौँ भन्ने पूर्ण विश्वास छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप