बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अदालत

महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश

आइतबार, ०१ चैत २०८२, १५ : ०८
आइतबार, ०१ चैत २०८२

सारांश

  • सर्वोच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ।
  • अधिवक्ता लबन न्यौपानेले बस्नेतविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका थिए।
  • बस्नेतले न्यायाधीशहरूलाई लक्षित गरी विवादास्पद अभिव्यक्ति दिएको आरोप छ।

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको हो ।

अधिवक्ता लबन न्यौपानेले बस्नेतविरुद्ध गत बुधवार सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेका हुन् । सर्वोच्च अदालतका न्यायाधीशलाई लक्षित गर्दै अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा केन्द्रित रहेर अभिव्यक्ति दिएको भन्दै अदालतको अवहेलना मुद्दा दायर भएको थियो ।

प्रेस चौतारी नेपालले माघ ११ गते गरेको कार्यक्रममा बस्नेतले ‘प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरू लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायिक प्रक्रिया आतङ्कित भएर, डराएर अथवा लोभ प्रलोभनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने, न्याय नदिने, दबाबमा पर्ने, भोलि महाअभियोग आउला भन्ने अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिको सामु डराउने, प्रधानन्यायाधीश लगायतका न्यायाधीशज्यूहरू फोन अफ गर्ने, पन्छिने’ भनी अभिव्यक्ति दिएको रिट निवेदनमा उल्लेख छ ।

साथै बस्नेतले ‘हामी वैदेशिक आक्रमणमा छौँ र हाम्रो सर्वोच्च अदालत, उच्च र जिल्ला अदालतहरू मात्र जलेका होइनन्, हाम्रो न्याय प्रणाली नै जलेको छ भन्ने कुरा यसबाट अनुभूति हुन्छ’ भन्दै अदालतप्रति सार्वजनिक रूपमा हुर्मत लिने काम गरेको ब्यहोरा पनि रिट निवेदनमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप