बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कांग्रेसको चुनावी समीक्षा

विश्वप्रकाश शर्माले देखेका हारका २७ र आशा गर्न सक्ने ७ कारण

निर्वाचनको प्रचारप्रसारमा नेताहरूको असहयोगलाई पनि देखाए हारको कारण
शुक्रबार, ०६ चैत २०८२, १७ : १५
शुक्रबार, ०६ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले निर्वाचनमा हारको २७ कारण औँल्याएका छन्।
  • शर्माले उम्मेदवार चयन र प्रचारमा केही नेताको असहयोग, गठबन्धनको प्रयोग र सरकारको कार्यशैलीलाई हारका कारण मानेका छन्।
  • शर्माले पार्टीभित्रको गुटबन्दी, भ्रष्टाचार नियन्त्रणमा असफलता र नागरिकलाई प्रताडित पार्ने ढिलासुस्तीलाई पनि हारको कारण मानेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले पार्टीले पराजय व्यहोर्नुमा २७ कारण औँल्याएका छन् । शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा ‘प्रतिनिधि सभा निर्वाचन ०८२ : नेपाली कांग्रेसको प्रारम्भिक समीक्षा’ शीर्षकमा प्रतिवेदन प्रस्तुत गर्दै शर्माले हारका २७ कारण औँल्याएका हुन् ।

शर्माले केन्द्रीय कार्यसमिति बैठकमा १४ पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन् । गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशन र निर्वाचन लक्षित प्रतिवेदनमा उनले पार्टीले हार व्यहोरे पनि आशा गर्न सक्ने ७ कारण बाँकी रहेको उल्लेख गरेका छन् ।

शर्माले चुनावी समीक्षामा उम्मेदवार चयन र निर्वाचन प्रचारमा केही नेताको असहयोग हारको महत्त्वपूर्ण कारण रहेको उल्लेख गरेका छन् । उनले नयाँ संविधान बनेपछि राजनीतिमा सोही अनुरुप परिवर्तन र परिमार्जन गर्न नसकेको, विगत ७५ वर्षमा देशले निरन्तर ५ वर्ष शासन गर्न सक्ने प्रधानमन्त्री नपाएको, नयाँ सरकार आउँदा पनि पुरानै अनुहार दोहोरिँदा नागरिक पंक्तिमा आएको वितृष्णा तथा देशलाई नीति र थितिमा स्थिरता दिन नसकेर बेथिति उब्जाएको विषयलाई हारको कारण औँल्याएका छन् ।

त्यस्तै ०७४ को दुई तिहाइको सरकारबाट अपेक्षा पूरा नहुँदा नागरिकमा फैलिएको निराशा, निर्वाचन जित्नका लागि गठबन्धनको प्रयोगले पार्टी पंक्ति र नागरिकमा असन्तुष्टि, ०७९ को स्थानीय निर्वाचन, ०७९ को संघीय निर्वाचन र भदौ २३/२४ को जेनजी विद्रोह जस्ता घटनाहरूबाट नागरिक असन्तुष्टि सतहमा आउनुलाई पनि शर्माले हारको कारण मानेका छन् ।

चुनावमा माओवादीसँग गठबन्धन र पछि एमालेसँग सत्ता गठबन्धन गर्दा पार्टी पंक्तिमा देखिएको असन्तुष्टि र नागरिकमा देखिएको वितृष्णा, पार्टीले मुख्य प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसक्दा नागरिकका असन्तुष्टि सडकमा जानुलाई पनि हारको कारणका रूपमा शर्माले प्रतिवेदनमा औँल्याएका छन् ।

सरकारले गर्नुपर्ने काम नगर्ने र नगर्नुपर्ने काम गर्ने प्रवृत्तिले दुष्परिणाम निम्त्याएको उल्लेख गर्दै उनले पार्टीका तर्फबाट अहिलेसम्म गरेका कामको प्रचार गर्न नसक्ने पुरानो छविलाई पनि दोष दिएका छन् ।

पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाले ६ दशकअघि औँल्याएका कमजोरी अझै पनि कायम रहेको जिकिर गर्दै पार्टीभित्रको गुटबन्दी र व्यक्ति केन्द्रित राजनीतिलाई पनि हारको कारण मानिएको छ । पार्टी नेतृत्वको सरकार भएको बेलामा सरकारी र गैरसरकारी क्षेत्रमा समेत अति राजनीतीकरण र भागबन्डाले पार्टीमा नकारात्मक छवि स्थापित भएको शर्माले प्रतिवेदनमा ठहर गरेका छन् ।

पार्टीमा ‘ग्रेसफुल एक्जिट’ को नीति नबनाएर नेतृत्वमा निरन्तर पुरानै अनुहार देखिनु, भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापित गर्न नसक्नु र नागरिकलाई प्रताडित पार्नेगरी प्रशासनिक र समग्र क्षेत्रमा ढिलासुस्ती गर्नुलाई पनि प्रतिवेदनमा हारको कारणका रूपमा प्रस्तुत गरिएको छ ।

देशमा भएका सकारात्मक कार्यहरू ओझेलमा पर्नु र नकारात्मक भाष्यले नागरिकलाई प्रभावित पार्नु, देशको अर्थतन्त्र श्रीलंका जस्तै हुने त्रासले बजारमा फैलिएको अनिश्चितता, लोकप्रियतावादको लहरलाई गम्भीरतापूर्वक नलिई त्यसको चपेटामा पर्नुलाई पनि हारको कारणका रूपमा उल्लेख गरिएको छ । ‘एल्गोरिदम’ को ‘उपनिवेश’ बाट नागरिकलाई स्वतन्त्र विवेकमा ल्याउन नसक्नु र निजी क्षेत्रको विकासमा कांग्रेसको योगदान बुझाउन नसक्दा आलोचनाको शिकार हुनुलाई पनि हारको कारणमा उल्लेख गरिएको छ ।

वैदेशिक रोजगारीलाई अपराधजस्तो मनोविज्ञान बनाइदिने प्रवृत्ति, गैर आवासीय नेपालीहरूको मनोविज्ञानलाई बुझ्न र देशको वास्तविकता पुर्‍याउन नसक्नु तथा विशेष महाधिवेशनले ल्याएको परिवर्तनको सन्देश मतदातासम्म पुग्न समय अपुग हुनु पनि हारको कारण देखाइएको छ । शर्माले पार्टीको संगठन संरचना पुरानै ढाँचाले नवीन चुनौती धान्न नसकेका कारण चुनावमा पार्टी पराजित हुनु परेको उल्लेख गरेका छन् ।

आशाका ७ कारण

निर्वाचनमा पराजित भए पनि केही आशाका किरण जगाउन सकिएको प्रतिवेदनमा उल्लेख छ । निर्वाचनमा पराजित भए पनि कांग्रेसले अङ्गीकार गरेका राजनीतिक र आर्थिक नीतिहरू अन्य दलहरूका समेत साझा मार्ग बन्न पुगेका शर्माको प्रतिवेदनमा उल्लेख छ ।

कांग्रेसले संसदमा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने तथा विशेष महाधिवेशनले पार्टी पंक्तिमा ऊर्जा थपिएकाले नयाँ परिस्थिति विकास गर्न सक्ने ऊर्जा आम पार्टी सदस्यमा रहेको शर्माको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा शर्माले विशेष महाधिवेशनले नवीन रक्तसञ्चार गरेको र पार्टीलाई खराब अवस्थामा पुग्नबाट जोगाएको उल्लेख गर्दै बौद्धिक क्षेत्रबाट पार्टीलाई नयाँ योजनाका साथ अघि बढाउन सहयोगको अपेक्षा गरेका छन् । विशेष महाधिवेशनसँग असहमत रहेकाहरूमा पनि पार्टीलाई नवीन सम्भावनाको मार्गमा ऐक्यबद्ध भएर लैजानुपर्ने भावना प्रबल देखिएको शर्माको निष्कर्ष छ ।

उनले नागरिक असन्तुष्टि विगत बनिसकेकाले विगतमा गरेका राम्रा कामहरूलाई नागरिक पंक्तिमा पुर्‍याउन र नयाँ सङ्कल्पका साथ अघि बढ्न समय मिलेको बताएका छन् ।

आत्मसमीक्षा गर्दै जनमतको सम्मान

शर्माले निर्वाचनको परिणामलाई उच्च लोकतान्त्रिक संस्कृति अनुरुप आत्मसात् गर्ने कांग्रेसको प्रतिबद्धता दोहोर्‍याएका छन् । निर्वाचनले संसदीय लोकतान्त्रिक प्रणालीप्रति नेपालीहरूको निष्ठालाई थप मजबुत बनाएको उनले उल्लेख गरेका छन् । सँगसँगै उनले निर्वाचन परिणामको गहिरो समीक्षा आवश्यक रहेको औँल्याएका छन् ।

विगत ३४ वर्षमा कांग्रेस पहिलो र दोस्रो दल बन्ने क्रम निरन्तर रहेको औँल्याउँदै शर्माले यो अवस्थालाई संयोगमात्र नमानेर यसको गहिरो समीक्षा गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।

नैतिक जिम्मेवारी सामूहिक दायित्व हो

शर्माले कांग्रेसको पराजयलाई स्वीकार गर्दै यसको नैतिक जिम्मेवारी केवल एक नेतृत्व वा कार्यसमितिमा मात्र नभई सिङ्गो पार्टी पंक्तिमा रहेको बताएका छन् । सभापति गगन थापाको राजीनामालाई नैतिक प्रस्तुतिका रूपमा सम्मान गरे पनि समग्र पराजयको जिम्मेवार कांग्रेस पार्टी नै रहेको शर्माको जिकिर छ ।

विशेष महाधिवेशन पश्चातको छोटो अवधिमा निर्वाचनको सामना गर्नुपरेको र परिवर्तनको सन्देशलाई नागरिकसम्म पुर्‍याउन नसकिएको उनले औँल्याएका छन् ।

प्रतिवेदनमा शर्माले सभापति थापाले दिएको राजीनामालाई अस्वीकृत गर्ने पनि उल्लेख गरेका छन् । नयाँ नेतृत्व आएको छोटो अवधिमा दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत नभएको र प्रतिकूलता चिरेर पार्टीलाई अनुकूलतामा पुर्‍याउने कमान्ड छोड्नु संगठनप्रति न्याय नहुने शर्माले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप