छायाङ्कनको लाइनमा छन् फिल्म
सारांश
- नेपाली फिल्म उद्योगमा दर्जनभन्दा बढी फिल्म छायांकनको तयारीमा छन्, जसमा अशोक शर्माको 'डबल ट्रिपल' र रेखा थापाको 'माया भनेकै यस्तो होला' लगायत छन्।
- विभिन्न विधाहरूका फिल्महरू बन्न लागेका छन्, जसमा सामाजिक, डार्क कमेडी, प्रेम कथा, राजनीतिक व्यंग्य र एक्सन थ्रिलर समावेश छन्।
- निर्वाचनका कारण केही फिल्मको छायांकन मिति सारिएको छ, र केही फिल्मले रिलिज मिति तोकेका छन्, जस्तै 'डबल ट्रिपल' २०८३ साल फागुन १ गते रिलिज हुनेछ।
काठमाडौँ । निर्माण इजाजत लिनेको सङ्ख्या हेर्दा नेपाली फिल्म उद्योग निकै चलायमान देखिन्छ । तर व्यापारको आँकडा केलाउँदा बक्स अफिसमा सफल हुने फिल्महरूको सङ्ख्या नगण्य देखिन्छ ।
अहिले करिब दर्जन हाराहारीमा फिल्म छायाङ्कनमा जाने तयारीमा छन् । फिल्म ‘डबल ट्रिपल’, ‘माया भनेकै यस्तो होला’, ‘जिरो डिग्री’, ‘छ माया छपक्कै २’ देखि ‘कालकट्टी’ लगायत फ्लोरमा जाने तयारीमा छन् । सामाजिक, डार्क कमेडी, त्रिकोणात्मक प्रेमकथादेखि राजनीतिक व्यङ्ग्य र एक्सन थ्रिलरसम्मका विषयमा यी फिल्म बन्न लागेका हुन् ।
छायाङ्कनमा जाने तयारीमा रहेका फिल्महरूमा अधिकांश स्टार र स्थापित कलाकारहरूको बाहुल्य छ । वरिष्ठ निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माको फिल्म ‘डबल ट्रिपल’ अहिले फ्लोरको तयारीमा छ । २०८३ साल फागुन १ गतेलाई रिलिज मिति तोकेको फिल्म चुनावपछि छायाङ्कनमा जाने तयारीमा छ । फिल्म छायाङ्कनका लागि सम्पूर्ण तयारी सकिएको निर्देशक शर्माले बताए ।
शर्माको फिल्ममा नेपाली फिल्मका स्टार कलाकारहरूको ठुलै जमात देखिनेछ । दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारीदेखि राजाराम पौडेल, विल्सनविक्रम राई, बुद्धि तामाङ र माओत्से गुरुङसम्मले यो फिल्ममा अभिनय गर्दैछन् । फिल्मले पारिवारिक र मनोरञ्जनात्मक कथा पस्कने शर्माको भनाइ छ ।
अभिनेत्री रेखा थापा ‘माया भनेकै यस्तो होला’ बाट निर्देशनमा कमब्याक गर्दैछिन् । महाशिवरात्रिको अवसर पारेर घोषणा गरिएको यो फिल्म फागुन दोस्रो साताबाट छायाङ्कनमा जाने तयारीमा थियो, तर निर्वाचनका कारण फिल्म केही सातापछि सारिएको छ । फागुन २५ बाट फिल्म फ्लोरमा निस्कने रेखाले जानकारी दिइन् ।
‘हामी फागुन १० गतेबाट छायाङ्कन जाने तयारीमा थियौँ । बिचमा निर्वाचनका बेला रोक्नु भन्दा पछि नै सुरु गरौँ भनेर सारेका हौँ’, उनले भनिन् ।
फिल्ममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँगै तीन पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहले अभिनय गर्दैछन् । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने फिल्म समाजकै वास्तविक घटनाहरूमा आधारित भएर निर्माण गर्न लागिएको बताइन्छ ।
आकाश बराल र साजन काफ्लेको संयुक्त निर्देशनमा बन्न लागेको फिल्म ‘जिरो डिग्री’ पनि फ्लोरको तयारीमा छ । डार्क कमेडी जनरामा आधारित फिल्म दुर्गम गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तानहरू घर नआइपुगुन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर लैजाँदा आइपर्ने परिस्थिति र गाउँमा हुने उथलपुथलको कथामा हुनेछ । विजय बराल र सनिशा भट्टराईको मुख्य भूमिका रहने फिल्म फागुन २८ बाट छायाङ्कनमा जाने अभिनेता विजय बरालले बताए ।
साजन काफ्ले र आकाश बरालकै निर्देशन रहने फिल्म ‘श्रीनिवास’ पनि अहिले छायाङ्कन तयारीमा छ । केही समयअघि निर्माण घोषणा भएको फिल्ममा हरिवंश आचार्य र अभिषेक खड्काको मुख्य भूमिका रहनेछ ।
सन् २०१९ को ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’को सिक्वेल ‘छ माया छपक्कै २’ पनि छायाङ्कनमा जाने तयारीमा छ । दीपकराज गिरी, दीपाश्री निरौला र निर्माता रोहित अधिकारीको सहकार्यमा बन्न लागेको यो फिल्म चैतको पहिलो सातादेखि फ्लोरमा जाने निर्माण युनिटले जनाएको छ । दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा नयाँ पुस्ताको राजनीतिलाई प्रमुखताका साथ उठाइनेछ । फिल्ममा दीपकराजसँगै केकी अधिकारी, प्रकाश घिमिरे लगायतको अभिनय रहनेछ । फिल्मको २०८३ सालको दसैँमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
एक्सन थ्रिलरमा जनरामा निर्माण हुने फिल्म ‘पारस’ पनि छायाङ्कनमा निस्किने तरखरमा छ । कृषा चौलागाईंको निर्देशन रहने फिल्ममा निखिल उप्रेती, निरुता सिंह, जसिता गुरुङ, प्रियङ्का कार्की, सुशील श्रेष्ठ लगायत कलाकारको मुख्य अभिनय रहनेछ ।
चर्चित बलिउड फिल्म ‘ग्याङ्स अफ वासेपुर’का पटकथाकार सचिन लादियाले यसको कथा लेखेका हुन् । फागुन अन्तिमदेखि छायाङ्कन सुरु हुने भनिएको यो फिल्मले नेपाली एक्सन फिल्ममा नयाँ मापदण्ड खडा गर्ने दाबी निर्माण पक्षको छ ।
अभिनेता विजय बरालकै अर्को फिल्म ‘सिन्दूरे जात्रा’ पनि फ्लोरमा जाने तयारीमा छ । सरोज पौडेलको निर्देशनमा बन्ने यस फिल्ममा विजयको जोडी अभिनेत्री अञ्जना बराइली हुनेछिन् । आगामी जेठ १ गतेबाट छायाङ्कनमा जाने भनिएको यो फिल्मको कथा पनि निर्देशक पौडेलकै हो ।
रघुजी फिल्म्सको ब्यानरमा बन्ने फिल्म ‘कालकट्टी’ पनि छिट्टै फ्लोरमा जानेछ । अमरदीप सापकोटाको निर्देशनमा बन्न लागेको ‘कालकट्टी’ माघ महिनाको अन्त्यतिरबाट छायाङ्कनमा जाने भनिएपछि विभिन्न कारणले सुरु हुन सकेन । फिल्म चैत तेस्रो साताबाट फ्लोरमा जानेछ । फिल्म केहीअघिदेखि नै छायाङ्कनमा जाने तयारी गरेपनि विभिन्न कारण चैतमा पुगेको निर्माता रघुनाथ सापकोटाले बताए । ‘समयभन्दा अघि र भाग्यभन्दा बढी केही पाइँदैन’ भन्ने मूल मर्म बोकेको यो फिल्मले नेपाली सिनेमामा नयाँ ऊर्जा ल्याउने निर्माता रघुनाथ सापकोटाको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण