को हुन् कैलाली–१ बाट उदाएकी कोमल ज्ञवाली ?
सारांश
- कैलाली १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी कोमल ज्ञवालीले संघीय संसदमा जित हासिल गरिन्।
- ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरिन् र आफूले काम गरेर देखाउने प्रतिक्रिया दिइन्।
- उनले बाढीपीडितका समस्या समाधान, पूर्वाधार विकास, र टीकापुर पार्कलाई पर्यटकीय गन्तव्य बनाउने योजना बनाइन्।
धनगढी । सुदूरपश्चिममा कैलाली १ बाट रास्वपाले जितको सुरुवात गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कोमल ज्ञवालीले जित हात पारेकी छन्।
उनले १७ हजार ८२६ मतसहित संघीय संसदमा आफ्नो यात्रा तय गरेकी छिन्। चुनाव जितेपछि उनले आफूले काम गरेर देखाउने प्रतिक्रिया दिइन्।
ज्ञवाली प्रसिद्ध इतिहासकार सूर्यविक्रम ज्ञवालीकी नातिनी हुन्। उनले नेपालको इतिहास लेखनमा विशिष्ट योगदान पुर्याएका थिए।
बुवा जानकी विक्रम ज्ञवाली र आमा मुक्ता ज्ञवालीको कोखबाट वि.सं. २०३५ सालमा जन्मिएकी ४७ वर्षीया कोमल टिकापुरी स्थानीय बासिन्दा हुन्। टीकापुर–२ सीतापुरमा जन्मिएकी उनी सोही क्षेत्रमा व्यवसायमा आबद्ध थिइन्।
व्यवस्थापन सङ्कायमा स्नातक (बिबिएस) उत्तीर्ण गरेकी कोमल राजनीतिमा पूर्णकालीन हुनुअघि सफल कृषि व्यवसायी थिइन्।
टीकापुर आफैँमा कृषि उब्जनीको केन्द्र हो। कोमलले यही सम्भावनालाई बुझेर ‘तत्सम एग्रिकल्चर’ मार्फत कृषि कर्म गरिरहेका जानकारी दिइन्।
उनले लामो समयदेखि यस क्षेत्रका किसानलाई आधुनिक कृषि यन्त्रहरू— कम्बाइन हार्भेस्टर, ट्र्याक्टर, पावर टिलर, मिनी टिलर लगायतका सामग्री उपलब्ध गराउँदै आएकी छन्।
‘म अफिसमा बसेर फाइल मात्र पल्टाउने मान्छे होइन, म किसानको खेतबारीमा चाहिने औजार र प्रविधिसँग खेलेको मान्छे हुँ।’, उनले रातोपाटीसँग भनिन्।
पारिवारिक रूपमा बुवा र मामाहरू राजनीतिमा संलग्न भए पनि कोमलको सक्रिय राजनीतिक यात्रा भने नागरिक उन्मुक्ति पार्टीबाट सुरु भएको थियो। उनी उक्त पार्टीको संस्थापक केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा थिइन्। समयक्रममा अनुसार राजनीतिक एजेन्डा र कार्यशैलीमा आएको परिवर्तनसँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भइन्।
‘म काम गर्नुपर्छ भन्ने भावनाले राजनीतिमा आएकी हुँ,’ उनी भन्छिन्, ‘कुनै पद ओगट्न वा नाम कमाउन मात्र म यता आएकी होइन, म कमाउन आएकी होइन, सेवा गर्न आएकी हुँ’, उनले भनिन्।
कोमलले राजनीतिलाई पेशा नभई सेवाको रूपमा लिएको प्रस्ट पारिन्। नेपालको राजनीतिमा भ्रष्टाचार र अनियमितताको विम्ब बन्दै गएको अवस्थामा कोमलको भनाइले मतदातालाई आश्वस्त पारेको देखिन्छ।
‘पैसा कमाउन त म पहिलेदेखि नै व्यापार (बिजनेस) मा छु, मेरा लागि राजनीति विशुद्ध सेवा हो,’ उनले भनिन् ‘मेरो पारिवारिक पृष्ठभूमि र अहिलेको आर्थिक अवस्थाले पनि मलाई राजनीतिबाटै कमाउनुपर्छ भन्ने छैन। म आर्थिक रूपमा सबल छु, त्यसैले म जनताको सेवामा इमानदार भएर लाग्न सक्छु।’
चुनाव जितेपछि कोमलले आफ्ना प्राथमिकताहरू स्पष्ट पारेकी छन्। कैलाली क्षेत्र नम्बर १ बाढीको उच्च जोखिममा रहेको क्षेत्र हो। कर्णाली नदी र अन्य खहरे खोलाले बर्खामा यहाँका बासिन्दालाई सधैँ त्रासमा राख्छ।
‘बाढीपीडितका समस्या समाधान मेरो पहिलो प्राथमिकता हो,’ उनले भनिन्।
त्यसबाहेक यहाँको पूर्वाधार विकासमा उनी चिन्तित छन्। हरेक वडामा अझै पनि सहज बाटोघाटो पुग्न सकेको छैन। बर्खायाममा हिलाम्मे हुने सडकहरूको स्तरोन्नति गर्ने उनको योजना छ।
साथै, टीकापुरको ऐतिहासिक पहिचान बोकेको ‘टीकापुर पार्क’ (बृहत उद्यान) लाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बनाउने उनको सपना छ। यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि बढाउने उनको विश्वास छ।
यसअघि यो क्षेत्रबाट रञ्जिता श्रेष्ठ निर्वाचित भएकी थिइन्। अघिल्लो कार्यकालमा जनताका अपेक्षाहरू पूरा नभएको गुनासो मतदातामाझ व्याप्त थियो।
‘अघिल्ला प्रतिनिधिहरूबाट जनताले धेरै अपेक्षा गरेका थिए, तर त्यो पूरा भएन भन्ने गुनासो मैले सुनेकी छु,’ उनले भनिन् ‘तर म विश्वास दिलाउन चाहन्छु— म बाट त्यस्तो गल्ती हुने छैन। म विगतका कमजोरी दोहोर्याउने छैन।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण