शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वप्रमुख निर्वाचन आयुक्त थपलियाको ‘विचित्रको लोकतन्त्र : गजबको निर्वाचन’ सार्वजनिक

आइतबार, ०८ चैत २०८२, १० : ५१
आइतबार, ०८ चैत २०८२

सारांश

  • पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको पुस्तक 'विचित्रको लोकतन्त्र: गजबको निर्वाचन' सार्वजनिक भयो।
  • पुस्तकले लोकतन्त्र, निर्वाचन प्रणाली र समसामयिक विषयवस्तुहरूलाई समेटेको छ।
  • पुस्तकमा अमेरिकी निर्वाचन, नेपालको सन्दर्भ र लोकतन्त्रका विविध पक्षहरूमाथि प्रकाश पारिएको छ।

काठमाडौँ । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाद्वारा लिखित पुस्तक ‘विचित्रको लोकतन्त्र : गजबको निर्वाचन’ सार्वजनिक भएको छ । परिपक्व लोकतन्त्रको भित्री संरचना, प्रविधि, पैसा र जनमतबिचको अन्तरसम्बन्धलाई आत्मानुभूति र विश्लेषणात्मक दृष्टिबाट प्रस्तुत गरिएको सार्वजनिक कृतिले लोकतन्त्रलाई केवल मतपेटिका र परिणामको सीमाभन्दा बाहिर निकाल्दै व्यापक सन्दर्भमा बुझ्ने प्रयास गर्दछ ।

सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनको प्रत्यक्ष अवलोकनका आधारमा लेखिएको यस पुस्तकमा इतिहास, विचार, संस्थागत संरचना, राजनीतिक संस्कार र नागरिक चेतनाको समग्र परिप्रेक्ष्य समेटिएको छ ।

पुस्तकमा अवलोकन प्रतिवेदन मात्र होइन : अमेरिकी निर्वाचन प्रणाली, इलेक्टोरल कलेज, दुई दलीय बर्चस्व, चुनावी खर्च, प्रविधिको प्रयोग, मतदाताको मनोविज्ञान, स्विङ्ग स्टेट्सको राजनीति तथा डिजिटल युगका चुनौतीहरूबारे गहन विमर्श गरिएको छ । साथै, भारत, थाइल्यान्ड, भुटान, युरोप, अस्ट्रेलिया तथा अफ्रिकी मुलुकहरूको अभ्याससँग तुलना गर्दै लोकतन्त्रका शक्ति र विरोधाभास दुवैलाई उजागर गरिएको छ ।

लोकतन्त्रप्रति विश्वास, प्रश्न र पुनर्चिन्तनको संगम बनेको यस कृतिले नेपालजस्ता विकासशील लोकतन्त्रका लागि संस्थागत सुदृढीकरण र निर्वाचन सुधारतर्फ नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ । लोकतन्त्रलाई जीवित चेतनाका रूपमा बुझ्न चाहने तथा निर्वाचनलाई आवधिक प्रक्रियाभन्दा फराकिलो आयाममा हेर्न चाहने प्रत्येक पाठकका लागि यो पुस्तक एक महत्त्वपूर्ण विचार–यात्रा हो ।

पुस्तकका लेखक थपलियाले आफ्नो कार्यकालमा सङ्घीय संरचनाअनुसारका प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गराउँदै सार्वजनिक प्रशासनमा उच्चस्तरीय व्यवस्थापकीय क्षमता प्रदर्शन गरेका छन् ।

प्रशासनिक प्रणालीका सूक्ष्म विश्लेषक, लोकतन्त्रका अनुभवी अभ्यासकर्ता तथा समाज परिवर्तनका चिन्तकका रूपमा परिचित थपलिया नेपाली भाषा–साहित्यका सशक्त सर्जक पनि हुन् ।  ‘विचित्रको लोकतन्त्र: गजब’ को निर्वाचन कृति उनको छैटौँ प्रकाशन हो । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ७५० रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप