आईजीपी कार्कीका १०० दिन : रासन स्केलमा वृद्धि, कार्यसम्पादनमा कडाइ
सारांश
- दान बहादुर कार्की नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त भएको १०० दिन पूरा भएको छ, जसमा उनले नीतिगत सुधार र प्रविधिमैत्री प्रशासनमा जोड दिए।
- प्रहरीले जघन्य अपराध अनुसन्धानमा सफलता हासिल गरेको छ, फैसला कार्यान्वयनमा तीव्रता दिएको छ, र लागुऔषध कारोबारमा संलग्नलाई पक्राउ गरेको छ।
- आगामी निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै, प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ, जसमा विभिन्न समूहको सम्भावित अवरोधलाई नियन्त्रण गर्ने रणनीति छ।
काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षकमा दान बहादुर कार्की नियुक्त भएको १०० दिन पूरा भएको छ । कार्की कात्तिक २७ गते आईजीपी नियुक्त भएका थिए ।
आईजीपी नियुक्त भएपछि कार्कीले नीतिगत स्पष्टता र प्रविधिमैत्री प्रहरी प्रशासनमा फड्को मार्ने प्रयास गरेका छन् । कार्कीको प्रयासमा मन्त्रिपरिषद्ले फागुन १ देखि लागू हुनेगरी प्रहरीको रासन स्केल बढाउने निर्णय गरेको छ । यसअघि अन्य सुरक्षा निकाय र प्रहरी कर्मचारीको रासनमा असमानता भएको भन्दै आलोचना हुने गरेको थियो । प्रहरीको रासन स्केलमा तीन आइटम थप गरिएको छ ।
आईजीपी कार्कीले ‘कार्यसम्पादन मूल्यांकन मार्गदर्शन’ कार्यान्वयनमा ल्याएका छन् । मार्गदर्शन लागू गरेर जिल्ला प्रहरी कार्यालयहरूको मासिक कार्यसम्पादन मापन गर्ने पद्धतिको सुरुवात गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अविनारायण काफ्लेले रातोपाटीलाई बताए ।
प्रधान कार्यालयले जिल्ला इन्चार्जहरूलाई कार्यसम्पादनमा कडाइ गरेको छ । जुनियर तहका कर्मचारीहरूका लागि प्रहरी प्रधान कार्यालयले ‘आकस्मिक सहुलियत कर्जा’ प्रदान गर्न अनलाइन आवेदन प्रणाली सञ्चालनमा ल्याएको छ । त्यसबारे आईजीपी कार्कीले पदबहाली गर्दा कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मका लागि सहुलियत कर्जा दिने निर्णय गरेका थिए ।
आईजीपी नियुक्त भएपछि ३२ उपलब्धि हासिल भएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । यस अवधिमा नेपाल प्रहरीले जघन्य अपराधको अनुसन्धानमा शतप्रतिशत सफलताको नजिक पुगेको छ । १०० दिनमा भएका कर्तव्य ज्यानका १२३ घटनामा १८८ अभियुक्त र जबर्जस्ती करणीका ४७५ घटनामा ४४५ जना आरोपी पक्राउ परेका छन् ।
फैसला कार्यान्वयनतर्फ वर्षौँदेखि फरार रहेका ५ हजार ७८१ जना प्रतिवादी पक्राउ परेका छन् । जसबाट ३८ करोड ३६ लाखभन्दा बढी जरिवाना असुल भएको छ । यस्तै, लागूऔषध कारोबारमा २ हजार ४५५ जनालाई पक्राउ गरी प्रहरीले ठूलो परिमाणमा गाँजा, चरेस, हेरोइन र कोकिन बरामद गरेको छ । करिब ६० करोड रुपैयाँ बराबरको अवैध सामग्री र सुनचाँदी बरामद गरी राज्य कोषमा दाखिला गरेको छ ।
प्रविधि र आधुनिक अनुसन्धान
प्रहरीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले प्रहरी प्रधान कार्यालयमा एआई सेल स्थापना गरिएको छ । नागरिक सेवालाई सहज बनाउन ट्राफिक प्रहरीको वेबसाइटबाटै हराएका सवारी साधनको निवेदन दिन र अवस्था थाहा पाउन सकिने व्यवस्था गरिएको छ । देशभर ४५६ वटा अत्याधुनिक सीसीटीभी क्यामेराहरू जडान गरी निगरानी प्रणालीलाई सुदृढ बनाइएको छ ।
‘समुदाय–प्रहरी साझेदारी’ अन्तर्गत २७ हजारभन्दा बढी कार्यक्रममार्फत १२ लाख नागरिकलाई सचेतना प्रदान गरिएको छ । प्रहरीले पछिल्लो १०० दिनको अवधिमा ४ हजारभन्दा बढी हराएका व्यक्तिहरूलाई फेला पारेर परिवारको जिम्मा लगाएको छ ।
आईजीपी कार्कीले आफ्ना दिवंगत पिता कृष्णबहादुर कार्कीको स्मृतिमा गुल्मीको देवीस्थान माध्यमिक विद्यालयमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
निर्वाचन सुरक्षा चुनौती
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षालाई केन्द्रित गरेर सातवटै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी गरिएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कार्कीको नेतृत्वमा विशेष सुरक्षा योजना तर्जुमा गरिएको छ । एकीकृत सुरक्षा योजना अनुसार प्रहरी प्रधान कार्यालयले एआईजी उमा चतुर्वेदीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनबारे रणनीति तय गर्न विश्लेषण महाशाखा गठन गरिएको छ । महाशाखाको नेतृत्व एसएसपी दयानिधि ज्ञवालीले गरेका छन् । सो महाशाखाले चुनाव बिथोल्ने भूमिका खेल्ने समूहको निगरानी र उनीहरूको गतिविधि निस्तेज पार्ने रणनीति तय गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंसहित ६ वटा समूह अहिले निर्वाचन बिथोल्न सक्रिय रहेको प्रहरीको विश्लेषण छ ।
निर्वाचन सुरक्षा र रणनीति तय गर्न प्रहरी प्रधान कार्यालयले पूर्वप्रहरी अधिकारीहरूसँग छलफल र समन्वय गरेको थियो । प्रहरीको नेतृत्व सम्हालेको १०० दिनमा राम्रो सुरुवात गरे पनि कार्कीका लागि निर्वाचन सुरक्षा चुनौतीपूर्ण हुनेछ । तराईमा मंगलबार मनाउन लागिएको फागु पूर्णिमा (होली) र हिमालमा चिसोका कारण निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण हुनेछ ।
दुर्गा प्रसाईं, नेकपा (बहुमत) र मंगोल नेसनल अर्गनाइजेसनसहित ६ वटा समूहको अवरोध झेलेर शान्तिपूर्ण चुनाव सम्पन्न गर्नु कार्कीका लागि चुनौती हुने जानकारहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण