एन्फा कार्यालयमा खेलाडी संघको तालाबन्दीप्रति एन्फाको ध्यानाकर्षण, तत्काल खोल्न आग्रह
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित आफ्नो केन्द्रीय कार्यालयमा नेपाल फुटबल खेलाडी संघद्वारा गरिएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एन्फाले आफ्नै सदस्य संस्थाबाट कुनै पूर्व जानकारी वा संवाद बिना सार्वजनिक बिदाको दिन अप्रत्याशित रूपमा गरिएको तालाबन्दीप्रति खेद प्रकट गरेको छ।
एन्फाका प्रवक्ता सुरेश शाहद्वारा साेमबार जारी विज्ञप्तिमा आफ्नै मातृ संस्थासँग वार्ताको ढोका खुला रहँदा रहँदै यस्तो निषेधात्मक कदम चालिनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ। खेलाडी संघले अघि सारेका तीनबुँदे मागबारे एन्फाले आफ्नो धारणा पनि सार्वजनिक गरेको छ।
लिग सञ्चालनबारे प्रतिबद्धता
एन्फाका अनुसार शहीद स्मारक ‘ए’ डिभिजन लिग तथा राष्ट्रिय लिग सञ्चालनका विषयमा एन्फा, सहभागी क्लब र खेलाडी संघबिच निरन्तर संवाद र समन्वय हुँदै आएको छ। सोही सहमतिअनुसार राष्ट्रिय लिग सम्पन्न भइसकेको र त्यसको एक महिनापछि ‘ए’ डिभिजन लिग सुरु गर्ने तयारी भइरहेको संघले जनाएको छ।
तर तालाबन्दीका कारण दैनिक प्रशासनिक गतिविधि अवरुद्ध हुँदा सहमतिअनुसारका कार्यान्वयन गर्न कठिनाइ उत्पन्न भएको एन्फाको भनाइ छ।
खेलाडी कल्याण कोषमा रकम जम्मा गर्ने निर्णय
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलबाट उठेको टिकट आम्दानीको केही रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयप्रति एन्फा प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
पुरस्कार तथा तलब भत्ता भुक्तानी
वर्तमान कार्यसमितिले घोषणा गरेका पुरस्कार रकम पूर्ण रूपमा भुक्तानी भइसकेको एन्फाले जनाएको छ। अघिल्ला कार्यसमितिहरूले निर्णय गरी बाँकी रहेका पुरस्कार रकम आन्तरिक स्रोतको उपलब्धताअनुसार क्रमिक रूपमा भुक्तानी गर्दै जाने प्रतिबद्धता संघले व्यक्त गरेको छ। साथै खेलाडीहरूको तलब तथा भत्ता नियमानुसार भुक्तानी भइरहेको र भविष्यमा पनि त्यसैअनुसार हुने स्पष्ट पारिएको छ।
एन्फाले तालाबन्दी र त्यससँग जोडिएका मागहरू आफैंमा विरोधाभासपूर्ण देखिएको उल्लेख गर्दै कार्यालयमा तालाबन्दी गरेर लिग आयोजनाको माग पूरा गर्न कसरी सम्भव हुन्छ भन्ने प्रश्न पनि उठाएको छ।
संघका अनुसार तालाबन्दीका कारण जारी राष्ट्रिय लिग मात्र नभई एन्फा यू–१८ लिग, एन्फा महिला लिग, फिफा महिला सिरिज, हङकङसँगको मैत्रीपूर्ण खेल, नेपाल–लाओसबीचको एएफसी क्वालिफिकेसन तथा साफ यू–२० च्याम्पियनसिपजस्ता महत्वपूर्ण प्रतियोगिताको तयारी र आयोजना प्रभावित हुन सक्ने जोखिम रहेको छ।
एन्फाले खेलाडी संघको आह्वानमा केही राष्ट्रिय खेलाडी, राष्ट्रिय लिगका खेलाडी तथा बाह्य व्यक्तिहरूको संलग्नतामा गरिएको तालाबन्दीलाई अनुशासनहीन र अराजक गतिविधि भन्दै तत्काल रोक्न आग्रह गरेको छ। साथै तीनबुँदे माग कार्यान्वयनतर्फ संघ सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल फुटबल खेलाडी संघलाई तालाबन्दी तत्काल खोल्न आग्रह गरिएको छ।
संघले चेतावनी दिँदै तालाबन्दी जारी रहे नेपाली फुटबल गतिविधि अवरुद्ध भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने जनाएको छ।
एन्फा सार्वजनिक संस्था भएकाले संघको भौतिक संरचनाको सुरक्षा तथा दैनिक गतिविधि सञ्चालनका लागि शान्ति–सुरक्षा कायम गरिदिन नेपाल सरकार र सम्बन्धित सुरक्षा निकायसँग पनि अपिल गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण