शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्यार्थीको ठट्टाले गयो शिक्षकको ज्यान

सोमबार, ०२ चैत २०८२, १२ : ३३
सोमबार, ०२ चैत २०८२

सारांश

  • अमेरिकाको जर्जियामा विद्यार्थीको ठट्टाको क्रममा एक शिक्षकको कारले किचेर मृत्यु भएको छ।
  • प्रहरीका अनुसार, शिक्षक ह्युजेज विद्यार्थीहरूलाई समात्न जाँदा चिप्लिएर लडेपछि दुर्घटना भएको थियो।
  • १८ वर्षीय विद्यार्थी वालसविरुद्ध सवारी साधनबाट हत्याको आरोप लगाइएको छ, र परिवारले कारबाही नगर्न आग्रह गरेको छ।

वासिङ्टन डिसी । अमेरिकाको जर्जिया राज्यमा विद्यार्थीहरूले गरेको एउटा ठट्टा दुःखद दुर्घटनामा परिणत हुँदा एक जना शिक्षकको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार विद्यार्थीहरूले ‘ट्वाइलेट पेपर प्र्याङ्क’ गर्ने क्रममा ४० वर्षीय शिक्षक जासोन ह्यूजेजको कारले किचिएर मृत्यु भएको हो । 

घटना शिक्षक ह्युजेजको घरबाहिर भएको बताइएको छ । प्रहरीका अनुसार केही विद्यार्थीहरूले रमाइलोका लागि रूख र घरवरिपरि ट्वाइलेट पेपर फ्याँकेर ठट्टा गरिरहेका थिए ।

ह्युजेज विद्यार्थीहरूलाई रंगेहात समात्ने उद्देश्यले घरबाट बाहिर निस्किएका थिए । तर बाहिर निस्कँदा वर्षाका कारण भिजेर चिप्लो भएको जमिनमा उनी अचानक लड्न पुगे । त्यही बेला घटनास्थलबाट हतारिँदै भाग्न खोजिरहेका विद्यार्थीका दुईवटा कारमध्ये एकले अनायासै उनलाई किचेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कार चलाइरहेका १८ वर्षीय विद्यार्थी जेडेन र्यान वालस विरुद्ध ‘भेहिकुलर होमिसाइड’ अर्थात् सवारी साधनमार्फत हत्याको आरोप लगाइएको छ । वालस र घटनामा संलग्न अन्य चार जना १८ वर्षीय युवामाथि निजी सम्पत्तिमा अनधिकृत प्रवेश र फोहोर फ्याँकेको आरोपसमेत दर्ता गरिएको छ ।

शेरिफ कार्यालयका अनुसार दुर्घटनापछि वालस र अन्य दुई विद्यार्थी लेघटनास्थलमै रोकिएर शिक्षकलाई सहयोग गर्ने प्रयास गरेका थिए । त्यसपछि आपत्कालीन सेवाका टोलीहरू घटनास्थलमा पुगेर गम्भीर घाइते ह्युजेजलाई अस्पताल पुर्‍याए । तर उपचारका क्रममा उनको मृत्यु भएको पुष्टि गरिएको छ । 

यस घटनापछि शिक्षकका परिवारले भने विद्यार्थीविरुद्ध कडा कारबाही नहोस् भन्ने आग्रह गरेका छन् । ह्युजेजकी पत्नी लाउरा ह्युजेजले आफ्नो पति विद्यार्थीहरूबिच अत्यन्त लोकप्रिय र प्रिय शिक्षक रहेको बताएकी छिन् । लाउरा पनि सोही विद्यालयकी शिक्षिका हुन् ।

ह्युजेजलाई उक्त प्र्याङकबारे पहिल्यै थाहा भएको र उनी विद्यार्थीहरूलाई रंगेहात समात्न उत्साहित भएर पर्खिरहेको लाउराले बताएकी छिन् । परिवारका अनुसार यो घटना जानाजान गरिएको होइन, बरु दुर्भाग्यपूर्ण दुर्घटना हो । त्यसैले जासोन ह्यूजेजको परिवारले विद्यार्थीमाथि लगाइएको ‘भेहिकुलर होमिसाइड’को आरोप हटाउन आग्रह गरेको छ । 

स्थानीय समुदाय र विद्यालयमा पनि यस घटनाले गहिरो शोक छाएको बताइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप