बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मैदानमा हारेको मोरक्को बन्यो अफ्रिका कप विजेता, सेनेगलको खुसी खोसियो

बुधबार, ०४ चैत २०८२, १० : १२
बुधबार, ०४ चैत २०८२

सारांश

  • अफ्रिकी फुटबल महासंघ (क्याफ) ले २०२५ को अफ्रिका कप अफ नेशन्समा सेनेगललाई हराउँदै मोरक्कोलाई विजेता घोषणा गर्यो।
  • खेलको क्रममा विवाद भएपछि सेनेगलका खेलाडीले मैदान छाडेका थिए, जसका कारण क्याफले सेनेगललाई दोषी ठहर गर्यो।
  • सेनेगलले यस निर्णयलाई अस्वीकार गर्दै अन्तर्राष्ट्रिय खेलकुद अदालतमा अपिल गर्ने जनाएको छ।

कायरो । अफ्रिकी फुटबलको सर्वोच्च निकाय (क्याफ) ले सन् २०२५ को अफ्रिका कप अफ नेशन्स (एफकन) को फाइनल नतिजालाई पूर्ण रूपमा उल्टाउँदै मोरक्कोलाई विजेता घोषणा गरेको छ। गत जनवरी १८ मा भएको फाइनल खेलमा सेनेगलले मोरक्कोलाई १-० ले पराजित गरे पनि खेलको क्रममा भएको विवादका कारण क्याफको अपिल बोर्डले सेनेगललाई दोषी ठहर गर्दै उपाधि मोरक्कोको पोल्टामा हालिदिएको हो।

घरेलु टोली मोरक्कोले इन्जुरी समयमा पेनाल्टी पाएपछि असन्तुष्ट बनेका सेनेगलका खेलाडीहरूले मैदान छाडेर हिँडेका थिए, जसलाई नियमविपरीत मान्दै सेनेगललाई वाक ओभर दिएको ठहर गरिएको छ। उक्त खेल गोलरहित बराबरीमा रहेको अवस्थामा मोरक्कोले पेनाल्टी पाएपछि सेनेगलका खेलाडीले करिब १७ मिनेटसम्म खेल रोकेर मैदानबाहिर बसेका थिए।

पछि खेलमा फर्किए पनि इब्राहिम डियाजको पेनाल्टी प्रहार सेनेगलका गोलकिपरले बचाएका थिए र अतिरिक्त समयमा पापे गुयले गोल गर्दै सेनेगललाई जित दिलाएका थिए। तर मोरक्कन फुटबल महासंघ (एफआरएमएफ) ले प्रतियोगिताको नियम पालना नभएको भन्दै दिएको उजुरीमाथि सुनुवाइ गर्दै क्याफले सेनेगललाई ३-० ले पराजित भएको घोषणा गरिदिएको हो।

क्याफका अनुसार खेल चलिरहेको समयमा रेफ्रीको अनुमतिबिना मैदान छाड्नु अफ्रिका कपको नियमावलीको धारा ८२ र ८४ को गम्भीर उल्लंघन हो।

यो निर्णय सार्वजनिक भएपछि सेनेगल फुटबल महासंघले यसलाई ‘अन्यायपूर्ण र अस्वीकार्य’ भन्दै अन्तर्राष्ट्रिय खेलकुद अदालत (कास) मा अपिल गर्ने चेतावनी दिएको छ। सेनेगलका खेलाडीहरूले उपाधिसहित विजय उत्सव मनाइरहेको भिडियो सार्वजनिक भइरहँदा यो कानुनी निर्णयले उनीहरूको खुसीमा ठुलो धक्का पुर्‍याएको छ। मोरक्कोले भने आफूहरूको उद्देश्य खेल कौशलमा प्रश्न उठाउनु नभई केवल प्रतियोगिताको नियमलाई अक्षरशः पालना गराउनु रहेको स्पष्ट पारेको छ।

उत्तर अफ्रिकी फुटबल पत्रकार माहेर मेजाहीका अनुसार यो निर्णयले कागजी रूपमा विजेता बदले पनि मैदानमा देखिएको भावना र सेनेगलका खेलाडीले उठाएको ट्रफीको यादलाई मेट्न सक्ने छैन। फुटबल इतिहासमा यसरी फाइनलको नतिजा नै उल्टिएर विजेता घोषणा गरिएको घटनालाई निकै दुर्लभ र विवादास्पद मानिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप