रोकिएका फिल्म धमाधम फ्लोरमा
सारांश
- अभिनेत्री रेखा थापाले फिल्म 'माया भनेकै यस्तो होला'को निर्देशन सुरु गरेकी छन्, जसमा उनी निर्देशक मात्र छिन्।
- निर्वाचनका कारण रोकिएका फिल्महरूले छायाङ्कन पुनः सुरु गरेका छन्, जसमा 'कमला मिस', 'कार्की साइँला' र 'कस्तुरी' लगायतका फिल्महरू छन्।
- निर्वाचनका कारण केही फिल्मको सुटिङ रोकिए पनि अहिले धमाधम सुटिङ सुरु भएको छ, र केही फिल्मको सुटिङ केही दिनमा सुरु हुँदैछ।
काठमाडौँ । अभिनेत्री रेखा थापा यतिबेला फिल्म ‘माया भनेकै यस्तो होला’को निर्देशनमा व्यस्त छिन् । करिब आठ वर्षपछि निर्देशनमा फर्किएकी उनले सोमबार काठमाडौँको शिवपुरीस्थित रोयल ट्युलिप नेसनल पार्कबाट फिल्मको छायाङ्कन सुरु गरेकी हुन् ।
महाशिवरात्रिको अवसर पारेर घोषणा गरिएको यो फिल्म फागुन १० गतेबाट छायाङ्कनमा जाने तालिका थियो, तर बिचमा निर्वाचन परेकाले उनले कार्यतालिका परिवर्तन गरेकी थिइन् । केही दिन छायाङ्कन गरेर फेरि चुनावका लागि रोक्नुभन्दा तालिका नै २५ गतेपछि बनाएको रेखाले बताइन् ।
रेखा यसपटक पर्दा अगाडि देखिने छैनन् । उनी केवल निर्देशनमा केन्द्रित छिन् । ‘यो फिल्ममा म निर्देशकमात्र हुँ,’ रेखाले भनिन् ।
रेखाको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्वमिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहका साथै लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, सङ्गम भण्डारी, सुजाता श्रेष्ठ र विनोद पौडेल लगायतका कलाकार अभिनय गर्दैछन् ।
मुलुकमा निर्वाचनका कारण स्वेच्छाले रोकिएका फिल्महरू धमाधम ‘एक्सन–कट’ मा फर्कन थालेका छन् । कलाकार, प्राविधिक र निर्देशकलगायत मतदानका लागि आ–आफ्नो गृहजिल्ला जानुपर्ने भएपछि धेरै फिल्मको काम रोकिएको थियो ।
नेपाली चलचित्र क्षेत्रका ‘भीष्म पितामह’ मानिने वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहको निर्देशन रहेको फिल्म ‘कमला मिस’ को छायाङ्कन मंगलबार सकिएको छ । केही दिनको काम बाँकी रहेकै अवस्थामा निर्वाचनका कारण १८ गतेबाट रोकिएको सुटिङ निर्वाचन सकिएको भोलिपल्टै (२२ गते) देखि सुरु गरिएको थियो ।
शाह यसै फिल्ममार्फत करिब एक दशकपछि निर्देशनमा फर्किएका हुन् । फिल्मका लाइन प्रोड्युसर पुस्कर लामा (प्रेम भोम्जन) ले युनिटका धेरै सदस्य भोट हाल्न टाढा जानु नपरेका कारण २२ गतेबाटै सुटिङ सुरु गर्न सफल भएको बताउँछन् ।
‘काठमाडौँमै छायाङ्कन भएकाले निर्वाचनले धेरै समस्या भएन’, लामाले भने, ‘केही दिन रोकिए पनि २३ दिनमै छायाङ्कन सकियो ।’
निर्वाचनका कारण तीन दिन रोकिएको फिल्मको सुटिङ खर्चमा खासै असर नपरेको लामाको भनाइ छ । मनोवैज्ञानिक कथावस्तुमा आधारित ‘कमला मिस’मा निर्देशक शाहसहित रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडा मुख्य भूमिकामा छन् । विजय मल्लको कथा रहेको यस फिल्मका पटकथा तथा संवाद नीर शाह र प्रजल दुलालले तयार पारेका हुन् ।
त्यस्तै, फिल्म ‘कार्की साइँला’को छायाङ्कन पनि २४ गतेबाट पुनः सुरु भएको छ । धनकुटाको सहिदभूमि गाउँपालिकामा छायाङ्कनरत फिल्म निर्वाचनका कारण १९ गतेबाट रोकिएको थियो । हास्य विधाबाट पहिचान बनाएका जितु नेपालको फिल्मको मुख्य भूमिकामा छन् । फिल्मको सुटिङ २२ गतेबाटै सुरु हुने तयारी थियो । एक प्राविधिकको निधनका कारण दुई दिन ढिलो छायाङ्कन सुरु भएको अभिनेता नेपालले बताए ।
‘निर्वाचनका कारण रोक्नु नपरेको भए अहिलेसम्म सुटिङ सकिन्थ्यो होला,’ जितुले भने, ‘अब केही दिनमा सकिन्छ ।’
यो फिल्म सकेर अर्को फिल्म ‘पाँच पाण्डव’ सुरु गर्न आफू आतुर रहेको उनले सुनाए ।
निर्वाचनले सुटिङको बिचमा आउने–जाने गर्दा हवाई टिकट र अन्य व्यवस्थापनमा खर्च बढे पनि मतदान गर्न पाएकोमा टिमका सबै सदस्य खुसी रहेको जितु सुनाउँछन् ।
राजेन्द्र बस्नेतको निर्देशनमा बनिरहेको यस फिल्ममा जितुका अलावा प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, डिप्सन लिम्बू, रोदा राई, कमल देवकोटा लगायतका कलाकार मुख्य भूमिकामा छन् ।
एक्सन स्टार निखिल उप्रेती, वर्षा सिवाकोटी र निशा अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘कस्तुरी’को छायाङ्कन पनि सुरु भइसकेको छ । काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भैरहेको फिल्म चुनावका लागि १९ गतेबाट रोकिएको थियो ।
२३ गतेबाट सुटिङ सुरु भएको जानकारी अभिनेत्री निशा अधिकारीले सामाजिक सञ्जालमार्फत दिएकी हुन् । ‘गतिशील लोकतान्त्रिक पार्टी’बाट चुनाव लडेकी निशाले अपेक्षा अनुसार नतिजा प्राप्त नगरे पनि हार–जितलाई बिर्सिएर काममा फर्किएको बताएकी छन् । उनले आफूलाई चुनावसम्म पर्खने टिमलाई धन्यवादसमेत दिएकी छन् । ऋत बोहोरा निर्देशित यो फिल्म रहस्य र अपराधको कथामा आधारित छ ।
यसैगरी, रियालिटी शो ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलको फिल्म ‘भटभटे’को छायाङ्कन पनि धनुषामा २४ गतेबाट सुरु भएको छ । नयनराज पाण्डेको कथामा मोटरसाइकललाई केन्द्रमा राखेर बुनिएको यो फिल्मको ५० प्रतिशत काम बाँकी छँदै चुनावका कारण रोकिएको थियो । निर्वाचनले गर्दा निर्मातालाई केही आर्थिक क्षति पुगेको निर्देशक पौडेलको भनाइ छ ।
‘मतदान गर्ने अधिकारबाट कसैलाई वञ्चित गर्नु हुँदैन भन्ने मान्यताले सुटिङ रोकेका थियौँ,’ उनले भने । यस फिल्ममा अञ्जना बराइली, सविन कार्की, रवीन्द्र झा र प्रमोद अग्रहरी मुख्य भूमिकामा छन् ।
निर्देशक गणेशदेव पाण्डेको फिल्म ‘पारि बुटवल’को सुटिङ पनि केही दिनमा सुरु हुँदैछ । अनुप बराल र दीया मास्के जस्ता दिग्गज कलाकारको अभिनय रहेको यस फिल्मको ९० प्रतिशत काम सकिएको छ ।
‘चुनावका कारण रोकिएको बाँकी छायाङ्कन केही दिनमा सुरु गर्ने योजनामा छौँ,’ पाण्डेले भने । निर्वाचनले बजेट बढाएको र कार्यतालिका बिथोले पनि देशमा परिवर्तनको आशासहित निर्वाचनलाई प्राथमिकता दिएको उनले बताए ।
यसैबिच फिल्म ‘मुक्तिपुर’को छायाङ्कन मंगलबारदेखि सुरु भएको छ । काठमाडौँको वसुन्धरास्थित इन्द्रायणी मन्दिरमा शुभमुहूर्त गर्दै छायाङ्कन थालिएको हो । सुनील पाण्डेको निर्देशनमा बन्ने यस फिल्ममा नाजिर हुसेन, गौरव पहारी, प्रकाश शाह र एवनराज उप्रेतीको अभिनय रहने छ भने आकृति बुढाथोकीले डेब्यु गर्दैछिन् । क्राइम–रिभेन्ज जनराको यो फिल्म निर्वाचनकै कारण केही ढिलो गरी सुरु गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण