एनआरएनएलाई एकताबद्ध बनाउन भूमिका खेलेका तिमल्सिना सर्वसम्मत कोषाध्यक्ष
सारांश
- कृष्णप्रसाद तिमल्सिना गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
- उनले आर्थिक पारदर्शिता र संस्थाको कोषलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे।
- सर्वोच्च अदालतको आदेश र विवादका बीच, तिमल्सिनाले एकताको लागि पहल गरेका थिए।
काठमाडौँ । धादिङको धुवाँकोटमा जन्मिएर साढे दुई दशकअघि बेलायत पुगेका कृष्णप्रसाद तिमल्सिना गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता महाधिवेशनबाट सर्वसम्मत रूपमा कोषाध्यक्षमा चयन भएका छन्।
निर्वाचित भएपछि उनले भने, ‘मेरो ध्यान पूर्ण रूपमा आर्थिक पारदर्शितामा केन्द्रित रहनेछ। संस्थाको कोषलाई चुस्त र पारदर्शी बनाउँदै थप समृद्धितर्फ लैजान मेरो विशेष पहल हुनेछ।’
यसअघि ११औँ महाधिवेशनमा सह-कोषाध्यक्षमा निर्वाचित भए पनि एनआरएनएभित्रको तीव्र विवादका कारण उनको कार्यकाल उतारचढावपूर्ण रहेको थियो। महाधिवेशन लगत्तै संस्था दुई चिरामा विभाजित भयो; त्यसअघि नै एउटा समूहले समानान्तर गतिविधि गर्दै आएको थियो। उसो त त्यसअघि नै पनि एनआरएनएको शेष घले पक्ष विभाजित अवस्थामै थियो ।
यसैबीच, सर्वोच्च अदालतले पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गर्न परमादेश जारी गरेपछि संस्थामा थप अन्योल सिर्जना भयो। २०८० चैतमा सर्वोच्चले उक्त आदेश दिएपछि ११औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी कार्यालय जान छाडेका थिए भने २०७८ माघको विन्दुबाट प्रक्रिया सुरु गरेर एकताको महाधिवेशन गर्न निर्देशन दिइएको थियो।
तर, संस्था नेतृत्वविहीन हुन नहुने भन्दै तिमल्सिनाकै अगुवाइमा बद्री केसीको पक्षमा रिट दायर गरियो। त्यतिबेला तिमल्सिनाले भनेका थिए, ‘यो रिट कसैको पक्षमा होइन, केवल संस्थालाई एकताबद्ध बनाउन र जोड्नका लागि हो।’ उनको उक्त पहलले केसी पक्षलाई काम गर्ने बाटो खोलिदियो। त्यसपछि पनि तिमल्सिनाले एकता नै विकल्प भएको भन्दै निरन्तर वकालत गरिरहे।
यसैगरी सर्वोच्चको परमादेशअनुसार महेश श्रेष्ठ अध्यक्ष चयन भएको महाधिवेशनमा बद्री केसी पक्ष भने सहभागी भएन; उनीहरूले आफूहरूलाई नै आधिकारिकता प्राप्त भएको दाबी गरे।
गत वर्षको वैशाखमा शेष घलेको संयोजनमा भएको महाधिवेशनबाट श्रेष्ठ अध्यक्ष चयन भएपछि संस्थालाई पुनः एकताबद्ध बनाउन केसी र श्रेष्ठ पक्षबीच वार्ता सुरु भयो। सो वार्ताबाट आरके शर्मा, विनोद कुँवर पक्षलगायत सबैलाई समेटेर बृहत् एकता महाधिवेशन गर्ने १० बुँदे सहमति भयो।
अन्ततः सोही सहमतिको मर्मअनुसार अहिले एकता महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति गठन भएको छ। उक्त कार्यसमितिमा उपाध्यक्ष र सचिवजस्ता पदहरूमा जम्बो टोली भए पनि अध्यक्षमा डा हेमराज शर्मा,वरिष्ठ उपाध्यक्षमा रोविन शेरचन, महासचिवमा डा चिरञ्जीवी खड्का र कोषाध्यक्षमा तिमल्सिना भने सर्वसम्मत चयन भएका हुन् ।
समाजसेवीको छवि बनाएका तिमल्सिना एनआरएनएभित्र इमानदार व्यक्तित्वका रूपमा चिनिन्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण