बागमतीबाट ३१ समानुपातिक सांसद निर्वाचित, श्रम संस्कृति निल
सारांश
- निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ।
- रास्वपाबाट बागमती प्रदेशमा सबैभन्दा धेरै सांसद निर्वाचित भएका छन्, जसमा काठमाडौँबाट ८ जना छन्।
- कांग्रेस, एमाले, नेकपा र राप्रपाबाट पनि सांसदहरू निर्वाचित भएका छन् र विभिन्न जिल्लाको प्रतिनिधित्व रहेको छ।
हेटौँडा । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको आयोगको चैत २ गतेको निर्णयअनुसार राजनीतिक दलहरूले प्राप्त गरेको मत र क्लस्टरका आधारमा समानुपातिक तर्फको उम्मेदवारहरू निर्वाचित भएको घोषणा गरिएको हो ।
चैत ५ गते उक्त नामावली राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयारी आयोगले गरेको छ । आयोगका अनुसार समानुपातिक तर्फबाट निर्वाचित सांसदमध्ये बागमती प्रदेशका विभिन्न जिल्लाबाट पाँच राष्ट्रिय दलका ३१ उम्मेदवार समेटिएका छन् ।
प्रदेशका ३३ निर्वाचन क्षेत्रबाट सिफारिसमा परेका समानुपातिकतर्फ ३१ जना सदस्य प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।
राष्ट्रिय दलको मान्यता पाएका ६ वटा दलमध्ये पाँच वटाले प्रदेशबाट प्रतिनिधित्व पाएका छन् । तर, समानुपातिकतर्फ चार सिट जितेको श्रम संस्कृति पार्टीबाट भने बागमती प्रदेशका कसैले पनि अवसर पाउन सकेनन् ।
११ जिल्लामा क्लिनस्वीप गरेको रास्वपाबाट समानुपातिकतर्फ १८ जना
समानुपातिक तर्फबाट निर्वाचित हुनेहरूमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू छन् । बागमतीका ३३ निर्वाचन क्षेत्रमध्ये ३१ वटामा रास्वपाले प्रत्यक्षतर्फ निर्वाचन जितेको थियो । बागमतीका ११ जिल्लामा (रसुवा र सिन्धुपाल्चोकबाहेक) त क्लिनस्वीप नै गरेको छ ।
समानुपातिकतर्फ बागमतीमा रास्वपाका सबैभन्दा धेरै १९ जना सांसद चुनिएका छन् । निर्वाचित हुनेहरूमा काभ्रेका राम लामा र रचना खतिवडा खत्री, ललितपुरका खुश्बु सरकार श्रेष्ठ, सुम्निमा उदास र प्रभा कार्की रहेका छन् ।
त्यस्तै, काठमाडौँबाट बसुमाया तामाङ, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, लिमा अधिकारी (आचार्य), विदुषि राणा, समीक्षा बास्कोटा र सीता वादी निर्वाचित भएका छन् । नुवाकोटबाट शोभा खनाल, चितवनबाट प्रभा ढकाल र अफसाना बानु, दोलखाबाट स्मृति सेन्चुरी र ललितपुरबाट तारा विश्वकर्मा पनि रास्वपाबाट सांसद बनेका छन् ।
त्यस्तै नेपाली कांग्रेसबाट यस प्रदेशमा ५ जना निर्वाचित भएका छन् । जसमा भक्तपुरबाट मदनकृष्ण श्रेष्ठ (अपांगता कोटा) र गंगालक्ष्मी अवाल, नुवाकोटबाट अर्जुननरसिंह केसी, धादिङबाट सीता थपलिया र मकवानपुरबाट पवित्रा विक छन् ।
त्यस्तै, नेकपा एमालेबाट ४ जना निर्वाचित भएका छन् । जसमा धादिङबाट गंगादेवी श्रेष्ठ र पुष्पराज कँडेल, चितवनबाट रामबहादुर थापा मगर र काठमाडौँबाट कुलभक्त शाक्य रहेका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट ललितपुरका प्रमेश कुमार हमाल र काठमाडौँका परशुराम तामाङ निर्वाचित भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट धादिङकी सरस्वती लामा र काठमाडौँकी खुश्बु ओली निर्वाचित भएका छन् ।
कुन जिल्लाबाट कति छानिए ?
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिकतर्फ निर्वाचित सदस्यहरूको अन्तिम सूचीमा बागमती प्रदेशका ९ जिल्लाको मात्र प्रतिनिधित्व भएको देखिएको छ ।
आयोगको विवरणअनुसार राष्ट्रिय दलको मान्यता पाएको श्रम संस्कृति पार्टीले देशभरबाट ४ सिट जिते पनि बागमती प्रदेशबाट कोही परेनन् । संघीय राजधानीसमेत रहेको काठमाडौँ जिल्लाबाट सबैभन्दा बढी ११ जना सांसद निर्वाचित भएका छन् ।
रास्वपाले काठमाडौँ र ललितपुरबाट सांसद छान्दा भक्तपुर, मकवानपुर, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोकलगायत जिल्ला समेट्न सकेन । कांग्रेसले भक्तपुर, नुवाकोट, धादिङ र मकवानपुरलाई समेटेको छ भने एमालेले धादिङ, चितवन र काठमाडौँका सूचीलाई सांसद बनाएको छ ।
काठमाडौँबाट मात्र रास्वपाका ८ जना निर्वाचित भएका छन्, ती बसुमाया तामाङ, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, लिमा अधिकारी (आचार्य), विदुषि राणा, समीक्षा बास्कोटा र सीता वादी हुन् । एमालेबाट कुलभक्त शाक्य निर्वाचित हुँदा नेकपाबाट परशुराम तामाङ, राप्रपाबाट खुश्बु ओली काठमाडौँबाट निर्वाचित भएका छन् ।
ललितपुरबाट ५ जनाले २ वटा दलबाट अवसर पाएका छन्, जसमा रास्वपाबाट खुश्बु सरकार श्रेष्ठ, सुम्निमा उदास, प्रभा कार्की र तारा विश्वकर्मा तथा नेकपाबाट प्रमेश कुमार हमाल छन् । धादिङबाट एमालेका गंगादेवी श्रेष्ठ र पुष्पराज कँडेल, कांग्रेसकी सीता थपलिया र राप्रपाकी सरस्वती लामा गरी ४ जना समेटिएका छन् ।
चितवनबाट रास्वपाकी प्रभा ढकाल र अफसाना बानु र एमालेका रामबहादुर थापा मगर गरी ३ जना निर्वाचित भएका छन् । काभ्रेबाट रास्वपाबाट राम लामा र रचना खतिवडा खत्री, नुवाकोटबाट कांग्रेसका अर्जुननरसिंह केसी र रास्वपाकी शोभा खनाल समानुपातिकतर्फ सांसद बनेका छन् ।
भक्तपुरबाट कांग्रेसका मदनकृष्ण श्रेष्ठ (अपांगता/आदिवासी जनजाति क्लस्टर) र गंगालक्ष्मी अवाल समानुपातिक सांसद बनेका छन् भने दोलखाबाट रास्वपाकी स्मृति सेन्चुरी र मकवानपुरबाट कांग्रेसकी पवित्रा विक सांसद बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण