बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन

क्लबमा ट्र्याक फेर्ने डिजे सुदन राजनीतिको ट्र्याक फेर्न संसद् पुगे

सोमबार, २५ फागुन २०८२, १६ : ५९
सोमबार, २५ फागुन २०८२

सारांश

  • गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङले कांग्रेस र माओवादीको विरासत तोड्दै चुनाव जिते।
  • सुदन गुरुङले दोब्बर मतान्तरले जित हासिल गरे भने कांग्रेस र नेकपाका उम्मेदवार पराजित भए।
  • विभिन्न आरोपका बाबजुद सुदन गुरुङ जेनजी आन्दोलनबाट चर्चामा आएका थिए, र उनले चुनावमा सफलता हासिल गरे।

पोखरा । कांग्रेस र माओवादी (हालको नेकपा) ले आलोपालो गर्दै चुनाव जितेको गोरखा–१ मा यसपालि अप्रत्याशित नतिजा आयो । देशभर जस्तै गोरखा १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भए ।

उनको जितले गोरखा–१ मा कांग्रेस र कम्युनिष्टको आलोपालो विरासतलाई ब्रेक लागेको छ । यहाँबाट २०४८, ०५१, ०५६ र २०७९ मा कांग्रेस तथा २०६४, २०७० र २०७४ मा माओवादी (हाल कम्युनिस्ट पार्टी) ले जितेको थियो । उक्त पार्टीका सुदन गुरुङ दोब्बर मतान्तरले विजयी भएका हुन् । 

गुरुङले २९ हजार ८ सय ८६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३ सय ९८ मत ल्याए । नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १ सय २४ मत प्राप्त गरे । एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७ सय ३२ मत ल्याउनुबाहेक अरू उम्मेदवारले ल्याएको मत सम्झन लायक रहेन । 

जेनजी आन्दोलनका क्रममा देशदेखि विदेशसम्म चर्चा बटुलेका तिनै सुदन हुन्, अहिले गोरखा– १ बाट निर्वाचित भएका । सुदनको जित जति चर्चित छ, उनीमाथि लागेका आरोपहरूको चाङ त्यति नै रहस्यमयी र विवादास्पद छ । सुरुमा राजनीति नगर्ने बताइरहेका उनले देशमा सुशासन र भ्रष्टाचार अन्त्यको आवाज जेनजी आन्दोलनमा छेडे ।

उनले आन्दोलनको नेतृत्व मात्रै गरेनन्, आन्दोलन पछिको सरकार गठन र निर्वाचनसम्म भूमिका खेले । सुरुमा मन्त्री नबन्नेहरूको सरकार बनाउने भनिएको भए पनि मन्त्री बनेकाहरू समेत धमाधम राजीनामा बुझाएर सांसदको चुनाव लड्न निस्किए । 

तत्कालीन सरकारका ऊर्जा र भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, शिक्षामन्त्री महावीर पुन, खेलकुद मन्त्री बब्लु गुप्ता लगायतले चुनावमा प्रतिस्पर्धा गरे । सबै जनाले चुनाव जिते । संविधान राख्ने र नराख्ने द्धिविदामा रहेका सुदन सरकारले चुनावको मिति घोषणा भइसकेपछि पनि विज्ञहरूले झुक्क्याएर संसद् विघटन गराएको गुनासो गरिरहन्थे ।

पोखरामा भएको सम्मान कार्यक्रममा उनले विज्ञहरूले नै झुक्क्याएर संसद् विघटन गरेको बताएका थिए । अन्य सार्वजनिक कार्यक्रममा पनि उनले धेरै पटक दोहोर्याएका हुन् । विशेषगरी गृहमन्त्री ओमप्रकाश अर्यालतिर लक्षित गर्दै उनले अर्यालकै कारण संसद् विघटन गरिएको र त्यो गलत भएको बताएका थिए । 

यो पनि

‘उहाँले कानुनी सल्लाहकार भएर हामीलाई गुमराहमा राख्नुभयो र आज रगत लागेको बच्चाको पदमा बसेर सानसँग गफ हाँकिरहनुभएको छ,’ उनले भनेका थिए, ‘संविधान यसरी नै रह्यो भने र संशोधन गर्न सकिएन भने जेनजीको माग पूरा हुँदैन भनेर सल्लाह दिन सक्नुहुन्थ्यो । उहाँले हामीलाई सही सल्लाह दिनुभएन ।’ उनको तर्क यो संविधान तुरुन्तै संशोधन गरेर मात्रै चुनाव गराउनुपर्ने थियो । तर, संविधान संशोधन गर्न पुग्ने गरी उनले प्रतिनिधित्व गरेको दलले चुनाव जित्यो । त्यसको एक सदस्य बन्न सफल भएका छन् उनी । 

गोरखाको अति दुर्गम चुमनुम्रीको साधारण परिवारमा जन्मिएका उनले धेरै समय काठमाडौँमा बिताए । चितवनबाट काठमाडौँ गएका उनी ठमेलमा कल सेन्टरको कर्मचारी हुँदै डीजे सुदनको रूपमा चम्किए । सन् २०१२ मा ओएमजी क्लब खोलेर थिम पार्टीको सुरुवात गरेका उनले ठमेलबाटै पैसा मात्र कमाएनन्, उच्च पदस्थसँग नेटवर्क पनि बढाए । यत्तिकैमा २०७२ सालको विनाशकारी भूकम्प गयो । सुदनलाई उद्धारमा खटिनुपर्ने भाव आयो । डा‍.सन्दुक रुइतसँगको सल्लाहमा हामी नेपाल नामक संस्था खोले र सहयोग गर्न थाले । 

कोभिड–१९ महामारीमा अक्सिजन र एम्बुलेन्स व्यवस्थापनमा उनले मिहिन हिसाबले काम गरे । यद्यपि, उक्त समयमा प्राप्त सहयोग अपारदर्शी भएको आरोप छ । तर, सामान्य परिवारको व्यक्तिको निरन्तर सङ्घर्षले सत्तारोहण समेत गराउँछ भन्ने उदाहरण हुन्, सुदन । सुदनसँग जोडिएको अर्को आरोप छ, ‘फ्री तिब्बतसँगको हिमचिम ।’ यद्यपि उनले यसलाई पटक पटक चिर्ने प्रयास गरिसकेका छन् । यसबारे प्रश्न आएपछि सुदन भन्ने गर्छन्, ‘गुरुङ, लामा जस्ता थर आएपछि शङ्काको दृष्टिले हेर्ने चलन नेपालमा छ । यो गलत हो ।’ 

जे होस्, लामो समय क्लबमा म्युजिकको ट्र्याक फेर्ने डीजे सुदनले आज देशकै राजनीतिक ट्र्याक फेरिदिएका छन् । उनकै अगुवाइमा भएको आन्दोलन पश्चात् सरकार परिवर्तन भयो, देशभर नयाँ चुनावको घोषणा भयो र आन्दोलन अघिसम्म सरकारमा रहेका कुनै पनि दल आउँदो ५ वर्ष सरकारमा फर्किन नसक्ने गरी चुनावी नतिजा निस्कियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप