बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विकास निर्माण

चुनावले रोकियो नागढुंगा-मुग्लिन सडक विस्तारको काम

कुन खण्डमा कति प्रगति ?
बुधबार, २० फागुन २०८२, २१ : ००
बुधबार, २० फागुन २०८२

सारांश

  • काठमाडौं जोड्ने नागढुंगा-मुग्लिन सडक विस्तारको काममा निर्वाचनका कारण केही सुस्तता आएको छ।
  • नागढुंगा-नौबिसे खण्डको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ भने चुनावपछि तेस्रो तहको कालोपत्रे सुरु गरिनेछ।
  • नौबिसे-मलेखु खण्डमा ५८ प्रतिशत र मलेखु-मुग्लिन खण्डमा ४१ प्रतिशत काम सम्पन्न भएको छ, तर निर्माण सामग्रीको अभाव र स्थानीय अवरोधका कारण काममा ढिलाइ भएको छ।

काठमाडौँ । संघीय राजधानी काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ नागढुंगा–मुग्लिन सडक विस्तारको काम पछिल्लो चार वर्षदेखि जारी छ । ९५ किलोमिटर लामो यो सडकलाई विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा दुईदेखि ६ लेनसम्म विस्तार गरिँदैछ । यतिबेला आसन्न निर्वाचनका कारण कामदारहरू घर फर्किने र कर्मचारीहरू चुनावमा खटिएका कारण निर्माण कार्यमा केही सुस्तता आएको छ ।

नागढुंगादेखि नौबिसेसम्मको १२.२६ किलोमिटर त्रिभुवन राजपथमा पर्छ भने नौबिसेदेखि मुग्लिनसम्मको खण्ड पृथ्वी राजमार्ग अन्तर्गत पर्छ ।  

नागढुंगा–नौबिसे खण्ड ८५ प्रतिशत सकियो
 
नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख केशवप्रसाद ओझाका अनुसार आयोजनाको पहिलो खण्ड (नागढुंगा–नौबिसे) को भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ । आसन्न चुनावका कारण सडक विस्तारको काम केही दिनका लागि रोकिएको छ । आयोजना प्रमुख ओझाले इन्जिनियरिङ टोली, कर्मचारी र निर्माण व्यवसायीका कामदारहरू चुनावका लागि परिचालन भएको र कतिपय घर फर्किसकेकाले काममा केही प्रभाव परेको बताए ।

‘अहिले हामी कर्मचारीहरू पनि चुनावको तयारीमा खटिएका छौँ,’ ओझाले भने, ‘कामदारहरू पनि घरतिर लागेकाले चुनाव सकिएपछि मात्रै कामले पुनः पूर्ण गति लिनेछ ।’

पहिलो खण्ड (नागढुंगा–नौबिसे) १२.२५ मा हाल तेस्रो तहको कालोपत्रे गर्ने तयारी भइरहेको छ । तर कालोपत्रे गर्दा सडक अवरुद्ध हुने र चुनावको समयमा सवारी साधनको चाप बढ्ने हुनाले तत्काललाई यो काम रोकिएको छ । ‘नियमित काम गर्न पाएको भए तीनदेखि चार हप्तामा तेस्रो तहको कालोपत्रे सकिने थियो,’ ओझाले भने, ‘तर चुनावका बेला यात्रुलाई सास्ती नहोस् भनेर हामीले यो काम चुनावपछि मात्रै सुरु गर्ने निर्णय गरेका छौँ ।’

कालोपत्रे सकिएपछि सडकमा ट्राफिक चिन्ह राख्ने रोड मार्किङ गर्ने र एउटा आकाशे पुल निर्माणका बाँकी कामहरू पूरा गरिने आयोजनाले जनाएको छ । साथै गत वर्षायाममा ठुलो क्षति पुर्‍याएको झ्याप्ले खोला क्षेत्रको पहिरो नियन्त्रणको काम झण्डै ९९ प्रतिशत सम्पन्न भएको ओझाले जानकारी दिए । यसले गर्दा आगामी वर्षायाममा सडक अवरुद्ध हुने जोखिम निकै कम हुने अपेक्षा गरिएको छ ।

चुनावको समयमा सडकलाई खाल्डाखुल्डी मुक्त बनाउन नियमित मर्मतको काम भने जारी रहेको आयोजनाले जनाएको छ । सडक विस्तारको काम सकिएपछि यो सडक खण्ड सुरक्षित र गुणस्तरीय हुने र काठमाडौँ भित्रिने तथा बाहिरिने सवारी साधनको यात्रा सहज हुने अपेक्षा गरिएको छ ।
 
पहिलो खण्डको स्तरोन्नतिको ठेक्का १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीले लिएको छ । यही खण्डको खानीखोलामा पैदल यात्रीका लागि अपाङ्गमैत्री आकाशे पुल निर्माण भइरहेको छ । २०७८ चैत २९ गते ठेक्का सम्झौता भएको यो खण्ड विस्तार सम्झौता भएको डेढ वर्षपछि २०७९ जेठ २६ गतेदेखि काम सुरु भएको थियो । २०८१ जेठ २७ गतेभित्र काम नसकिएपछि माघ २०८१ सम्मका लागि म्याद थपिएको थियो । काम नसकिएपछि फेरि २०८२ साउन १० गतेसम्मका लागि म्याद थप गरिएको थियो । उक्त अवधिमा नसकिएपछि फागुन मसान्तसम्म पुनः थपिएको थियो । चुनावका कारण काम रोकिएपछि यो अवधिमा पनि नसकिने देखिएको छ । 

नौबिसे–मलेखु खण्ड : ५८ प्रतिशत भौतिक प्रगति

नौबिसेदेखि मलेखुसम्मको दोस्रो खण्डमा करिब ५८ प्रतिशत काम सम्पन्न भएको पूर्वी खण्डका आयोजना प्रमुख ओझाले जानकारी दिएका छन् । यो खण्ड ४३.५४ किलोमिटर छ । २१.५ किलोमिटर पहिलो तहको कालोपत्र दुईतर्फी नै सकिएको छ  । १५ किलोमिटरमा दोस्रो तहको सडक कालोपत्र भइसकेको छ । 

यस खण्डमा पर्ने १३ पुलमध्ये १० वटाको काम सकिइसकेको छ । अब रोड मार्किङको काम र एप्रोच सडक निर्माण गर्न बाँकी छ । सोप्याङ, फेदी खोला र खहरे खोला पुलको निर्माण बाँकी छ । यस खण्डमा बिजुलीका पोल समयमै नहटाउँदा पनि कामको गति बढ्न नसकेको हो । अहिले यस खण्डमा पर्ने १६८ मध्ये अझै १०० वटा पोल हटाउन बाँकी छ । फेदी खोला पुलमा मुद्दा–मामिलाका कारण समस्या थियो, अदालतबाट अन्तरिम आदेश नभएपछि काम सुरु गर्न खोज्दा घर पर्ने स्थानीयले अवरोध गरेका छन् । चुनावपछि जिल्ला सुरक्षा समिति बसेर निकास निकाल्नेतर्फ लाग्ने आयोजना प्रमुख ओझाले बताए ।

यो खण्ड विस्तारका लागि ५ अर्ब ३३ करोड १९ लाखमा जेडआईसीजी–शर्मा–लामाले जेभीले ठेक्का पाएको थियो  । २०७९ वैशाख १४ गते ठेक्का सुरु भएको यो खण्डको काम २०८२ जेठ मसान्तमा सकिसक्नुपर्ने थियो । उक्त म्यादमा सम्पन्न हुन नसकेपछि २०८३ असोजसम्मका लागि म्याद थपिएको छ ।

मलेखु–मुग्लिन : ११ किलोमिटर कालोपत्रे सम्पन्न

नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) अन्तर्गत मलेखु–मुग्लिन खण्डको विस्तार कार्यमा ४१ प्रतिशत भौतिक प्रगति भएको छ । कुल ३८.८६ किलोमिटर दुरी रहेको यस खण्डमा हालसम्म ११ किलोमिटर चार लेन सडकमै पहिलो तहको कालोपत्रे गर्ने काम सकिएको छ ।

आयोजनाका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार अहिले विशालटार र मझिमटार क्षेत्रमा करिब ६ किलोमिटर पुरानो कालोपत्रे सडक भत्काएर नयाँ बनाउने तयारी भइरहेको छ । यद्यपि, निर्माण सामग्रीको अभाव र प्राविधिक अवरोधका कारण कामको गतिमा केही समस्या देखिएको छ । मलेखुको लामाबगरबाट निर्माण सामग्री निकाल्न वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएपनि स्थानीयको विरोधका कारण त्यहाँबाट सामग्री निकाल्न सकिएको छैन ।

‘लामाबगरबाट सामग्री निकाल्न पाएको भए काम निकै छिटो हुने थियो, तर स्थानीयको विरोधले गर्दा मलेखुमा राखिएको क्रसर प्लान्टसमेत प्रयोगमा आउन सकेको छैन,’ इन्जिनियर मिश्रले भने । हाल नुवाकोट र चितवनको जुगेडीबाट निर्माण सामग्री ढुवानी गरेर काम चलाउनुपर्ने बाध्यता छ ।

सडक विस्तारमा अर्को ठुलो बाधक विद्युतका पोल बनेका छन् । यस खण्डमा अझै १०९ वटा पोल हटाउन बाँकी छ । अहिलेसम्म फिस्लिङदेखि चुम्लिङटार खण्डको मात्र पोल हटाइएको छ भने माघ र फागुन महिनामा पोल सार्ने काम ठप्प भएको आयोजनाले जनाएको छ ।

पहिरोका कारण जोखिमपूर्ण मानिने कृष्णभीर क्षेत्रमा भने सन्तोषजनक प्रगति भएको छ । त्यहाँ पर्खाल लगाउने र होरिजन्टल एन्करिङ गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । अब त्यहाँ निकै कम प्रतिशत मात्र काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

३८.८६ किलोमिटर दुरी रहेको यो सडकखण्ड शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा लागतमा विस्तार गर्ने गरी ठेक्का पाएको थियो । २०७९ पुस १५ गते भएको ठेक्का सम्झौताअनुसार २०८२ पुसभित्र काम सम्पन्न गर्नुपर्ने थियो । तर सम्पन्न हुन नसकेपछि २०८३ असार १५ गतेसम्मका लागि म्याद थपिएको छ । यसैबिच, आगामी निर्वाचनका कारण पनि कामको गति केही दिन मन्द हुने भएको छ । कामदारहरू मतदानका लागि घर जानुपर्ने भएकाले ४–५ दिन काम प्रभावित हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप