बीपी र मदन भण्डारीलाई न्याय दिन राष्ट्रवादी कित्तामा भोट हाल्नुपर्छ : खुश्बु ओली
झापा । राप्रपा नेतृ खुश्बु ओलीले राष्ट्रवादी शक्तिलाई साथ दिन मतदातासँग अपिल गरेकी छन् ।
सोमबार झापा क्षेत्र नं. ४ मा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै पार्टीकी समानुपातिक उम्मेदवार समेत रहेकी ओलीले गणतन्त्र आएपछि देश वैचारिक रूपमा परनिर्भर भएको आरोप लगाइन्। ’कहिल्यै कसैको उपनिवेश नबनेको यो देश, गणतन्त्र आएपछि कहिले छिमेकीको त कहिले पश्चिमाको विचारको गुलाम जस्तो देखियो,’ उनले भनिन्, ’माटो बन्धक छैन, तर यहाँका निर्णयहरू बन्दक बनाइएका छन्।’
सम्बोधनका क्रममा ओलीले प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका कार्यकर्ताहरूलाई लक्षित गर्दै गम्भीर प्रश्न गरिन् । उनले भनिन्, ’यदि कांग्रेसले बीपी कोइराला र कृष्णप्रसाद भट्टराईको बाटो नछोडेको भए, अनि एमालेले मदन भण्डारीको राष्ट्रकेन्द्रित विचार नछोडेको भए आज देश यो संकटमा पर्ने थिएन।’
बीपी र मदन भण्डारीको राष्ट्रवादको स्मरण गर्दै उनले भनिन्, ’बीपीले राष्ट्र जोगाउन राजाको घाँटी र मेरो घाँटी जोडिएको छ भन्नुभयो, मदन भण्डारीले देशमा एउटा राजा रहनुपर्छ भन्दा ज्यान गुमाउनुपर्यो। तर आज हामी विदेशी सिद्धान्त पछाडि कुदिरहेका छौँ। हामीलाई स्टालिन वा माओ होइन, आफ्नै माटोका नेता बीपी र मदनको विचार चाहिन्छ।’
ओलीले मतदाताहरूलाई सामाजिक सञ्जालको लहर वा कसैको प्रलोभनमा परेर भोट हाल्न नहुने बताइन्। ’सतहमा देखिएको लहर वा कसैले किनेको भरमा मत हाल्ने हो भने भोलि देश टुक्रिएको हेर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भनिन्।
देश पहिले राजा र जनताको साझा धरोहर रहेको उल्लेख गर्दै उनले फेरि त्यही ’साझा आत्मा’ मा फर्कनुपर्ने आवश्यकता औंल्याइन्। राष्ट्रवादी कित्तालाई मतदान गरेर मात्रै बीपी र मदन भण्डारीप्रति सच्चा न्याय हुने उनको जिकिर थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण