थापाले बुझाएको राजीनामा पुगेको छैन सानेपा
सारांश
- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उपसभापति विश्व प्रकाश शर्मालाई राजीनामा बुझाएका छन्, तर दर्ता भएको छैन।
- थापाले प्रतिनिधिसभा निर्वाचनमा हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्, र केन्द्रीय कार्यसमिति बैठकमा पेश हुनेछ।
- पार्टी प्रवक्ताका अनुसार, सभापतिको राजीनामा पार्टी कार्यालयमा औपचारिक रूपमा आइसकेको छैन।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उपसभापति विश्व प्रकाश शर्मालाई बुझाएको राजीनामा अझै केन्द्रीय कार्यालय सानेपामा दर्ताका लागि पुगेको छैन। सभापति थापाले बुधबार साँझ उपसभापति शर्मालाई राजीनामा बुझाएको थापाका एक सहयोगीले जानकारी दिए। तर शर्माले दर्ता गर्नका लागि तोक लगाएका छैनन् ।
काङ्ग्रेसको विधानमा सभापतिले उपसभापति समक्ष राजीनामा बुझाउने र उपसभापतिले केन्द्रीय कार्यालयमा दर्ता गर्न भन्ने छ । यसरी आएको राजीनामा केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने प्रावधान छ। अहिले सभापति थापाले राजीनामा बुझाए पनि शर्माले तोक लगाएर दर्ताका लागि आदेश दिई नसकेको थापाका एक सहयोगी नेताले जानकारी दिए।
ती नेताले रातोपाटीलाई दिएको जानकारी अनुसार शुक्रबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगावै थापाको राजीनामा पत्र केन्द्रीय कार्यालयमा दर्ता हुनेछ र उपसभापति शर्माले सभापतिको राजीनामा आएकोले छलफल गर्ने प्रस्ताव पेस गर्नेछन्।
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्। चैत ६ गते केन्द्रीय कार्यसमिति बैठक आह्वान भएपछि थापाले राजीनामा दिएका हुन्।
गएको पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट थापा पार्टी सभापति बनेका थिए। त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा दायर गरेको रिट अहिले पनि विचाराधीन अवस्थामा छ।
प्रतिनिधि सभा निर्वाचनमा थापा सर्लाही ४ मा रास्वपाका अमरेश सिंहसँग पराजित बनेका थिए। काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापाको राजीनामा पार्टी केन्द्रीय कार्यालयमा औपचारिक रूपमा नआएको जानकारी रातोपाटीलाई दिए। उनले उपसभापति शर्माले राजीनामा आएको जानकारी पनि नगराएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण