शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
इरान युद्ध

एक जनाको फाइदाका लागि लडिएको युद्ध

मङ्गलबार, ०३ चैत २०८२, १२ : ००
मङ्गलबार, ०३ चैत २०८२

सारांश

  • इजरायली प्रधानमन्त्री नेतान्याहुले इरानसँगको द्वन्द्वलाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरिरहेका छन्।
  • नेतान्याहुले चुनाव जित्न र कूटनीतिलाई ओझेलमा पार्न यो युद्धलाई उपयोग गरिरहेका छन्।
  • इजरायलले युद्ध जारी राख्दा अमेरिका र अन्तर्राष्ट्रिय समुदायमा आफ्नो समर्थन गुमाउन सक्ने सम्भावना छ।

बेन्जामिन नेतान्याहुले आफ्नो राजनीतिक जीवनको अधिकांश समय इरानसँगको युद्धलाई अपरिहार्य सिद्ध गरेर मात्रै बिताएनन्, अधुरो कामका रूपमा समेत प्रस्तुत गरिरहे । यसरी एउटा इजरायली प्रधानमन्त्रीको रूपमा नेतान्याहुका लागि इरानसँगको पछिल्लो द्वन्द्व सुरु हुनु नै आफैँमा विजयको सुरुवात हो ।

त्यसो हुनाले युद्धका हरेक परिणाम इजरायलको हितमै हुन्छ भन्ने पक्कै होइन । तर जारी युद्ध देखाएर उनी आफ्ना सम्पूर्ण गतिविधि उचित सिद्ध गर्न चाहन्छन् । उनलाई इरानसँग जुध्नु नै थियो भन्ने देखाउनु छ । एक दिन जुध्नैपर्ने शक्तिको रूपमा इरानलाई देखाउँदै विलम्ब गर्दै जाँदा इरान अझ भयानक र चुनौतीपूर्ण बन्दै जाने सिद्ध गर्नु छ ।

नेतान्याहुलाई प्रस्ट जित पनि चाहिएको छैन । उनलाई केवल उपयोगी भाष्य बनाउन पाए पुग्छ । इजरायली मतदाताहरू यो वर्ष निर्वाचनमा सहभागी हुँदै छन् । यो युद्ध ती मतदाताहरूको ध्यान भड्काउनमा मात्रै पनि लक्षित छैन । आउने दिनमा कूटनीतिलाई ओझेलमा पार्ने खालको इजरायली राष्ट्रिय सुरक्षा सिद्धान्तलाई थप सघन रूपमा स्थापित गर्नु छ ।

उनी इजरायलीहरू अक्टोबर–७ को घटनाभन्दा तेहरानबारे कुरा गरुन् भन्ने चाहन्छन् । इजरायलीहरूले उनको राजनीतिक उत्तरदायित्वको प्रश्न छोडेर अस्तित्वमै सङ्कट ल्याउन सक्ने भनिएको शत्रुको चर्चा गरुन् भन्ने चाहन्छन् ।

गत अढाई वर्षदेखि निरन्तर आक्रमण र विनाश गर्दा पनि ज्युँकात्युँ रहेको हमास र समाधान हुनै नसकेको गाजा विनाशबारे प्रश्न नगरुन् भन्ने चाहन्छन् । इजरायली जनताले हिज्बुल्लाहसँग फेरि सुरु भएको द्वन्द्व र मेटिने कुनै छेकछन्द नभएको लेबनान सङ्कटबारे बहस नगरुन् भन्ने चाहन्छन् ।

इरानसँगको युद्धले ती असफलताहरू मेटाउनेवाला छैन । केवल तत्कालका लागि पृष्ठभूमिमा धकेल्ने काम मात्रै गर्छ । राजनीतिक संवादलाई नेतान्याहुले खोजेजस्तै भावनात्मक एवं राजनीतिक अवस्थामा पुर्‍याइदिन्छ ।

मानिसमा त्रासको भावना पैदा गर्ने तथा त्यसबाट मुक्त गराउनका लागि इरानसँग साँच्चिकै जुध्न सक्ने आफू मात्रै भएको देखाउने उनको रवैयालाई सघाउँछ । सोही अवस्थामा उनी बल प्रयोगमार्फत इजरायली जनताको चुनौतीलाई हटाएरै छोड्ने प्रतिज्ञा गर्न पछि हट्दैनन् ।

यी तमाम कारणले गर्दा हरेक दिन मध्यपूर्वको परिदृश्य नेतान्याहुका लागि जित बनिरहेको छ । यदि इरान सैन्य शक्तिको दबाबसामु झुकेको खण्डमा नेतान्याहु कूटनीति असफल भएको अवस्थामा आफूले शक्तिको प्रयोगबाट सफलता हात पारेको भन्नेछन् । इरान झुक्न तयार नहुने तर उसको सैन्य क्षमता कमजोर हुने अवस्थामा पनि नेतान्याहुको ठूलै दाबी हुनेछ ।

उनी इरानको आणविक तथा क्षेप्यास्त्र क्षमता उल्लेख्य रूपमा घटाउन समयमै सफल भएको दाबी गर्न सक्छन् । इरान सरकार टिक्ने अवस्था हुने तर ठूलो रक्तपात, चौतर्फी घेराबन्दी र आन्तरिक तनावमा पुगेको अवस्थामा उनी सम्झाउनै नसकिने दुश्मनलाई ठेगान लगाएको दाबी गर्छन् ।

इरानमा अन्योल र रक्तपात थप चर्किँदै जाँदा पनि जेरुसेलममा त्यसलाई रोक्न सकिने दुःखद रूपमा लिइने छैन । बरु उल्टै टाढैबाट भए पनि सुल्झाउनुपर्ने समस्याकै रूपमा प्रस्तुत गरिनेछ । नेतान्याहुका लागि थप सशक्त इरानी शासन पनि घातक हुँदैन । उनी त्यो अवस्थालाई पनि थप लडाइँ–झगडाको आवश्यकता सिद्ध गर्ने भाष्यमै जोड्नेछन् ।

मानौँ इरान रणनीतिक रूपमा युद्ध लम्ब्याउँदै जाने सोचका साथ अनवरत रूपमा इजरायलमा क्षेप्यास्त्र प्रहार गर्दै गयो । त्यस्तो अवस्थामा पनि नेतान्याहु इजरायलीहरूलाई बङ्करमा लुक्नुपर्ने तथा विद्यालय जान नपाउने अवस्थालाई स्वाभाविक मूल्य चुकाएको अर्थमा लिनुपर्ने तर्क गर्नेछन् । र, दुःखद कुरा, अहिले चलिरहेको द्वन्द्वमा नेतान्याहुलाई ‘तिमी गलत छौ’ भन्न सक्ने कोही पनि शक्तिमा छैनन् ।

सन् २०१० र २०११ मा नेतान्याहु इरानको आणविक क्षेत्रमा हमला गर्न लाग्दा इजरायलका सुरक्षा प्रमुख तथा सरकारका उच्चस्तरीय सल्लाहकारहरूले रोकेका थिए । उनीहरूका अनुसार इजरायलको सेना अर्थात् ‘आइडीएफ’ त्यस्तो हमलाका लागि तयार थिएन । साथै हमलामा अघि बढ्दा त्यसबेलासम्म गुप्त अभियानहरूले हासिल गरेका सबै उपलब्धि गुम्न सक्छन् भनिएको थियो ।

१५ वर्षपछि आजका दिनमा इजरायलको सेना वा सरकारमा कुनै सशक्त फरक मत छैन । नेतान्याहु आफ्ना चाटुकार तथा विचारधारात्मक रूपमा आफूसँग सहमत हुनेहरूबाट घेरिएका छन् । उता अमेरिकामा अहिले झट्काबाट खुसी हुने राष्ट्रपति छन् । अहिले नेतान्याहुले चाहेजस्तै अवस्था छ अर्थात् अमेरिकाको नेतृत्वमा इजरायल–अमेरिका संयुक्त सैन्य अभियान चलिरहेको छ । अझ अभियानको सुरुवात आयतोल्लाह अली खमेनीको हत्याबाट भएको छ ।

गत वर्षको जुन महिनामा इजरायलले सुरु गरेको युद्धले अहिलेको अवस्थाका लागि आधार तयार गर्न सघायो । इजरायलको सुरुवाती कारबाही तथा खुफिया एवं सैन्य सफलताले गर्दा ट्रम्पलाई थप हौस्यायो । उनी इजरायलसँग मिलेर इरानको आणविक केन्द्रमा ‘बङ्कर बस्टर’द्वारा सशक्त आक्रमण गर्न तयार भए । आठ महिनापछि अहिले ट्रम्प फेरि युद्धमा तानिएका छन् । नेतान्याहु अहिले नै ट्रम्पले युद्ध अधुरै छोडेर गएको हेर्न चाहँदैनन् ।

फेब्रुअरी २८ मा अहिलेको युद्ध सुरु गर्नुअघि नेतान्याहुले अमेरिकी राष्ट्रपतिसँग दुई पटक भेट गरे । फेब्रुअरीमै पनि इजरायलका सेना प्रमुख गोप्य रूपमा वासिङ्टन पुगेका थिए । ट्रम्पको निजी निवास ‘मार–आ–लागो’मा नेतान्याहुले इरानका ब्यालेस्टिक क्षेप्यास्त्रहरू इजरायलका लागि मात्रै नभएर खाडी क्षेत्रमा रहेका अमेरिकी अखडा एवं सहयोगीहरूका लागि पनि खतरा बनिसकेको बताएका थिए ।

जनवरीमा इरानमा विरोध प्रदर्शनहरू भए । त्यसलगत्तै नेतान्याहुले युद्धको वातावरण तय गरेको देखिन्छ । उनले त्यसका लागि वार्ता र संवादलाई आणविक सम्झौताबाट हटाएर ब्यालेस्टिक क्षेप्यास्त्र तथा व्यवस्था परिवर्तनमा जोड दिन थाले ।

उता वासिङ्टनमा इरानमा स्पष्ट जितको रहर बढ्दै गएको थियो । उनीहरूमा इरानको नेतृत्वको हत्या गर्ने, आफूले चाहेको नेता स्थापित गर्ने र आफ्नो इच्छा मुताबिक चल्ने राज्य कायम गर्ने सोच हाबी छ । तर कथित भेनेजुएला मोडल इरानका लागि भरपर्दो तरिका हुँदैन । इरान धेरै ठूलो देश हो । त्यहाँको शासनले गहिरो गरी जरा गाडेको छ । साथै गहन रूपमा विचारधारात्मक पनि छ ।

इजरायलका लागि अहिलेको युद्धका दीर्घकालीन असरहरू समान छैनन् । इजरायलमा दशकौँदेखि एउटा प्रमुख प्रश्नले घर गरिरहेको छ– मध्यपूर्वमा सैन्य प्रभुत्वलाई दिगो एवं दीर्घकालीन सुरक्षामा रूपान्तरण गर्न सम्भव छ कि छैन ? अहिले चलिरहेको युद्धले इजरायललाई सैन्य शक्तिको क्षेत्रमा कसैले चुनौती दिन नसक्ने अवस्थामा पुर्‍यायो भने पनि इजरायल राजनीतिक रूपमा भने अझै ठूलो घेराबन्दीमा हुनेछ ।

प्रभुत्वशाली शक्तिले केवल आफूलाई रक्षा मात्रै गर्दैन आफ्ना विरुद्धका असन्तुष्टि र आक्रोशलाई केन्द्रीकृत गर्दै पनि लैजान्छ । त्यस्तो असन्तुष्टिको जोखिम मध्यपूर्वमा मात्रै सीमित रहँदैन । धेरैजसो अमेरिकीहरू अहिलेको युद्धको पक्षमा छैनन् । युद्ध सुरु हुनुअघि नै अमेरिकी जनताको ठूलो हिस्सा नाटकीय रूपमा इजरायलविरुद्ध पुगेको छ ।

गत महिना ‘ग्यालप’ले गरेको सर्वेक्षणमा ४१ प्रतिशत अमेरिकीहरू इजरायलको तुलनामा प्यालेस्टाइनप्रति बेसी सहानुभूति राख्ने गरेको पाइएको छ । केवल ३६ प्रतिशतले मात्रै इजरायलप्रति सहानुभूति राखेको पाइयो । पछिल्ला वर्षहरूमा देखिएको यो उल्लेखनीय परिवर्तन हो । इजरायलको समर्थन तथा यहुदी राज्य निर्माणमा अमेरिकी सैन्य सहयोगमा पनि ठूलो क्षयीकरण हुँदै गएको छ ।

यदि जारी युद्धमा इरानमा ठूलो नागरिक हताहती हुने वा अमेरिकाका लागि सैन्य एवं वित्तीय क्षति हुने अवस्था आएमा इजरायल–अमेरिका सम्बन्ध झनै बिग्रिँदै जाने देखिन्छ । इजरायलविरुद्धको आक्रोश र आरोपको वातावरण यहुदी समुदाय र इजरायलको शक्तिविरुद्ध ठूलो मात्रामा षड्यन्त्रको कथा एवं ‘यहुदी विरोधी’ भाष्यमा बदलिन सक्छ ।

अमेरिकी सञ्चारमाध्यमहरूमा इजरायलले अमेरिकालाई युद्धमा धकेलेको भावका प्रश्नहरू आउँदै गर्दा त्यस्तो चासो झनै बढेको छ । अमेरिकी उच्च अधिकारीहरूले पनि इरान युद्धमा इजरायलको चाहनातर्फ इङ्गित गर्ने गरेका छन् ।

अर्को खतरा पनि छ । दीर्घकालमा इरानी जनता मात्रै नभएर इजरायलीहरू पनि पीडित हुनेवाला छन् । युद्धका यस्ता परिणामबारे इजरायलका नेताहरू धेरै बोल्न चाहँदैनन् । इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले यसअघि नै तेहरानसँग जोडिएका आतङ्कवादी तत्त्वले विदेशमा रहेका इजरायली नागरिकहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिइसकेको छ ।

इजरायली दूतावासहरू तथा यहुदीहरू भेला हुने ठाउँहरूमा सुरक्षा बढाइएको छ । राज्यले त त्यस्ता रणनीतिक झट्काहरू पचाउन सक्छ । तर आम नागरिकहरू भने युद्धपश्चात् पनि रेल स्टेसनमा, गिर्जाघरमा, विमानस्थलमा तथा रेस्टुराँहरूमा अनेक प्रतिशोध र बदलाका घटनामा पर्न सक्छन् । त्यस्ता प्रकृतिका घटनाहरू गाजामा भएको आक्रमणपछि देखिन थालिसकेका छन् ।

यी तमाम समस्याका बाबजुद पनि नेतान्याहु र इजरायली राज्य संयन्त्रले सफलताकै दाबी गर्ने सम्भावना धेरै छ । खासमा अहिलेको चुरो समस्या पनि यही हो । उनीहरू यस्तो अवस्थाको राजनीति चलाउँदै छन् जहाँ जितको घोषणा गर्नलाई कुनै स्थायी शान्ति चाहिँदैन । इजरायलकै सुरक्षित भविष्य पनि चाहिँदैन । उनीहरूलाई बेलाबेला आफ्ना प्रतिद्वन्द्वीको क्षमता घटाउनका लागि गरिने आक्रमणहरू जारी राख्नु छ । जसलाई विश्लेषकहरू ‘घाँस काट्न जाने’ बिम्बका रूपमा पनि भन्छन् । इजरायली संस्थापनका कसैले पनि वैकल्पिक रणनीतिक दृष्टिकोण प्रस्ताव गर्दैनन् ।

अत्यधिक शक्ति प्रदर्शन गरिसकेपछि पनि इजरायलले एकपटक फेरि सुरक्षाका लागि सैन्य प्रभुत्वकै बाटो रोजिरहेको छ । दिगो क्षेत्रीय व्यवस्थाका लागि क्षणिक झडपहरूकै सहारा खोजिरहेको छ । यी तमाम गतिविधिका बाबजुद समस्या समाधानको कुनै छनक छैन । मध्यपूर्व निरन्तर जलिरहेको छ ।

(न्युयोर्क टाइम्सबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मेरभ जोनसेन
मेरभ जोनसेन
लेखकबाट थप