एमालेको संसदीय मोर्चा पूर्वमाओवादीको काँधमा !
सारांश
- नेकपा एमालेका ११ जना पदाधिकारीमध्ये कसैले चुनाव नजितेपछि रामबहादुर थापा संसदीय दलको नेता बन्ने सम्भावना बढेको छ।
- एमालेमा युवा पुस्ताबाट दलको नेता बनाउनुपर्ने आवाज उठे पनि अध्यक्ष केपी शर्मा ओलीको चाहना बादललाई नै नेता बनाउने देखिएको छ।
- एमाले सचिव पद्मा अर्यालले दलको नेता चयनबारे पार्टीमा औपचारिक छलफल नभएको र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताइन्।
काठमाडौँ । फागुन २१ मा प्रत्यक्षतर्फ चुनाव लडेका नेकपा एमालेका ११ जना पदाधिकारीमध्ये कसैले पनि निर्वाचन नजितेपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संसदीय दलको नेता बन्ने लगभग निश्चित भएको छ । पूर्वमाओवादी नेता समेत रहेका उपाध्यक्ष थापा भने समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
१९ सदस्यीय एमाले पदाधिकारीमध्ये थापासँगै सचिव पद्यमा अर्याल पनि समानुपातिक सांसद बनेकी छन् । प्रत्यक्षतर्फ भने एमालेका अध्यक्ष, महासचिव, उपाध्यक्ष, उपमहासचिव र सचिवहरू कसैले पनि निर्वाचन जित्न सकेनन् ।
एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सांसद जितेको छ । प्रत्यक्षतर्फ अध्यक्षसहितका पदाधिकारीले चुनाव नजितेपछि वरिष्ठताको हिसाबले पनि थापालाई संसदीय दलको नेता बनाउने गरी एमाले नेताहरूबिच अनौपचारिक कुराकानीहरू भइरहेको एक नेताले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेकाले औपचारिक रूपमा त्यसबारे कुराकानी नभए पनि ‘वेट’को हिसाबले बादलबाहेक अरू सांसद दलको नेता हुने सम्भावना कम रहेको अध्यक्ष ओली निकटका ती नेताको भनाइ छ ।
‘अध्यक्ष अहिले पितृशोकमा हुनुहुन्छ । शोकमा भएका बेला त्यसबारे कुनै छलफल हुने कुरा पनि भएन’, एक पदाधिकारीले भने, ‘तर निर्वाचित सांसदहरूमध्येबाट उपाध्यक्ष थापा नै दलको नेता बन्ने देखिन्छ ।’
त्यसो त एमालेभित्र युवा पुस्ताका सांसदलाई दलको नेता बनाएर पार्टीमा थोरै भए पनि परिवर्तनको आभास दिलाउनुपर्ने आवाज नउठेको भने होइन । युवा पुस्ताबाट प्रत्यक्षतर्फ चुनाव जित्नेमा इलाम २ बाट सुहाङ नेम्वाङ, ताप्लेजुङबाट क्षितिज थेवे, धनकुटाबाट राजेन्द्र राई, बझाङबाट ऐन महर छन् । त्यसबाहेक अछामबाट यज्ञबहादुर बोगटी, दैलेख–२ बाट लक्ष्मीप्रसाद पोखरेल,बाँके –२ बाट मोहम्मद इश्तियाक राई, दार्चुला १ बाट गणेश सिंह ठगुन्ना र सङ्खुवासभाबाट अर्जुनकुमार कार्की पनि प्रत्यक्ष निर्वाचन जित्ने सांसदहरूमा पर्छन् ।
‘परिवर्तित अवस्थामा युवा पुस्ताबाट दलको नेता चयन गर्दा राम्रो हुन्छ भन्ने एमालेभित्र आवाज त उठेको छ तर त्यो आवाजको सुनुवाइ हुने देखिँदैन’, एक युवा सांसद भन्छन्, ‘ त्यसमध्येमा इलामबाट निर्वाचन जितेका सुहाङ नेम्वाङ उपयुक्त हुनसक्छ भनेर हामीबिचमा सामान्य छलफल भए पनि अध्यक्षले कसलाई भन्नुहुन्छ उही हुने अवस्था हो ।’
एमाले सचिव पद्यमा अर्यालले दलको नेता चयनबारे पार्टीमा औपचारिक छलफल भैनसकेको बताइन् ।
‘अध्यक्ष शोकमा हुनुहुन्छ । दुःखबाट उक्सेपछि बैठक बसेर छलफल होला । अहिले नै यो उ भन्ने केही छैन’, अर्यालले रातोपाटीसँग भनिन् ‘पाँच वर्ष एमाले सरकार बनाउने र सरकारमा जाने अवस्था होइन त्यसैले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सोही अनुसार नेता दलको चयन होला ।’

एमालेले प्रतिपक्षबाट जनताको मतको रक्षा गर्दै सरकारलाई सही ट्र्याकमा ल्याउने सचिव अर्यालको भनाइ छ । संसदमा एमालेको भूमिका जनताको हित र राष्ट्रहितको पक्षमा सशक्त हुने भन्दै उनले राम्रो काममा सहयोग र गलत कार्यमा कडा खबरदारी गर्ने पक्षमा रहेको बताइन् ।
सांसद नेम्वाङले अहिलेसम्म दलको नेताबारे अध्यक्षसँग आफ्नो कुनै छलफल र कुराकानी भैनसकेको प्रतिक्रिया दिए ।
‘अहिले अध्यक्षसँग कुरा गर्ने अवस्था पनि छैन, गरेको पनि छैन’, नेम्वाङले रातोपाटीसँग भने, ‘हतार पनि छैन । पार्टीले गर्नेे निर्णय हामीले मान्ने हो ।’
सुहाङ संविधान सभा सदस्य सुवासचन्द्र नेम्वाङका छोरा हुन् । उनी आफ्ना बुबाको निधनपछि भएको उपनिर्वाचनमा पहिलो पटक संसद छिरेका हुन् ।
‘सुहाङ, क्षितिज र राजेन्द्रमध्ये एक जनालाई दलको नेता बनाउँदा राम्रै सन्देश जान्छ’, एक पदाधिकारीले भने, ‘तर अध्यक्षको चाहाना उपाध्यक्ष रामबहादुर थापा ‘वादल’लाई नै बनाउने बुझिन्छ ।’

थापा तत्कालीन एमाले र माओवादीबिच मिलेर बनेको नेकपाकालदेखि अध्यक्ष ओली निकट नेता भनेर चिनिन्छन् । नेकपा विभाजन भएर ओली प्रचण्ड पूर्ववत् पार्टी नेतृत्व सम्हाल्दा पनि उनी एमालेसँग बसेका थिए । प्रचण्ड छाडेर ओलीतिर लागेका थापालाई त्यसयता सबैभन्दा धेरै अवसर पाउने नेताका रूपमा समेत हेरिने गरेको छ ।
नेकपा विभाजनमा बादलसहित नेताहरू लेखराज भट्ट र टोपबहादुर रायमाझी पनि एमालेमै बसेका थिए । नेकपा विभाजनपछि पहिलो पटक २०७८ सालमा चितवनमा भएको एमालेको १०औँ महाधिवेशनमा उपाध्यक्ष पद पाएका थापाले ११ औंमा पनि उपाध्यक्ष सुरक्षित गरेका थिए ।
जेनजी आन्दोलनपछि भएको निर्वाचनमा एमालेका धेरै पदाधिकारीहरू प्रत्यक्ष निर्वाचन लड्दा पनि थापा भने ओलीकै चाहानामा समानुपातिक सूचीमा बसेर आफ्नो सांसद पद सुरक्षित गर्न सफल भएका थिए ।
जेनजी आन्दोलनपछि भएको निर्वाचनमा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपामात्र राष्ट्रिय दल बन्न सफल भएका छन् । नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण