एमालेको ग्रासरुटबाट उदाएका ठगुन्ना विजयी
सारांश
- नेकपा एमालेका गणेश सिंह ठगुन्ना दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
- निर्वाचनमा सुरुवाती चरणमा पछि परे पनि उनले मतान्तर बढाउँदै जित हासिल गरे।
- ठगुन्नाले दार्चुलाको विकास, सीमा सुरक्षा, सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।
धनगढी । दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना विजयी भएका छन् । अघिल्लो निर्वाचनमा पराजित भएका ठगुन्नाले यस पटक भने पुनः संसदमा आफ्नो स्थान बनाएका हुन् ।
मतगणनाको सुरुवाती चरणमा ठगुन्ना नेपाली कांग्रेसका उम्मेदवारभन्दा पछि परेका थिए । प्रारम्भिक नतिजाले प्रतिस्पर्धा निकै कडा हुने संकेत देखाएको थियो । पछिल्ला चरणहरूमा उनले मतान्तर बढाउँदै गए र अन्तत विजय हासिल गर्न सफल भए । निर्वाचन परिणामअनुसार ठगुन्नाले १८ हजार ८ सय ९१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी धर्मानन्द जोशीले १५ हजार ८ सय ३६ मत मात्र पाए ।
विजयपछि प्रतिक्रिया दिँदै ठगुन्नाले जनताले दिएको मतको सम्मान गर्ने र संसदमा दार्चुलाको आवाज बलियो रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले दार्चुलाको विकास, सीमा क्षेत्रको सुरक्षा, सडक, शिक्षा र स्वास्थ्य जस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
गणेश सिंह ठगुन्ना एमालेको ग्रासरुट राजनीतिबाट उदाएका नेता मानिन्छन् । उनले आफ्नो राजनीतिक यात्रा २०४५ सालमा अनेरास्ववियुबाट सुरु गरेका थिए । विद्यार्थी राजनीतिबाट सक्रिय बनेका ठगुन्ना २०४७ सालमा एमालेको जिल्ला संगठन कमिटी सदस्य बने । त्यसपछि २०५० सालदेखि लामो समयसम्म उनले एमाले जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हाले ।
स्थानीय तहदेखि केन्द्रसम्मको अनुभव सँगालेका ठगुन्ना २०५४ सालमै दार्चुला जिल्ला विकास समिति (जिविस) का सभापति बनेका थिए । त्यसपछि उनले पार्टीभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै आफ्नो राजनीतिक प्रभाव विस्तार गरेका थिए । एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका ठगुन्ना पार्टी संगठनमा प्रभावशाली नेताका रूपमा चिनिन्छन् ।
ठगुन्नाले २०७० र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा लगातार जित हासिल गरेका थिए । ती चुनावमा जित हासिल गर्दै उनले संसदमा दार्चुलाको प्रतिनिधित्व गरेका थिए । २०७८ सालमा उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनले भने उनको विजय यात्रामा ब्रेक लगाएको थियो । उक्त निर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्र प्रसाद बडूसँग पराजित भएका थिए । त्यसबेला उनको हारलाई धेरैले अप्रत्याशित रूपमा लिएका थिए । यद्यपि निर्वाचनमा हार बेहोरे पनि जिल्ला पार्टी पंक्तिमा ठगुन्नाको प्रभाव भने कमजोर भएन । उनले संगठनभित्र आफ्नो सक्रियता कायम राखे र आगामी निर्वाचनका लागि तयारी जारी राखे । उनलाई पार्टीले यहाँ एकल उम्मेदवारका रुपमा सिफारिस गरेको थियो ।
दार्चुला भू–राजनीतिक दृष्टिले संवेदनशील जिल्ला मानिन्छ । भारत र चीनसँग सीमा जोडिएको यस क्षेत्रमा विकास निर्माण, सडक विस्तार, सीमावर्ती सुरक्षालगायत मुद्दा महत्त्वपूर्ण मानिन्छन् । ठगुन्नाले यी विषयलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।
यस पटकको निर्वाचनमा उनले अघिल्लो हारको बदला लिने लक्ष्यसहित मैदानमा उत्रिएका थिए । सुरुवाती मतगणनामा पछि परे पनि अन्ततः मतान्तर बढाउँदै उनले जित सुनिश्चित गरेका हुन् । यससँगै दार्चुलामा एमालेले पुनः आफ्नो राजनीतिक पकड कायम गरेको विश्लेषण गरिएको छ ।
ठगुन्नाको जितसँगै दार्चुलाका मतदाताले विकास, स्थायित्व र प्रभावकारी प्रतिनिधित्वको अपेक्षा गरेको उनले बताए । ‘यो जितले मलाई थप जिम्मेवारी बनाएको छ र म यसका लागि तयारी छु,’ उनले भने । ठगुन्नाको जितसँगै सुदूरपश्चिम एमालेले दुई सिट जितेको छ । यसअघि बझाङमा ऐन महरले जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण