फिल्म कलाकारलाई चुनावको चटारो, रवीन्द्र, उत्तम र सविन अध्यक्षका आकांक्षी
सारांश
- चैत २८ मा नेपाल चलचित्र कलाकार संघको २०औं महाधिवेशन हुँदै, नयाँ नेतृत्व चयन हुनेछ।
- अध्यक्ष पदका लागि रवीन्द्र खड्का, सविन श्रेष्ठ र उत्तम केसीको नाम चर्चामा छ, र रवीन्द्र दोस्रो पटक आउन खोज्दै छन्।
- निर्वाचनमा युवा र पुरानो पुस्ताबीचको प्रतिस्पर्धा हुने देखिन्छ, जसमा नयाँ कार्यसमिति चयनका लागि बहस भइरहेको छ।
काठमाडौँ । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको परिणाम आएर सरकार निर्माणको गृहकार्य हुँदै गर्दा कला क्षेत्रमा अर्को चुनावी सरगर्मी बढेको छ । आगामी चैत २८ मा नेपाल चलचित्र कलाकार संघको २०औं महाधिवेशन हुँदैछ, जसबाट नयाँ नेतृत्व चयन हुनेछ ।
फिल्मको पर्दामा हिरो, हिरोइन, सहकलाकारदेखि भिलेनसम्मको पात्रमा देखिने सबै कलाकार यतिबेला संघका विभिन्न पदका लागि प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् । कोही सामाजिक सञ्जालमा आफू आउन चाहेको पदसहितको उम्मेदवारी घोषणा गर्दै अघि बढिरहेका छन् भने कोही भित्री रूपमा आफूले चाहेको पद मिलाउन तल्लीन छन् ।
वर्तमान अध्यक्ष मोहन निरौला नेतृत्वको कार्यसमितिले संघको नयाँ कार्यसमितिका लागि निर्वाचनको मिति घोषणा गरेसँगै ज्ञानेश्वर, पुतलीसडक, बागबजार र अनामनगरका चियापसलदेखि सामाजिक सञ्जालसम्म चुनावी बहसले प्राथमिकता पाएको छ । यस पटकको निर्वाचनमा स्पष्ट दुई धार देखिएका छन्, नेतृत्व परिवर्तनको पक्षमा रहेका युवापुस्ता र अनुभवलाई प्राथमिकता दिने पुरानो पुस्ता ।
चलचित्र कलाकार संघको निर्वाचनमा पनि भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रभाव पर्ने देखिन्छ । नयाँ सदनमा युवाहरूको बाहुल्यता देखिँदा कलाकार संघमा चाहिँ किन पुरानो पुस्ता भन्ने आवाज सुनिन थालेको छ ।
को-को छन् अध्यक्षको आकांक्षी ?
आजसम्मको अवस्था हेर्दा चलचित्र कलाकार संघको अध्यक्षमा तीन जना आकांक्षी अगाडि देखिएका छन्- रवीन्द्र खड्का, सविन श्रेष्ठ र उत्तम केसी । रवीन्द्र खड्का दोस्रो पटक अध्यक्ष बन्ने दाउमा छन् भने सविन र उत्तम पहिलो पटक अध्यक्ष बनेर नाम लेखाउन चाहन्छन् । महाधिवेशनको दिनसम्म यी आकांक्षीहरूबिच सहमति पनि हुनसक्ने वा अन्य आकांक्षी पनि थपिने उत्तिकै सम्भावना देखिन्छ ।
अध्यक्षको दौडमा रहेका सबैभन्दा पाका कलाकार रवीन्द्र संघका पूर्व अध्यक्ष पनि हुन् । श्रेष्ठ महासचिव र केसी गत महाधिवेशनमा महासचिवका प्रत्यासी थिए । केही दिनअघिसम्म वर्तमान अध्यक्ष मोहन निरौलाले नै एक कार्यकाल दोहोर्याउने चर्चा थियो । त्यस समयसम्म सबै चुपचाप नै थिए । तर निरौलाले आफू नदोहोरिने बताएसँगै रवीन्द्र अघि सरेको बताइन्छ ।
सविनले अघिल्लो महाधिवेशनमा पनि अध्यक्षमा तयारी गरेका थिए । तर अन्तिम समयमा निरौलालाई समर्थन गर्दै आफू महासचिवमा बसेका थिए । यसपटक भने उनी अध्यक्ष बन्ने अडानमा छन् ।
उत्तम यसअघि नै अध्यक्ष बन्नसक्ने भएपनि अहिले मात्र आउन लागेकाले सबैले आफूलाई सघाउनुपर्ने तर्क गर्छन् । ‘धेरैले मलाई सोधिरहनु भएको छ । के तपाईं अध्यक्षमा उठ्न लाग्नुभएको हो ? मेरो जवाफ स्पष्ट छ- म यसपालि अध्यक्ष पदकै लागि तयारी गर्दैछु’, उत्तमले भने ‘अध्यक्षमा चुनाव लड्ने मेरो बलियो आधार छ ।’ उनी बाहिर बजारमा आफूलाई मिलाउन खोजिएको हल्लामा कुनै सत्यता नभएको बताउँछन् ।
‘मलाई उपाध्यक्षमा उठ्नुस्, सबैले मान्छन् भनेर भनिरहेका छन् । तर मैले प्रश्न गरिरहेको छु, ‘म उपाध्यक्षमा उठेर आउने अध्यक्ष चाहिँ को त ? आउने मान्छे पनि त गतिलो हुनुपर्यो नि,’ म रवीन्द्र (रवीन्द्र खड्का) दाइलाई छोडेर उपाध्यक्षमा बस्न सक्दिनँ । उहाँ त दुईचोटि अध्यक्ष भइसक्नुभएको मान्छे, फेरि उहाँलाई नै किन चाहियो ?’ केसी प्रतिप्रश्न गर्छन् । उनी आफ्नो मुख्य एजेन्डा भनेकै संघलाई गति दिनु रहेको बताउँछन् ।
रवीन्द्र खड्का भने सुरूमा आफू अध्यक्षको आकांक्षी नभएको बताउँछन् । तर सबैलाई मिलाएर संघलाई एकजुट बनाउन आफ्नो आवश्यकता रहेको उनको जिकिर छ । ‘मैले यो संस्थाका लागि के गरिनँ ? दुनियाँसँग चन्दा मागेर, दुःख गरेर तीन वर्ष लगाएर संघको भवन बनाएँ । तर विडम्बना, भवन बनेको तीन वर्षसम्म त्यहाँ कोही टेक्न आएनन्’, खड्का भन्छन्, ‘मलाई यसपटक चुनावमा उठ्ने कुनै रहर थिएन । तर मोहन निरौला दाइ लगायत धेरै साथीहरूले यो अवस्थामा तपाईं नै चाहिन्छ, सबैलाई समेट्न र अन्तर्राष्ट्रिय स्तरमा समन्वय गर्न तपाईंको अनुभव काम लाग्छ भनेर आग्रह गर्नुभयो ।’ अहिले संस्थाभित्र रहेको गुटबन्दी अत्य गर्न पनि आफू अध्यक्षमा आएको खड्काको तर्क छ ।
सविन भने कलाकार संघले फड्को मार्न अब युवा नेतृत्व आउनुपर्ने बताउँछन् । ‘आफ्नो एजेन्डा र कलाकार संघका लागि कामको भिजन केही समयपछि सार्वजनिक गर्दैछु’, श्रेष्ठ भन्छन्, ‘कलाकार संघको कायपलटका लागि यस पटक कलाकारहरुको साथ मलाई चाहिन्छ ।’
त्यसो त कलाकार धर्मेन्द्र आचार्य पनि अध्यक्षको आकांक्षी भएको चर्चा छ । तर उनले सामाजिक सञ्जालमा स्टाटस लेख्ने बाहेक अन्य लबिङ गरेको देखिँदैन । समय अझै बाँकी भएकाले उनी पनि आउने सम्भावना उत्तिकै छ ।
अन्य पदमा को–को आकांक्षी ?
अध्यक्ष पदको तुलनामा अन्य पदका लागि अहिले त्यति आकांक्षी देखिएका छैनन् । यतिबेला महासचिवमा तीन आकांक्षी देखिएका छन् भने सचिवमा १ र कोषाध्यक्षमा १ जनाले आकांक्षा देखाएका छन् ।
महासचिवमा देखिएका तीन आकांक्षीमा वर्तमान सचिव रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनिल कटुवाल र कलाकार पनाह अधिकारी हुन् । सचिव पदमा भने अहिलेसम्म गोपाल ढकाल ‘छन्दे’ चर्चामा छन् । ढकालले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकाल आफू तल्लो पद हुँदै क्रमश: सचिवको यात्रामा रहेकाले कसैले अवरोध नगर्ने तर्क राख्छन् । कोषाध्यक्ष पदमा वर्तमान सहकोषाध्यक्ष पवित्रा आचार्य आउन सक्ने चर्चा छ ।
महाधिवेशन तयारी तीव्र : अध्यक्ष निरौला
अध्यक्ष मोहन निरौलाका अनुसार महाधिवेशनको तयारी तीव्र पारिएको छ । साधारणसभाका लागि नक्सालस्थित लिसारा भेन्यु बुकिङ भएको छ । साधारणसभाका लागि आवश्यक पर्ने सूचनाहरू समेत जारी भइसकेका छन् ।
संघको नयाँ पदाधिकारी निर्वाचन प्रक्रियालाई निष्पक्ष र व्यवस्थित बनाउन निर्वाचन कमिटी गठन गर्ने तयारी भइरहेको अध्यक्ष निरौलाले बताए । ‘सम्भवतः दुई–चार दिनभित्र बस्ने कार्यसमितिको बैठकले निर्वाचन कमिटी बनाउनेछ’, उनले भने ।
साधारणसभामा खर्च संस्थाकै आन्तरिक कोषबाट हुनेछ । त्यसका लागि करिब सातदेखि आठ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण