व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ
सारांश
- पौवादुङमा गाउँपालिकाका वडाध्यक्ष राजेन्द्र तामाङ व्यावसायिक गाईपालनमा व्यस्त छन् र मासिक २५-३० हजार आम्दानी गर्छन्।
- उनले गाईपालनबाट प्राप्त आम्दानीले परिवारको खर्च धान्दै थप लगानीका लागि प्रेरणा पाएका छन्, र स्थानीय किसानलाई समेत आकर्षित गरेका छन्।
- वडाध्यक्ष तामाङले युवाहरूलाई गाउँमै बसेर कृषि र पशुपालनमा लाग्न आग्रह गर्दै फार्म विस्तार गर्ने योजना बनाएका छन्।
भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका साथसाथमा उत्पादनमूलक क्षेत्रमा लागिरहेका छन् ।
तामाङले सञ्चालन गरेको गाई फार्ममा हाल चार उन्नत जातका गाई रहेका छन् । व्यवस्थित रूपमा गाईपालन गर्दै आएका उनले आधुनिक तरिका अपनाउँदै उत्पादन बढाउने प्रयाससमेत गरिरहेका छन् ।
दैनिक रूपमा उत्पादन हुने दूध स्थानीय बजारमा बिक्री गर्दै उनले आम्दानी लिन सफल भएका छन् । दूध बिक्रीबाट सबै खर्च कटाएर मासिक रु २५ हजारदेखि ३० हजारसम्म आम्दानी भइरहेको उनको भनाइ छ । उनका अनुसार जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गर्दै बाँकी समयलाई कृषि तथा पशुपालनमा लगानी गर्दा आर्थिक रूपमा सुदृढ बन्न सकिन्छ ।
“समय व्यवस्थापन गरेर काम गर्न सकियो भने सरकारी जिम्मेवारीसँगै उत्पादनमूलक क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ,” उनले भने, “युवाहरू वैदेशिक रोजगारीमा जानुभन्दा गाउँमै केही गरेर देखाउनुपर्छ भन्ने मेरो सन्देश हो ।”
गाईपालनबाट प्राप्त आम्दानीले परिवारको खर्च धान्न सहयोग पुग्नुका साथै थप लगानीका लागि प्रेरणा मिलेको उनले बताए । पछिल्लो समय दानापानी, औषधि तथा व्यवस्थापनमा हुने खर्च बढे पनि उचित योजना र मेहनतले राम्रो प्रतिफल लिन सकिने उनको अनुभव छ ।
तामाङको यस पहलले स्थानीय किसानलाई समेत व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न मद्दत पुगेको छ । उनको फार्म अवलोकन गर्न आउने स्थानीयले गाईपालनसम्बन्धी जानकारी लिनुका साथै आफ्नै गाउँमा व्यवसाय सुरु गर्ने सोच बनाउने गरेका छन् । श्यामशिलाका ३९ जना किसानले उन्नत जातका गाई पाल्दै आएका छन् । यसले गाउँस्तरमै रोजगारी सिर्जना र आयआर्जन वृद्धि गर्ने सम्भावनालाई बलियो बनाएको छ ।
पौवादुङमा गाउँपालिकाले समेत कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भमा जनप्रतिनिधि नै यस क्षेत्रमा सक्रिय हुनु सकारात्मक सङ्केतका रूपमा हेरिएको छ । स्थानीय तहले दिने अनुदान, तालिम तथा प्राविधिक सहयोगको प्रभावकारी उपयोग गर्न सकेमा किसानको जीवनस्तर सुधार गर्न सकिने सरोकारवालाको भनाइ छ ।
भविष्यमा गाईको सङ्ख्या बढाएर फार्मलाई अझ विस्तार गर्ने योजना रहेको तामाङले जानकारी दिए । उनले दूध उत्पादनसँगै अन्य दुग्धजन्य पदार्थ उत्पादनतर्फ समेत ध्यान दिने सोच बनाएका छन् । गाउँमै बसेर मेहनत गर्दा आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिँदै तामाङले युवाहरूलाई कृषि र पशुपालनतर्फ आकर्षित हुन आग्रह गरेका छन् ।
गाई फार्मबाट उत्पादन भएको प्राङगारिक मलको सदुपयोग गर्ने लक्ष्यले उनले करिब ३०० रोपनी क्षेत्रमा किबी खेतीसमेत विस्तार गरेको जानकारी दिए । उनले थालेको कामलाई परिवारका सदस्यले आवश्यक सहयोग गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण