बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: पश्चिम एसिया तनावले धर्मराउँदै वैदेशिक रोजगारी, पुस्तक जलाइएको घटनाले कूटनीतिक वृत्तमा तरंग

शनिबार, ०७ चैत २०८२, ०० : ००
शनिबार, ०७ चैत २०८२

सारांश

  • पश्चिम एसियामा युद्ध र तनावका कारण वैदेशिक रोजगारी प्रभावित भएको छ, हजारौं युवा स्वदेशमै रोकिन बाध्य छन्।
  • मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपतिको पुस्तक जलाइएको घटनाले कूटनीतिक वृत्तमा तरंग पैदा गरेको छ, तर यो प्रशासनिक लापरवाही हो।
  • नेपाली कांग्रेसले निर्वाचनमा हारका २७ कारण औंल्याएको छ, र पार्टी केन्द्रीय समिति बैठक स्थगित भएको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. पश्चिम एसिया तनावले धर्मराउँदै वैदेशिक रोजगारी

पश्चिम एसियामा पछिल्लो समय चर्किएको युद्ध र तनावको प्रत्यक्ष असर नेपालको वैदेशिक रोजगार क्षेत्रमा पर्न थालेको छ । इजरायल, अमेरिका र इरानबिच सुरू भएको त्रिपक्षीय द्वन्द्वका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् भने सुरक्षा जोखिम बढेपछि वैदेशिक रोजगारीको सम्पूर्ण प्रक्रिया पूरा गरेका हजारौँ नेपाली युवा स्वदेशमै रोकिन बाध्य भएका छन् । 

२. पुस्तक जलाइएको घटनाले कूटनीतिक वृत्तमा तरंग

एक हप्ता अगाडिदेखि मोरङको बुढीगंगामा रहेको कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयको हाताभित्र चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ जलाइएको घटनाले कूटनीतिक र राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ । यद्यपि यो घटना कुनै कूटनीतिक षड्यन्त्रभन्दा पनि प्रशासनिक लापरवाही र त्यसलाई मसला बनाउन कुनै कर्मचारीकै संलग्नता देखिएको छ ।

३. कांग्रेसको चुनावी समीक्षा

नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले पार्टीले पराजय व्यहोर्नुमा २७ कारण औँल्याएका छन् । शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा ‘प्रतिनिधि सभा निर्वाचन ०८२ ः नेपाली कांग्रेसको प्रारम्भिक समीक्षा’ शीर्षकमा प्रतिवेदन प्रस्तुत गर्दै शर्माले हारका २७ कारण औँल्याएका हुन् ।

  • थप

४. कुखुरापालनमा फड्को

नेपालको कृषि क्षेत्रमा कुखुरापालन व्यवसायले पछिल्लो दशकमा एउटा ठुलो आर्थिक क्रान्तिको स्वरूप लिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२’ को पछिल्लो प्रतिवेदनले नेपालको कुखुरापालन व्यवसाय परम्परागत निर्वाहमुखी प्रणालीबाट पूर्णतः व्यावसायिकतातर्फ रुपान्तरण भएको तथ्यलाई उजागर गरेको हो ।

५. अनुदान रकम बाँडफाँट

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि संघबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान, आन्तरिक ऋणको सीमा र सशर्त अनुदानका आधारहरू समेटिएको तीन छुट्टाछुट्टै सिफारिस सरकारलाई बुझाएको छ । 

६. मानव अधिकार आयोगको प्रतिवेदन

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र आन्दोलनका कारण क्षतिसम्बन्धी छानबिन गर्न गठित मानवअधिकार आयोगको छानबिन समितिले शुक्रबार आयोगका अध्यक्ष तपबहादुर मगरसमक्ष प्रतिवेदन बुझाएको छ।

७. नेकपामा ७ लाखभन्दा बढी मतको खोजी

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ७ लाखभन्दा बढी मत घटेको विषयलाई लिएर नेपाली कम्युनिस्ट पार्टीभित्र चर्चा भएको छ । निर्वाचनबाट निर्णायक शक्तिको रूपमा स्थापित हुने आन्तरिक मूल्याङ्कन फेल खाएपछि नेकपाले १६५ निर्वाचन क्षेत्रको वस्तुगत रिपोर्ट पठाउन तल्ला समितिलाई निर्देशन दिएको छ ।

८. कर्णालीमा सत्ता गठबन्धन फेरबदलको ‘होमवर्क’ !

कर्णालीमा सत्ता गठबन्धन फेरबदलको चर्चा सुरु भएको छ । विगत डेढ वर्षदेखि नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धन अनुसार सरकार सञ्चालन भइरहेकोमा अब कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच गठबन्धन बन्ने चर्चा सुरु भएको हो ।

९. एमालेको संसदीय मोर्चा पूर्वमाओवादीको काँधमा !

फागुन २१ मा प्रत्यक्षतर्फ चुनाव लडेका नेकपा एमालेका ११ जना पदाधिकारीमध्ये कसैले पनि निर्वाचन नजितेपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’  संसदीय दलको नेता बन्ने लगभग निश्चित भएको छ । पूर्वमाओवादी नेता समेत रहेका उपाध्यक्ष थापा भने समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

१०. काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा हावाहुरी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकालगायतका विभिन्न स्थानमा तीव्र हावाहुरी चलिरहेको र यो अझै तीव्र हुनसक्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

११. नयाँ सरकार गठनको संघारमा कस्तो छ रासायनिक मलको अवस्था ?

यो साता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा नयाँ सरकार गठन हुँदैछ । बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बन्ने यस सरकारले विज्ञहरूको टोलीलाई मन्त्रिमण्डलमा सामेल गर्ने तयारी गरिरहेको छ । यद्यपि हरेक वर्ष सरकारले आलोचना खेप्दै आएको कृषि क्षेत्रको प्रमुख समस्या रासायनिक मलको अभाव नयाँ सरकारका लागि पनि मुख्य चुनौती बन्ने देखिएको छ । सरकार गठनको संघारमा मलको आपूर्ति अवस्था अझै अपर्याप्त छ ।

१२. व्यस्त कलाकार

नेपाली फिल्म उद्योग यतिबेला निकै चलायमान देखिएको छ । आधा दर्जनभन्दा बढी फिल्म अहिले छायाङ्कनमा छन् भने त्यतिकै सङ्ख्यामा निर्माणको तयारीमा छन् । पोस्ट प्रोडक्सन र प्रि–प्रोडक्सनमा रहेका फिल्महरूको सङ्ख्या पनि उल्लेख्य छ । यसरी सुटिङदेखि पोस्ट प्रोडक्सनका विभिन्न चरणमा धेरै फिल्म रहँदा कलाकारदेखि प्राविधिकसम्म व्यस्त हुनु स्वाभाविकै हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप