मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रतिनिधिसभा निर्वाचन-२०८२

प्रारम्भिक नतिजामा रास्वपाको छलाङ, के भन्छन् कांग्रेस, एमाले र नेकपाका नेता ?

मतदाताको फैसला स्वीकार्य, देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै: विश्वप्रकाश शर्मा

शुक्रबार, २२ फागुन २०८२, १२ : १२
शुक्रबार, २२ फागुन २०८२

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । मतगणना जारी रहेका ५० भन्दा बढी निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरुले फराकिलो अग्रता बनाइरहेका छन् भने एमाले,कांग्रेस,नेकपा लगायत दलका उम्मेदवार मतगणनामा धेरै पछाडि छन् । मतदाताको यो रुझान अन्तिमसम्म अन्य क्षेत्रमा पनि कायमै रहे रास्वपाले बहुमत ल्याउने संकेत देखिएको छ ।

रातोपाटीले प्रारम्भिक मतगणनामा आएको परिणामबारे कांग्रेस, एमाले र नेकपाका नेताहरुसँग प्रतिक्रिया लिएको छ । तीनै दलका नेताहरुले जनअभिमतबाट प्रकट भएको परिणाम स्वीकार्ने जनाएका छन् ।

एमाले नेता तथा निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले लोकतान्त्रिक अभ्यास र विधिबाट आएको परिणाम स्वीकार्दै आगामी दिनमा रणनीति बनाउदै अघि बढ्ने बताए । 
‘जनताको अभिमतबाट प्रकट हुने परिणाम हाम्रा लागि स्वीकार्य छ’, शाहीले भने, ‘मतगणना प्रारम्मिक रहेकाले अहिले फैसला सुनाइहाल्नुपर्ने अवस्था छैन । तैपनि लोकतान्त्रिक अभ्यास र विधिबाट आएको परिणाम स्वीकार्दै आगामी दिनमा रणनीति बन्दै जानेछ ।’

त्यस्तै नेकपाका नेता देव गुरुङले प्रायोजित रणनीति अनुसार गरिएको निर्वाचनमा यस्तो परिणाम आउनु स्वाभाविक भएको जिकिर गरे । ‘जेनजी आन्दोलनपछि राजनीतिक दलहरु विस्थापित भएको, शक्ति कमजोर भएको बेला चुनाव गरिएको छ । अन्तिम चुनावी परिणाम आएपछि गम्भीर समीक्षा हुन्छ’, गुरुङले भने, ‘प्रायोजित रणनीति अनुसार गरिएको निर्वाचनमा यस्तो परिणाम आउनु स्वाभाविक नै हो ।’

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनमा मतदाताको फैसला स्वीकार्य भएको प्रक्रिया दिएका छन् । सामाजिक सञ्जाल एक्समा उपसभापति शर्माले देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै रहने उल्लेख गरेका छन् ।

शर्माले शुक्रबार बिहान नतिजा आउन थालेपछि सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मतदाताको फैसला स्वीकार्य छ । बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत । २०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन । चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप