बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रिलिज अगावै ‘धुरन्धर २’ को करोडौँको कलेक्सन, बाहुबली र स्त्रीको रेकर्ड ध्वस्त

आइतबार, ०१ चैत २०८२, १० : २४
आइतबार, ०१ चैत २०८२

मुम्बई । बलिउड अभिनेता रणवीर सिंह र निर्देशक आदित्य धरको बहुप्रतिक्षित फिल्म ‘धुरन्धर: द रिभेन्ज’ (धुरन्धर २) ले औपचारिक रिलिज हुनुभन्दा अगाडि नै बक्स अफिसमा सुनामी ल्याएको छ। मार्च १९ मा प्रदर्शनमा आउन लागेको यस फिल्मले मार्च १८ का लागि राखिएका ‘पेड प्रिभ्यू’ शोहरूबाटै कीर्तिमानी आम्दानी गरेर भारतीय चलचित्र इतिहासमा नयाँ मानक स्थापित गरेको हो।

पेड प्रिभ्युमा ‘बाहुबली २’ र ‘स्त्री २’ लाई उछिन्यो

फिल्मले रिलिज हुनुअघि नै पेड प्रिभ्युमार्फत भारतमा मात्रै २७.१३ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। यो कलेक्सन हालैको ब्लकबस्टर फिल्म ‘स्त्री २’ को ८.५ करोडको तुलनामा झण्डै तीन गुणा बढी हो।

यसका साथै धुरन्धर २ ले ‘दे कल हिम ओजी’ र ‘बाहुबली २’ जस्ता ठूला फिल्मको प्रिभ्यु रेकर्डलाई पनि पछि पारेको छ। यदि ब्लक गरिएका टिकटहरूलाई समेत जोड्ने हो भने भारतमा रिलिज अगावैको कमाइ ३१.९ करोड रुपैयाँ पुग्ने देखिएको छ।

टिकटको मूल्य ३१०० सम्म, विश्वभर ६० करोडको व्यापार

प्रशंसकहरूमा फिल्मको क्रेज यति धेरै छ कि मुम्बईमा एउटा टिकटको मूल्य ३१०० रुपैयाँ र दिल्लीमा २४०० रुपैयाँसम्म पुगेको छ। देशभर आयोजना गरिएका ९५५० पेड प्रिभ्यु शोका लागि ५.३८ लाखभन्दा बढी टिकट बिक्री भइसकेका छन्।

अन्तर्राष्ट्रिय बजारमा पनि फिल्मको माग उच्च छ। अमेरिका र क्यानडामा मात्रै १२.१२ करोडको व्यापार भइसकेको छ भने विश्वभरको पेड प्रिभ्यु कलेक्सन हेर्दा यो ६० करोडको नजिक पुगेको छ।

पहिलो दिनमै २०० करोडको आँकलन

फिल्म विश्लेषक तरण आदर्शका अनुसार यो फिल्मले हिन्दी चलचित्र इतिहासकै नयाँ बेन्चमार्क खडा गर्दैछ। रिलिजको पहिलो दिन मार्च १९ मा धुरन्धर २ ले विश्वभरबाट २०० करोड रुपैयाँभन्दा बढीको ओपनिङ गर्ने अनुमान गरिएको छ।

आदित्य धरको लेखन र निर्देशनमा बनेको यस फिल्ममा रणवीर सिंहका साथै सञ्जय दत्त, आर. माधवन र अर्जुन रामपाल जस्ता दिग्गज कलाकारहरूको अभिनय रहेको छ। फिल्मलाई हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा रिलिज गरिँदैछ।

यसअघि रिलिज भएको ‘धुरन्धर’ को पहिलो भागले विश्वभर १३०३ करोड रुपैयाँ कमाएर तहल्का मच्चाएको थियो। भारतमा मात्रै ८३६.९५ करोड नेट कलेक्सन गरेर यो सबैभन्दा धेरै कमाउने हिन्दी सिंगल–ल्याङ्ग्वेज फिल्म बनेको थियो। साथै, यो भारतीय सिनेमाकै सबैभन्दा सफल ‘ए’ रेटेड फिल्म समेत हो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप