शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘वंश वृक्ष’ संयुक्त कविता कृतिको परिचर्चा तथा कविता वाचन कार्यक्रम सम्पन्न

बिहीबार, ०५ चैत २०८२, ०० : १३
बिहीबार, ०५ चैत २०८२

सारांश

  • ‘वंशवृक्ष’ संयुक्त कविता कृतिको परिचर्चा तथा कवितावाचन कार्यक्रम सम्पन्न भयो।
  • कार्यक्रममा कवि पुरुषोत्तम दाहाल र अनिमेष दाहालको कृतिको बारेमा चर्चा भयो।
  • वरिष्ठ साहित्यकारहरूले कृतिको विभिन्न पक्षबारे समीक्षा गरे।

काठमाडौँ । साहित्यिक पत्रकार सङ्घ तथा मिलाप म्यागेजिनको संयुक्त आयोजनामा बुधबार यहाँ ‘वंश वृक्ष’ नामक संयुक्त कविता कृतिको परिचर्चा तथा कविता वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

यहाँ आयोजित उक्त कार्यक्रममा कवि प्रा पुरुषोत्तम दाहाल र उनका छोरा अनिमेष दाहालद्वारा संयुक्त रूपमा लेखिएको वंश वृक्ष कविता कृतिबारे चर्चा भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल संस्कृति विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा कुलप्रसाद कोइरालाले युवा कवि अनिमेष दाहालको सिर्जनशीलताको प्रशंसा गरे । उनले अनिमेषलाई नेपाली कविता लेखन क्षेत्रमा उदाउँदै गरेको प्रतिभाशाली तारा भएको उल्लेख गर्दै उनका कविताहरूले पाठकको मन र मस्तिष्कमा गहिरो प्रभाव पार्न सफल भएको धारणा व्यक्त गरे ।

प्राडा कोइरालाले भने, “प्रा पुरुषोत्तम दाहालका कविताहरू विगतदेखि नै अध्ययन गर्ने अवसर मिलेको थियो, तर अहिले उहाँका सुपुत्र अनिमेष दाहालका कविताहरू पढ्न पाउँदा निकै हर्ष लागेको छ । उनका कविताहरू मार्मिक, गहिरा र अध्ययनयोग्य छन् ।”

कार्यक्रममा युवा साहित्यकार घनेन्द्र ओझाले विदेशमा रहेर पनि अनिमेषले नेपाली साहित्यको विकासमा पुर्‍याएको योगदान प्रशंसायोग्य रहेको बताए । कार्यक्रममा वरिष्ठ समालोचक युवराज मैनाली, डा ज्ञानु अधिकारी, महाकाव्यकार खेमनाथ दाहाल, कलानिधि दाहाल, वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीलगायतले वंश वृक्ष कृतिको विभिन्न आयामबाट समीक्षा गरेका थिए।

कार्यक्रमको समापन गर्दै वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले आगामी दिनमा पनि यस्ता साहित्यिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप