चिनियाँ कम्युनिस्ट पार्टीको शुभकामनाप्रति रास्वपाले दियो धन्यवाद, स्वतन्त्र परराष्ट्र नीति कायम रहने सन्देश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले हालै पठाएको बधाई तथा आत्मीय शुभकामना सन्देशप्रति धन्यवाद ज्ञापन गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल–चीन सम्बन्ध र रास्वपासँगको सहकार्य विस्तारप्रति खुसी व्यक्त गर्दै पठाएको पत्रको प्रत्युत्तरमा रास्वपाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहने प्रतिबद्धता समेत दोहोर्याएको छ ।
रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले जारी गरेको विज्ञप्तिमा सीपीसीले व्यक्त गरेको शुभेच्छा र ऐक्यबद्धताका लागि हार्दिक आभार प्रकट गरिएको छ । विज्ञप्तिमा पार्टी नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहने तथा छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सधैँ प्राथमिकतामा राख्ने स्पष्ट पारिएको छ ।
सीपीसीको अन्तर्राष्ट्रिय विभागले रास्वपालाई पठाएको औपचारिक पत्रमा दुई दलबिचको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाइएको छ । उक्त सन्देशमार्फत चीन र नेपालबिचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि 'साझा भविष्यसहितको समुदाय' निर्माण गर्ने संकल्प दोहोर्याइएको छ ।
साथै, सीपीसीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै उनीहरूको नेतृत्वमा रास्वपाले नेपाल–चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरेको छ । पार्टीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परता समेत देखाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण