बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन

संसद्‍मा व्यवसायीहरूको इन्ट्री, चर्चित व्यवसायी भने पराजित

सोमबार, २५ फागुन २०८२, १६ : ४६
सोमबार, २५ फागुन २०८२

सारांश

  • प्रतिनिधि सभा निर्वाचनमा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रह्यो, विशेषगरी पर्यटन, जलविद्युत र यातायात क्षेत्रका व्यवसायीहरूले जित हासिल गरे।
  • कतिपय पुराना र स्थापित व्यवसायीहरूले चुनावमा हार बेहोरे, जबकि नयाँ दल र अनुहारका व्यवसायीहरूले सफलता पाए।
  • विनोद चौधरी, नेपालका एकमात्र डलर अर्बपति उद्योगपति, लगायतका चर्चित व्यवसायीहरूले हार ब्यहोरे।

काठमाडौँ । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा धेरै ठाउँमा व्यवसायीहरू निर्वाचित भएका छन् । 

संसदीय निर्वाचनको नतिजासँगै संसदमा व्यवसायीको बलियो उपस्थिति देखिएको छ । विशेषगरी पर्यटन, जलविद्युत्, व्यापार र यातायात क्षेत्रमा स्थापित व्यवसायीहरूले प्रत्यक्षतर्फ शानदार जित निकालेर संसद्को यात्रा तय गरेका छन् । 

नेपाली राजनीतिमा निर्वाचनको समयमा उद्योगी र व्यवसायीहरूको सक्रिय राजनीतिमा प्रवेश गर्नु नयाँ विषय होइन् । विगत लामो समय देखि निर्वाचनको समयमा विभिन्न पार्टीमा आवद्धता बढाउँदै प्रत्यक्ष तथा समानुपातिक प्रणाली मार्फत संसदमा प्रवेश गर्ने प्रचलन रहँदै आएको छ । 

२१ फागुनमा सम्पन्न निर्वाचनमा पनि विगतको प्रवृत्ति देखिएको छ । निर्वाचन अघि समानुपातिक सूचीमा व्यवसायीहरूको नाम राखिएको छ । यसपाली ठुला ‘कर्पोरेट’ हाउसका उद्योगी व्यवसायीहरू निर्वाचनको मैदानमा थिए । तर ठुला कर्पोरेट हाउसका व्यवसायीभन्दा पनि सामान्य व्यवसायी गरेका व्यवसायीहरू चुनाव जितेर संसदको यात्रा तय गरेका छन् । उनीहरूलाई मतदाताले पनि मत दिएर पत्याएका छन् । तर, अहिलेको चुनावमा ठुला व्यवसायिक घरना र चर्चित व्यवसायीहरूले मतदाताको मन जित्न सकेनन् । 

नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ बाट पाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका नेपालका एकमात्र डलर अर्बपति उद्योगपति विनोद चौधरीलाई समेत मतदाताले पत्याएनन् । उनी अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । 

उनले ३५ हजार मतान्तरले हारे । रास्वपाका विक्रम खनालसँग पराजित उनी पराजित भए । रास्वपाका खनालले ४५ हजार २ सय ४१ मत पाउँदा चौधरीले ९ हजार ५ सय २ मत मात्रै प्राप्त गरे । चौधरीलगायत काँग्रेस,एमाले,नेकपा र मधेशवादी दल लगायत अन्य दलबाट निर्वाचनमा होमिएका धेरै चर्चित व्यवसायीहरूले हार व्यहोरेका छन् । तर, रास्वपाबाट उम्मेदवार बनेका नयाँ अनुहारका व्यवसायीले बाजी मारेका छन् । 

पर्यटन र जलविद्युत् व्यवसायीको सानदार जित

बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार एवं पर्यटन व्यवसायी श्रीधर पोख्रेल निर्वाचित भएका छन् । संसदीय निर्वाचनको पहिलो प्रयासमै २९ हजार ६ सय ७८ मत ल्याएर विजयी भए । कांग्रेसका किशोरसिंह राठौरलाई २० हजार ४०२ मतमै सिमित भए । 

२५ वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय पोख्रेल बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रकृति पथ प्रदर्शक हुन् भने ठाकुरद्वारामा उनको आफ्नै रिसोर्ट सञ्चालनमा छ । नीतिगत सुधार गरेर अधुरा काम पूरा गर्ने उनको प्रतिबद्धता छ । 

यस्तै, उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरका पर्यटन व्यवसायी ४१ वर्षीय सूर्यबहादुर तामाङ पनि रास्वपाबाटै उदयपुर–२ मा निर्वाचित भएका छन् । १४ हजार ८ सय २ मतसहित निर्वाचित उनले एमालेका अम्बरबहादुर रायमाझीलाई दोब्बर मतले पराजित गरे । पुराना दलबाट विकास सम्भव नभएको भन्दै उनी चुनावी मैदानमा होमिएका थिए । 

त्यस्तै, सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार भरतप्रसाद पराजुलीले जलविद्युत् व्यवसायीको पहिचानसहित संसद् प्रवेश गरेका छन् । ४५ मेगावाट क्षमताको निर्माणाधीन ब्रहृमायणी जलविद्युत् आयोजनाका अध्यक्षसमेत हुन । पराजुलीले २४ हजार ४ सय १२ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका माधव सापकोटालाई पराजित गरे । 

त्यसैगरी, आफ्नै व्यापार–व्यवसायमा क्रियाशील झविलाल डुम्रेले पनि पहिलो प्रयासमै सफलता हात पारेका छन् । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाबाटै उम्मेदवार बनेका डुम्रे २५ हजार ३ सय ५४ मत ल्याएर विजयी भए । उनले कांग्रेसका भागवतप्रकाश मल्ललाई ४ हजार ५ सय २४ मतले पछाडि पारे । 

यातायात व्यवसायीहरूको रोचक संयोग

सुर्खेतको निर्वाचनमा दुई यातायात व्यवसायीको जितले रोचक संयोग निर्माण गरेको छ । सुर्खेत–१ बाट नेपाली कांग्रेसका विष्णुबहादुर खड्का २६ हजार ८९७ मत र सुर्खेत–२ बाट रास्वपाका रमेशकुमार सापकोटा ३० हजार ८४२ मत ल्याएर विजयी भएका छन् । यी दुवै जना वीरेन्द्रनगर नगरपालिका–७ इत्रामका बासिन्दा हुन् र उनीहरूको घरको दूरी मात्र दुई सय मिटर छ । खड्का मध्यपश्चिम यातायात व्यवसायी समिति प्रालि र सापकोटा काँक्रेविहार यातायात प्रालिका अध्यक्ष हुन् । 

डेढ वर्षअघिसम्म एउटै पार्टी (कांग्रेस) मा रहेका यी दुई व्यवसायी यसपटक फरक–फरक पार्टीबाट चुनाव लडेर कर्णालीबाट संसद् प्रवेश गर्न सफल भएका छन् । 

डोल्पामा व्यवसायी दाजुभाइकै भिडन्त, दाइले बाजी मारे

डोल्पाको निर्वाचन यसपटक एउटै घरका दाजुभाइको भिडन्तले रोचक बनेको थियो । उनी निर्माण व्यवसायी हुन् । उनी यसअघि २०७०, २०७४ र २०७९ सालमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । कर्णबहादुर बुढा उनकै सहोदर भाइ हुन् । उनी पनि व्यवसायी हुन् । 

यस निर्वाचनमा धनबहादुरले आफ्नै सहोदर भाई तथा कांग्रेस उम्मेदवार कर्णबहादुर बुढासँग प्रतिस्पर्धा गरेका थिए । जसमा कर्णबहादुर तेस्रो स्थानमा रहे । आफ्नै दाजुलाई हराउँदै भाई निर्वाचित भए । हिमाली जिल्ला डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा निर्वाचित भएका छन् । उनले ६ हजार ८ सय २ मत प्राप्त गर्दै एमालेका लंकबहादुर रोकायलाई पराजित गरे । 

त्यस्तै, पर्सा– ४ बाट रास्वपाबाट निर्वाचित टेकबहादुर शाक्य पनि व्यवसायी हुन् । ५० वर्षीय शाक्यको यो पहिलो संसदीय यात्रा हो । शाक्यले २८ हजार ६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुराना नेता रमेश रिजालले १२ हजार ५ सय ३४ मत पाए । शाक्यले रिजाललाई १५ हजार ४ सय ७२ मतान्तरले पराजित गरेका हुन् । उनी नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक महासचिवसमेत हुन् । 

त्यस्तै, काभ्रेपलान्चोक २ मा रास्वपाका उम्मेदवार बदन भण्डारी पनि व्यवसायी हुन । उनले कांग्रेसका उम्मेदवार मधु आचार्यलाई ३५ हजार ४७६ मतले हराएउँदै संसदमा प्रवेश गरेका हुन । उनी पनि नेपाल राष्ट्रिय ब्यावसायी महासंघका संस्थापक उपमहासचिव हुन् । त्यस्तै, पूर्व श्रम मन्त्री डीपी अर्याल र पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ पनि विजयी भएका छन् । 

रास्वपाका उपसभापति अर्याल काठमाडौं– ९ बाट निर्वाचित भएका हुन् । उनले ३५ हजार ९३ मतसहित जित निकाल्दा नेपाली कांग्रेसकी नानु मैयाँ बास्तोलाले ५ हजार ४६० मत प्राप्त गरिन् । पूर्व श्रम राज्यमन्त्री तथा व्यवसायी टेकवहादुर गुरुङ मनाङबाट विजयी भएका हुन् । 

कांग्रेसका उम्मेदवार रहेका गुरुङ २ हजार ४१५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरिन् । त्यस्तै, हरि ढकाल, गणेश पराजुली, खल्ती डिजिटल वालेटका सहसंस्थापक तथा निर्देशक अरविन्द साह, नितिमा भण्डारी, मेडिकल व्यवसायी रहवर अन्सारीलगायत समेत व्यवसायिक पृष्ठभूमिका हुन् । उनीहरू समेत आगामी सांसदमा प्रवेश गरेका छन् । 

चर्चित र पुराना व्यवसायीले भने भोगे पराजय

नयाँ दल र नयाँ अनुहारका व्यवसायीले संसद्को टिकट लिएर जित हासिल गर्दा देशका केही चर्चित, ठुला घरानाका र स्थापित व्यवसायीले भने यसपटकको निर्वाचनमा पराजय भोग्नुपरेको छ । पुराना दलका कतिपय स्थापित व्यापारी र निर्माण व्यवसायीलाई मतदाताले अस्वीकार गरेका छन् । नेपालका एकमात्र डलर अर्बपति उद्योगपति चौधरीसमेत हार व्यहोरेका छन् । 

यस्तै धादिङ क्षेत्र नम्बर २ मा कांग्रेसबाट पर्यटन व्यवसायी रमेशप्रसाद धमला पनि पराजित भए । उनी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष पनि हुन् । पहिलो पटक निर्वाचनमा होमिएका उनलाई रास्वपाका बोधनारायण श्रेष्ठले हराए । श्रेष्ठले २६ हजार १ सय ४३ मत ल्याएर निर्वाचित हुँदा धमलाले २० हजार २ सय ७७ मत ल्याए । 

त्यस्तै रुपन्देही क्षेत्र नम्बर २ मा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेल कांग्रेसबाट उम्मेदवार बनेका थिए । सोना प्याकेजिङ तथा होटल स्याफ्रोनका अध्यक्ष समेत रहेका उनी रास्वपाका उम्मेदवार सुलभ खरेलसँग पराजित भए । खरेलले ५६ हजार ५ सय ५० मत पाएर निर्वाचित हुँदा पौडेलले ९ हजार ३ सय ९२ मत मात्रै ल्याए । 

यस्तै, पर्सा क्षेत्र नम्बर–१ बाट कांग्रेस उम्मेदवार उद्योगी अनिलकुमार रुँगटा पनि पराजित भएका छन् । उनी जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक हुन् । यसैगरी कपिलवस्तु क्षेत्र नम्बर ३ मा कांग्रेस त्यागेर एमालेबाट  व्यवसायी वीरेन्द्रप्रसाद कनौडिया पनि पराजित भए । उनी लुम्बिनी सुगर मिल्सका अध्यक्ष पनि हुन् । कनौडिया कपिलवस्तु–३ मा कांग्रेसका अभिषेकप्रताप शाहसँग पराजित भए । 

कांग्रेसले झापा क्षेत्र नम्बर ३ मा नेपाल अलैँची व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र घिमिरेलाई उम्मेदवार थिए । उनी पनि रास्वपाका उम्मेदवार प्रकाश पाठकसँग पराजित भएका छन् । उनले ८ हजार १ सय १९ मत ल्याउँदा पाठकले ३८ हजार ६ सय ७४ मत ल्याएका छन् । 

भन्सार एजेन्ट तथा व्यवसायी केशव पाण्डेले हार बेहोरे । गुल्मी–२ मा व्यवसायी भुवन श्रेष्ठ, धनुषा–२ मा व्यवसायी उमाशंकर अरगरिया र उद्योगपति दीलिप अग्रवाल मोरङ–२ मा पराजित भए । झापा–४ मा म्यानपावर व्यवसायी एलपी साँवा लिम्बू, पूर्वबैंकर मिनबहादुर गुरुङ स्याङ्जा–१, मनाङमा व्यवसायी छोपाङ गुरुङ र मोरङ–५ मा व्यवसायी मनोज अग्रवाल यसपालि चुनावमा असफल भए । 

बारा–४ मा उद्योगी किसान श्रेष्ठ, सिराहा–४ मा व्यवसायी डा. वीरेन्द्रप्रसाद महतो, ऊर्जा व्यवसायी पार्वत गुरुङ दोलखा, पूर्वबैंकर झपट बोहरा अछाम–१ र काठ व्यवसायी प्रेमबहादुर आले कैलाली–५ मा पराजित भए । 

यस्तै पर्यटन व्यवसायी तथा पर्यटन बोर्डका पूर्वसदस्य कृष्ण रिजाल पनि धादिङ क्षेत्र नम्बर १ बाट हार व्यहोरेका छन् । यस्तै सुमन सायमी पनि पराजित भएका छन् । उनी नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बाट काठमाडौं–८ को उम्मेदवार बनेका थिए । उनी नेपालकै पुरानोमध्येको मिठाई पसल कालीमाटीस्थित ‘स्विट केभ’ का सञ्चालक हुन् । उनी रास्वपाका विराजभक्त श्रेष्ठसँग पराजित भए । 

यसैगरी राइड सेयरिङ एप पठाओका सञ्चालक असिममानसिंह बस्न्यातले काठमाडौं क्षेत्र नम्बर १ बाट पराजित भए । त्यस्तै कैलाली–२ मा कांग्रेसका उम्मेदवार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष विजयबहादुर स्वाँर रास्वपाका केपी खनालसँग पराजित भए । 

ऊर्जा तथा मेडिकल व्यवसायी डा । सुनिलकुमार शर्मा मोरङ–३ मा पराजित भए । मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीका पूर्वअध्यक्ष भरतराज ढकाल स्याङ्जा–१ मा पराजित भए । यसैगरी घरजग्गा व्यवसायी प्रेमबहादुर खत्री गोरखा–१ मा पराजित भए । म्यानपावर व्यवसायी तिलक रानाभाट पनि पराजित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप