बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सत्ता राजनीति

कर्णालीमा सत्ता गठबन्धन फेरबदलको ‘होमवर्क’ !

कांग्रेस–नेकपा समीकरण बन्ने चर्चाबारे के भन्छन् नेताहरू ?
शुक्रबार, ०६ चैत २०८२, १५ : ३०
शुक्रबार, ०६ चैत २०८२

सारांश

  • कर्णालीमा सत्ता गठबन्धन फेरबदलको चर्चा सुरु भएको छ, जसमा कांग्रेस र नेकपाबीच गठबन्धन बन्ने सम्भावना देखिएको छ।
  • कांग्रेस र नेकपाका नेताहरूको भेटघाटले गठबन्धन परिवर्तनको बहसलाई बढाएको छ, जसमा जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने सम्भावना रहेको छ।
  • एमाले र कांग्रेसबीचको 'क्यामेस्ट्री' नमिलेका कारण नयाँ गठबन्धनको चर्चा चलिरहेको छ, यद्यपि एमालेले यसलाई शंकाको रूपमा लिएको छैन।

सुर्खेत । कर्णालीमा सत्ता गठबन्धन फेरबदलको चर्चा सुरु भएको छ । विगत डेढ वर्षदेखि नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धन अनुसार सरकार सञ्चालन भइरहेकोमा अब कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच गठबन्धन बन्ने चर्चा सुरु भएको हो ।

नेकपाका प्रभावशाली नेता महेन्द्रबहादुर शाही कालीकोटबाट प्रतिनिधि सभा चुनाव जितेर काठमाडौँ जाने क्रममा वीरेन्द्रनगर आएका थिए । सो अवसरमा उनी र कांग्रेसका नेताहरूबिचको हिमचिमले जबर्जस्त उक्त बहस सतहमा आएको हो ।

महेन्द्रबहादुर नेकपाभित्र कर्णालीका शीर्ष नेता हुन् भने उनी यो प्रदेशका संसदीय राजनीतिका खेलाडी पनि हुन् । जनार्दन शर्माले अलग पार्टी गठन गरिसकेको र शक्ति बस्नेतले चुनाव हार्नुका साथै पार्टीभित्र कमजोर रहेको अवस्थामा महेन्द्रबहादुर शाही नेकपा कर्णालीको बलियो नेताका रूपमा उदाएका छन् ।

कर्णालीका हुने हरेक राजनीतिक निर्णयमा शाहीको जबर्जस्त उपस्थितिमात्रै छैन, उनले नै ठुला राजनीतिक विवाद मिलाउन भूमिका खेल्दै आएका छन् । बुधबार बिहान चुनाव जितेको अवसरमा बधाई दिने छेको पारेर कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही र नेकपा नेता शाहीबिच अर्थपूर्ण भेट भयो ।

जीवनबहादुरले बधाई दिएको तस्बिर बाहिर आए पनि भेटमा कर्णाली सरकारको नेतृत्व र गठबन्धन फेरबदलको विषयमा चर्चा भएको स्रोतले बतायो । त्यहाँ नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता मंगलबहादुर शाही पनि सहभागी थिए ।

  • कांग्रेस—एमालेको ‘क्यामेस्ट्री’ नमिल्दा नयाँ गठबन्धनको चर्चा

कांग्रेस–एमालेबिच गठबन्धनको सरकार बनेदेखि नै दुई दलबिच ‘क्यामेस्ट्री’ मिलेको छैन ।

०८० चैत २७ गते साविक माओवादीको समर्थनमा यामलाल कँडेल मुख्यमन्त्री बनेका थिए । त्यही समयमा वाइडबडी प्रकरणमा मुद्दा अघि बढेपछि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा परेका थिए ।

तीन महिनामै अर्थात् ०८१ साउनमा केन्द्रमा कांग्रेस र एमालेबिच सत्ता समीकरण बन्यो । जीवनबहादुर शाहीको भौतिक उपस्थितिबिना कांग्रेसले अर्थसहित चार मन्त्रालयको जिम्मेवारी पायो, मुख्यमन्त्रीमा एमालेका कँडेलले निरन्तरता पाए ।

झन्डै १० महिनापछि मुद्दामा सफाइ पाएर जीवनबहादुर शाही प्रदेश फर्किए । ०८१ माघ ७ गते बसेको प्रदेश सभा बैठकमा शाहीले एकाएक सरकार छाड्ने धम्की दिए ।

शाहीले संसदमा आक्रोशित हुँदै भने– जीवनले बोल्दैन मात्रै, एक्सनमा पनि उत्रिन्छ ।

उनले मुख्यमन्त्री कँडेललाई चेतावनीको भाषामा भने, ‘सबैभन्दा ठुलो दलको नेताको फोन नउठाउने ? भौतिकमन्त्रीलाई स्याक नगरे हामी सरकारमा बस्दैनौँ । तपाईंहरू पवित्र गठबन्धन गर्नुहोला, हामी बाहिरिन्छौँ ।’

शाहीले आफूले भनेअनुरुप नभए एक साताभित्र सरकार छाड्ने अल्टिमेटम नै दिएका थिए । धम्कीको यो सिलसिला रोकिएन ।

०८१ फागुन १३ गते कांग्रेसले मुख्यमन्त्रीको काम–कारबाही ‘चित्तबुझ्दो नभएको’ निष्कर्ष निकाल्यो । कांग्रेसले आफ्ना मन्त्री फिर्ता बोलाउनेसम्मको चर्चा चलायो ।

सोही वर्षको फागुन २८ को प्रदेश सभामा सरकारबाट बाहिरिनुपर्ने आवाज गुञ्जियो । कांग्रेसले आफू सामेल सरकारलाई ‘लाचार’ को संज्ञा दिनसमेत पछि परेन ।

०८२ साउनमा बजेटमाथिको छलफलमा कांग्रेस नेता शाहीले ‘यो बजेट पास हुन सक्दैन’ भन्दै मुख्यमन्त्रीलाई धम्क्याए, जबकि बजेट उनकै दलबाट अर्थमन्त्री बनेका राजीवविक्रम शाहले ल्याएका थिए ।

रोचक त तब भयो, ०८२ असार २४ मा कांग्रेस सांसद बेदराज सिंहले संसद नै अवरुद्ध गरिदिए । सत्ता साझेदार कांग्रेसको यस्तो आक्रामक शैली देखेर प्रतिपक्षी माओवादीसमेत चकित थियो । प्राविधिक रूपमा प्रतिपक्ष माओवादी रहे पनि व्यावहारिक रूपमा कांग्रेस प्रतिपक्ष देखियो ।

मुख्यमन्त्री कँडेलले खर्चिलो संरचनालाई चुस्त बनाउन कांग्रेसकै अर्थमन्त्री राजीवविक्रम शाहको नेतृत्वमा अध्ययन समिति बनाए । तर, कांग्रेस दल नेता शाहीले ‘विज्ञ टोली चाहिने’ अडान लिएपछि आफ्नै मन्त्रीको समिति बैठकसमेत बस्न सकेन ।

पछि मुख्यमन्त्री कँडेलले कांग्रेसकै मागअनुसार अवकाशप्राप्त सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा समिति बनाए । समितिले प्रतिवेदन बुझायो र मन्त्रिपरिषद्ले अनुमोदन पनि गर्‍यो ।

कांग्रेस दलका नेता शाहीले उक्त प्रतिवेदनलाई ‘विज्ञको खोल ओढाएर ल्याइएको महाक्रान्तिकारी दस्तावेज’ मात्र भनेनन्, कर्मचारी र सरोकारवालालाई आतङ्कित बनाउने हतियारको रूपमा टिप्पणी गरे ।

उनकै दलका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मुख्यमन्त्रीलाई ठाडै ‘काउन्टर’ दिँदै प्रतिवेदन कुनै हालतमा कार्यान्वयन हुन नदिने सार्वजनिक चेतावनी दिए ।

कांग्रेसको दोहोरो चरित्रले मुख्यमन्त्री कँडेल आजित बने । यो सिलसिला कायमै रहँदा गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो ।

जेनजी विद्रोहपछि सरकार सुस्त बनेको छ । बिचमा निर्वाचन सुरु भयो । यो बिचमा कांग्रेसले सत्ता हातमा लिन र कँडेल नेतृत्वको सरकारमाथि खासै प्रश्न पनि उठाउन उचित ठानेन । तथापि मुख्यमन्त्री कँडेलले प्रतिनिधि सभा चुनावको समयमा कांग्रेसप्रति सार्वजनिक रूपमै नकारात्मक टिप्पणी गरेका कुराहरूबारे कांग्रेस संसदीय दलभित्र व्यापक प्रश्न उठेको छ ।

मुख्यमन्त्री कँडेलले चुनावी कार्यक्रममै ०४९ सालको चुनावको प्रसङ्ग निकाल्दै कांग्रेसले त्यो बेला चुनावमा एजेन्डा नभई ‘रक्सीका ग्यालिन’ लिएर जाने, अहिले अर्को पक्षले पार्टी कब्जा गर्दा एमाले मात्रै सडकमा आएको जस्ता टिप्पणी गर्थे, जुन कुरा कांग्रेसलाई मन परेको छैन ।

तत्कालीन अवस्थामा केन्द्रमा भएको कांग्रेस–एमाले समीकरण अनुसार केपी ओली डेढ वर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेसका शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने थियो । सोही अनुसार नै प्रदेशमा पनि सत्ता भागबन्डा भएको थियो ।

प्रदेशमा सत्ता भागबन्डाबारे छुट्टै सहमति भएको छैन । यदि त्यो बेलाकै केन्द्रीय समीकरणलाई आधार मान्दा पनि यही महिनाभित्र कर्णालीको मुख्यमन्त्री कांग्रेस दल नेता जीवनबहादुर शाही बन्नेछन् । तर, कांग्रेस–एमालेबिचको ‘क्यामेस्ट्री’ कर्णालीमा मिलेको देखिँदैन ।

यही अवस्थामा नेकपा नेता शाही र कांग्रेस नेता शाहीबिचको भेटघाट र छलफलले गठबन्धन फेरबदलको चर्चा स्वाभाविक उब्जायो ।

बुधबार बिहानमात्रै होइन, राति पनि कांग्रेसको टोलीसँग अर्थमन्त्री राजीवविक्रम शाहको निवासमा लामो समय छलफल भएको बताइएको छ, जहाँ दुई पूर्वमुख्यमन्त्री र कांग्रेसबाट हालका सबै मन्त्री, कांग्रेसका प्रदेश महामन्त्री सहभागी थिए ।

राति १२ बजेसम्म त्यहाँ छलफल भएको स्रोतले रातोपाटीलाई बतायो । ‘बिहानै पनि केही कुरा भएको थियो । साँझ पनि स्वाभाविक रूपमा उक्त विषयमा कुरा भयो नै,’ महेन्द्रबहादुर शाही निकट स्रोतले भन्यो, ‘सम्भवतः एकडेढ हप्तामा पक्कै केही नयाँ हुन्छ ।’

स्रोतका अनुसार नेकपाको समर्थनमा दुई हप्ताको बिचमा कांग्रेस दलका नेता शाही मुख्यमन्त्री नबन्लान् भन्न सकिन्न ।

महेन्द्र र जीवनबिचको सत्ता सहकार्य प्रदेश सरकारको पहिलो कार्यकालमै भएको थियो । एमालेको समर्थनमा मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीमाथि यामलाल कँडेलले पटक–पटक अविश्वासको प्रस्ताव ल्याएका थिए । महेन्द्रबहादुरको सत्ता सङ्कट पर्दा त्यो बेलाको प्रतिपक्षमा रहेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सहयोग गरेका थिए । जसका कारण महेन्द्रबहादुर नेतृत्वको सत्ता बच्यो भने प्रत्यक्षमा जम्मा एक सिट जितेका जीवनले डेढ वर्ष सरकार चलाउने अवसर पाए ।

जबकि पहिलो कार्यकालमा २० सिट जितेको एमाले नेता कँडेलको मुख्यमन्त्री बन्ने चाहना अपुरो रह्यो ।

कांग्रेस–माओेवादीकै गठबन्धन ०७९ को चुनावमा गयो । स्वयं प्रचण्डले नै जीवनलाई कर्णालीको मुख्यमन्त्री बनाउने भनेर हुम्लामा माओवादीका छिरिङ डम्डुल लामाले टिकट पाए भने जीवन प्रदेशमै बसे । तर, बिचमा गठबन्धन फेरबदल भइरहँदा उनी दोस्रो पटक मुख्यमन्त्री बन्न पाएनन् ।

दुई पूर्वमुख्यमन्त्रीबिच भएको छलफलमा यदि यामलाल कँडेलले सरकारको नेतृत्व नछाडे अर्को तरिकाले सोच्न सकिने विषयमा कुरा भएको स्रोत बताउँछ ।

‘सरकार र गठबन्धनको विषयमा के गर्ने, कसो गर्ने भन्ने छलफल भयो,’ स्रोतले रातोपाटीसँग भन्यो, ‘जीवनजीको मुख्यमन्त्री बन्ने पालो आयो, मुख्यमन्त्री बन्नुस् भनेर महेन्द्रजीले भन्नुभयो ।’

अहिलेकै गठबन्धनले पनि जीवनबहादुर शाहीलाई यामलालले सत्ता हस्तान्तरण गर्ने बेला आएको स्रोत बताउँछ । ‘यदि यामलालले छाड्दैनन् भने पूरै समय जीवनले समर्थन गर्ने कुरा हुँदैन,’ स्रोतले छलफलको कुरा उद्धृत गर्दै थप भन्यो ।

स्रोतका अनुसार अहिलेको अवस्थामा एमालेले जीवनलाई समर्थन नगरे नेकपा ‘छँदैछ नि’ भन्ने तरिकाले महेन्द्रले कुरा गरेका थिए । यद्यपि साँझको छलफलमा भने नेकपासँगै गठबन्धन बनाएर जान सजिलो हुने कुरामा जीवन शाही सकारात्मक भएको स्रोत बताउँछ ।

  • के भन्छन् कांग्रेस–नेकपा सांसद ?

साँझको बसाइमा सहभागी कांग्रेस नेता तथा प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले अर्थमन्त्रीको निवासमा सामान्य बधाई तथा भेटघाटमात्र भएको भन्दै टारे ।

‘अहिले त्यस्तो गठबन्धन नै बदलिने भन्ने त नहोला,’ उनले भने, ‘त्यस्तो केही कुरा भएन, खानपिन, यस्तै रमाइलोमात्रै हो ।’

जबकि दुई पूर्वमुख्यमन्त्रीबिच बिहानै भेटघाट भइसकेको थियो । बिहीबार प्रदेश सभा बैठकअघि बसेको कांग्रेस संसदीय दलको बैठकमा दल नेता शाहीसँग दुई पूर्वमुख्यमन्त्रीको भेटघाटबारे पत्रकारले सोधेका थिए । त्यहाँ दल नेता शाहीले सामान्य भेटघाट भनेका थिए ।

नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही र प्रमुख सचेतक कृष्णबहादुर जिसीले आफ्नो दलले अहिले नै सरकारमा जानेबारे नसोचेको बताए । ‘हामीले अहिलेनै सरकारमा जाने सोचेका छैनौँ,’ जिसीले भने ।

शाहीले भने नयाँ गठबन्धन बन्ने विषयमा नेकपा भन्दा कांग्रेसमा भर पर्ने बताए । ‘त्यसो हुँदा हामीबाट अभ्यास हुनुपर्ने अवस्था छैन,’ शाहीले भने ।

  • एमाले भन्छ– उहाँहरूको भेटलाई हामीले शङ्का मान्नुपर्दैन

यता एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले दुई पूर्वमुख्यमन्त्रीको भेटलाई एमालेले शङ्काको रूपमा नलिएको बताए ।

‘बजारमा के–के आउँछन्, ती सबैलाई मानिराख्नुपर्ने छैन । ध्यान दिने कुरा पनि भएन,’ उनले भने, ‘बधाईसधाई, यसो खानपिनका तस्बिर पनि होलान् । त्यसलाई शङ्का मानिराख्नु पर्दैन ।’

विगतको समीकरण अनुसार कँडेलले सत्ता हस्तान्तरण गर्नुहुन्छ त भन्ने प्रश्नमा उनी अकमकिए । ‘अहिले परिस्थिति बदलिएको छ, के गर्ने भन्ने विषयमा सत्ता साझेदार दलका शीर्ष नेताहरूबिच कुरा भइराख्या होला,’ उनले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप