राहदानी विभागले भन्यो– अन्तरिम अवधिमा सेवा प्रभावित हुन सक्छ
सारांश
- राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।
- नयाँ प्रणालीमा रूपान्तरण गर्दा राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुनसक्ने सम्भावना छ।
- विभागले ६ महिनाभित्र राहदानी आवश्यक पर्नेलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सेवा लिन आग्रह गरेको छ।
काठमाडौँ । राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । विभागले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ राहदानी प्रणाली, राहदानी पुस्तिका तथा आवश्यक पूर्वतयारी पूरा गरिसकेको जानकारी दिएको छ ।
विभागका अनुसार हाल सञ्चालनमा रहेको प्रणालीलाई आगामी एक–दुई महिनाभित्र नयाँ प्रणालीमा रूपान्तरण गरिनेछ। यस क्रममा प्रणाली स्थिरीकरण नभएसम्म अन्तरिम अवस्थाका कारण केही समयका लागि राहदानी सेवा प्रभावित हुन सक्ने सम्भावना रहेको बताइएको छ ।
बिहीबार जारी गरिएकाे सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुन सक्नेछ। त्यस्तै, राहदानी विभागबाट प्रदान गरिने सेवा करिब एक हप्तासम्म बन्द हुन सक्ने जनाइएको छ ।
नयाँ प्रणाली कार्यान्वयनपछि पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिना लाग्न सक्ने भएकाले उक्त अवधिमा जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भएर जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने विभागले जनाएको छ ।
यस परिस्थितिलाई मध्यनजर गर्दै आगामी ६ महिनाभित्र (२०८३ असोजभित्र) राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनु अघि नै सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन विभागले आग्रह गरेको छ ।
नयाँ प्रणाली लागू हुने मिति तथा अन्तरिम अवधिमा अपनाइने व्यवस्थाबारे थप जानकारी अर्को सूचना मार्फत सार्वजनिक गरिने राहदानी विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण