शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरामा थपिँदै अर्को बन्जी, ३० करोड लागतमा नयाँ गन्तव्य बन्दै

शुक्रबार, २९ फागुन २०८२, ०९ : ४५
शुक्रबार, २९ फागुन २०८२

सारांश

  • पोखरामा साहसिक पर्यटनलाई लक्षित गरी नयाँ बन्जी र एड्भेन्चर पार्क बन्ने भएको छ।
  • पार्कमा बन्जी जम्प, रक क्लाइम्बिङ, पुलमा साइक्लिङ लगायतका गतिविधिहरू हुनेछन्।
  • यो परियोजनामा गैर आवासीय नेपालीहरुको लगानी रहनेछ र धार्मिक पर्यटनलाई पनि जोड दिइनेछ।

पोखरा । पर्यटकीय राजधानी पोखरामा नयाँ बन्जी थप हुने भएको छ । साहसिक पर्यटकलाई लक्षित गरी नयाँ गन्तव्यस्थल निर्माण गर्न लागिएको हो । 

पोखरा १७ रातो पहिरा र पोखरा १५ अमिनतरा क्षेत्रलाई समेटेर नयाँ गन्तव्य निर्माण गर्न लागिएको हो । बन्जी जम्पसहित बृहत् एड्भेन्चर पार्क निर्माण गर्न लागिएको डाइरेक्टर गोपाल गुरुङले जानकारी दिए ।

उनका अनुसार करिब ३० करोड लागतमा एड्भेन्चर पार्क निर्माण गर्न लागिएको हो । यसमा साहसिक पर्यटनका धेरै गतिविधिहरू एउटै प्याकेजमा समेट्ने बताइएको छ । गुरुङका अनुसार यो ठाउँलाई बच्चादेखि वृद्धसम्म सबै उमेर समूहले रमाइलो गर्न सक्ने पूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न लागिएको हो ।

‘हामीले साहसिक पर्यटनमा केही नयाँपन दिने उद्देश्य राखेका छौँ । रक क्लाइम्बिङ, पुलमा साइक्लिङ, बन्जी र स्विङ बन्जी जस्ता रोमाञ्चक खेलहरू हुनेछन्,’ उनले भने, ‘बच्चादेखि वृद्धसम्मलाई के–कस्तो मनोरञ्जन दिन सकिन्छ भन्ने लामो अध्ययनपछि हामी यो कन्सेप्टमा पुगेका हौँ ।’ परियोजनाभित्रै प्राकृतिक चट्टानमा रक क्लाइम्बिङ हुनेछ ।

‘लिफ्टबाट झरेर रक क्लाइम्बिङको व्यवस्था गर्नेछौँ । सेती नदी किनारमा पारिवारिक पिकनिक स्पटको रूपमा विकास गरिनेछ,’ अघि भने, ‘त्यसबाहेक सिसाको ह्यांगिङ ब्रिज, सिसाकै ह्यांगिङ रेस्टुरेन्ट र क्रेन रेस्टुरेन्ट पनि निर्माण गर्ने योजना छ ।’ परियोजनामा हुने लगानी विदेशमा रहेका गैर आवासीय नेपालीहरूबाट जुटाउने उनले जानकारी दिए । रकम सङ्कलनको मोडालिटी तयार भैसकेको उनले सुनाए ।

यसलाई साहसिकसँगै धार्मिक पर्यटनको पनि विकास गर्न लागिएको छ । करिब २६ रोपनी जग्गामा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कन) को मन्दिर निर्माणको तयारी भइरहेको छ । 

‘सुरुमा हाम्रो समूहले यस क्षेत्रलाई विशुद्ध धार्मिक टुरिजम स्पट बनाउने सोचेका थियौँ । इस्कनका लागि हामीले जग्गा पनि उपलब्ध गराइसक्यौँ, जहाँ जलको फोहोरासहित ३१ फिट अग्लो शेषनागमाथिको श्रीकृष्णको विशाल मूर्ति निर्माण हुँदैछ,’ गुरुङ भन्छन्, ‘पछि विज्ञ र लगानीकर्ताहरूसँगको सल्लाहपछि धार्मिक पर्यटनसँगै साहसिक पर्यटनलाई पनि जोड्दा अझ उत्कृष्ट हुने निष्कर्षमा पुगेर यो बृहत् योजना अघि सारिएको हो ।’

परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम भइरहेको र आवश्यक कानुनी प्रक्रिया तथा मापदण्ड पूरा गरेर छिट्टै संरचना निर्माणको काम सुरु गरिने कम्पनीले जनाएको छ । नयाँ बन्जी र एड्भेन्चर पार्क बनेसँगै पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ लम्ब्याउन थप मद्दत पुग्ने विश्वास लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप