शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन

कोशीमा कहलिएका नेताको कन्तबिजोक

शुक्रबार, २२ फागुन २०८२, १८ : २२
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम संस्कृति पार्टीले पुराना पार्टीलाई पछि पारेको देखिन्छ।
  • झापा, मोरङ, सुनसरी, र उदयपुर लगायतका क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिएका छन्, भने इलाम र भोजपुरमा श्रम संस्कृति पार्टी अगाडि छन्।
  • एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व सभामुख देवराज घिमिरे लगायतका ठूला नेताहरूलाई रास्वपाका उम्मेदवारहरूले पछि पारेका छन्।

विराटनगर । फागुन २१ गते (बिहीबार) सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना धमाधम भइरहेको छ । कोशी प्रदेशको प्रायः निर्वाचन क्षेत्रको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम संस्कृति पार्टीले पुराना पार्टीलाई हायलकायल बनाएको देखिएको छ । 

हालसम्म झापाको ५ वटै निर्वाचन क्षेत्रमा भारी मतका साथ रास्वपाका उम्मेदवारहरू अगाडि छन् । त्यस्तै, मोरङका ६ र सुनसरीको ४ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि छन् । त्यस्तै उदयपुर–१ मा रास्वपा अगाडि देखिएको छ । त्यसबाहेक इलामको २, भोजपुर, उदयपुर २ र पाँचथरमा श्रम संस्कृति पार्टी अगाडि छ । 

त्यस्तै ताप्लेजुङमा नेकपा र एमालेबिच कडा प्रतिस्पर्धा देखिएको छ । एमालेका सचिव समेत रहेका भानुभक्त ढकालले तेह्रथुममा अग्रता कायमै राखेका छन् । यस्तै ओखलढुङ्गा र धनकुटामा पनि एमालेको अग्रता रहेको छ । त्यस्तै सोलुखुम्बु र सङ्खुवासभामा हालसम्म मतगणना सुरु भएकै छैन । इलाम १ र खोटाङको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छैन । 

रास्वपाबाट उम्मेदवार भएका तर, खासै नाम नसुनिएका उम्मेदवारहरूले ठुला र हेभिवेट नेताहरूलाई हायलकायल बनाएका हुन् । यसरी हायलकायल हुनेमा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो नम्बरमा छन् । रास्वपाका बालेन्द्र शाह ओलीभन्दा झन्डै ९ हजार बढी मतान्तरले अगाडि छन् । त्यस्तै झापाकै क्षेत्र नम्बर २ मा पूर्व सभामुखसमेत रहेका एमालेका देवराज घिमिरेलाई रास्वपाकी इन्दिरा रानाले निक्कै पछि छोडेकी छिन् । राना यसअघिकी उपसभामुख हुन् । 

त्यस्तै झापाकै क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि रास्वपाकै प्रकाश पाठकले पराजित गर्ने अवस्था बन्दै गएको छ । उता, झापा ४ मा कांग्रेसका देउमान थेबे र एमालेका एलपी सावा जस्ता चर्चित नेताहरूलाई रास्वपाका शम्भुप्रसाद ढकालले हायलकायल बनाउँदैछन् । 

त्यस्तै मोरङको २ नम्बर क्षेत्रमा उम्मेदवार बनेका कांग्रेसका पूर्वमन्त्री मिनेन्द्र रिजाल, मोरङ ३ का कांग्रेसकै डा. सुनिल शर्मा, मोरङ ४ मा पूर्वमन्त्रीसमेत रहेका नेकपाका नेता अमनलाल मोदी, मोरङ ५ मा नेकपाकै पूर्वमन्त्रीसमेत रहेका शिवकुमार मण्डलदेखि यसअघि स्वतन्त्र रूपमा विजयी भएका योगी मण्डललाई पनि रास्वपाका उम्मेदवारले निक्कै पछि पारेका छन् । रास्वपाबाट मोरङ–२ मा कृष्ण कार्की, ३ मा गणेश कार्की, ४ मा सन्तोष राजवंशी र ५ मा आशा झा उम्मेदवार बनेकी छन् । त्यस्तै,  मोरङ ६ बाट कांग्रेसका डा. शेखर कोइरालालाई रास्वपाकी रुबिना आचार्यले हायलकायल बनाएकी छिन् । 

उता, सुनसरीको १ मा देशभरि नै चर्चामा रहेका धरानका पूर्व प्रमुख हर्क साम्पाङलाई रास्वपाकी सरिन तामाङले पछि पारेकी छिन् । सुनसरी ३ मा सधैँ चर्चामा रहने कांग्रेसका नेता विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीलाई रास्वपाका अशोक चौधरीले निक्कै पछि पारेका छन् । यस्तै सुनसरी २ मा कांग्रेसका राजीव कोइरालालाई पछि पार्दै रास्वपाका लालविक्रम थापा अग्रस्थानमा छन् । 

उता, श्रम संस्कृति पार्टीले पनि अप्रत्याशित ढङ्गले इलामको २ नम्बरमा एमालेका युवा नेता सुहाङ नेम्वाङलाई पछि पारेका छन् । त्यस्तै भोजपुरमा एमाले सचिवसमेत रहेका शेरधन राई तथा नेकपाका अजम्बर राई काङमाङलाई श्रम संस्कृति पार्टीका ध्रुवराज राईले प्रारम्भिक मतगणनामा पछि पारेका छन् । त्यस्तै एमालेको लालकिल्ला भनेर चिनिएको धनकुटामा पूर्वमन्त्री समेत रहेका एमालेका नेता राजेन्द्र राईलाई श्रम संस्कृति पार्टीका सानबहादुर राईले पछि पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप