बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धुरन्धर २ लाई सेन्सर बोर्डको ‘ए’ सर्टिफिकेट, पहिलो भागभन्दा लामो हुने

बुधबार, ०४ चैत २०८२, १२ : ११
बुधबार, ०४ चैत २०८२

मुम्बई । बलिउड अभिनेता रणवीर सिंहको बहुप्रतिक्षित चलचित्र धुरन्धर : द रिभेन्जलाई सेन्सर बोर्डले ‘ए’ सर्टिफिकेट प्रदान गरेको छ। मार्च १९ मा रिलिज हुन लागेको यो चलचित्र अब १८ वर्षभन्दा माथिका दर्शकले मात्र हेर्न पाउनेछन्।

सेन्सर बोर्ड अफ फिल्म सर्टिफिकेशन (सीबीएफसी) ले फिल्ममा रहेका अत्यधिक हिंसात्मक र विचलित बनाउने दृश्यहरूका कारण वयस्कका लागि मात्र उपयुक्त हुने ठहर गरेको हो। यसअघि यो चलचित्रको पहिलो भाग ३ घण्टा ३४ मिनेट लामो थियो भने दोस्रो भाग झन् लामो अर्थात् ३ घण्टा ४९ मिनेटको हुनेछ। योसँगै यो बलिउडको सबैभन्दा लामा चलचित्रहरूको सूचीमा छैटौँ नम्बरमा परेको छ।

सेन्सर बोर्डले चलचित्रलाई प्रमाणपत्र दिनुअघि कैयौँ दृश्य र संवादहरूमा कैंची चलाएको छ। विशेषगरी टाउकोमा हतौडाले हानेको, टाउको काटेको, लात्तीले हानेको र सिमेन्टको ढुङ्गाले प्रहार गरेका दृश्यहरूलाई छोटो बनाउन निर्देशन दिएको छ। यस्तै, आँखा फुटाउने दृश्य र लागूपदार्थसम्बन्धी दृश्यहरूमा पनि चेतावनीमूलक सन्देश राख्न लगाइएको छ।

चलचित्रमा प्रयोग भएका कतिपय अपशब्दहरू म्युट गरिएको छ भने केही आपत्तिजनक शब्द र नामहरू परिवर्तन गरिएको छ। यी सबै परिवर्तनका कारण चलचित्रको कुल लम्बाइ १ मिनेट ३४ सेकेन्डले छोटिएको छ। यदि यी दृश्यहरू नकाटिएको भए फिल्म २३० मिनेटभन्दा लामो हुने थियो।

चलचित्रमा केही प्राविधिक र ऐतिहासिक तथ्यहरूमा पनि सुधार गरिएको छ। सबटाइटलमा नोटबन्दीको मिति सच्याइएको छ भने प्रधानमन्त्रीसँग सम्बन्धित सन्दर्भ र न्युज फुटेज प्रयोग गर्न अनुमति दिइएको छ। यस्तै, जानकारीमूलक खण्डमा लाहोरको सट्टा दिल्ली राखिएको छ भने वाराणसीको दृश्यमा हिन्दी टेक्स्ट थपिएको छ।

चलचित्रमा जनावर प्रयोग गरिएका दृश्यहरूका लागि आवश्यक प्रमाणपत्र समेत पेस गरिएको छ। आदित्य धरको निर्देशनमा बनेको यो चलचित्रमा रणवीर सिंहका साथै सारा अर्जुन, सञ्जय दत्त र अर्जुन रामपाल मुख्य भूमिकामा छन्।

‘धुरन्धर २’ मार्च १९ मा हलहरूमा रिलिज हुँदैछ भने आज राती ८ बजेदेखि यसको पेड प्रिभ्यु सुरु हुनेछ। यसको पहिलो भाग सुपरहिट हुनुका साथै भारतमा सबैभन्दा धेरै कमाउने बलिउड फिल्म बनेको थियो।

सन् २०२५ को हालसम्मकै सबैभन्दा धेरै कमाउने फिल्मको कीर्तिमान पनि धुरन्धरकै नाममा छ। ठुलो बजेट र स्टार कास्टका कारण यो दोस्रो भागले पनि बक्स अफिसमा नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप