शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कति समयपछि बदल्नुपर्छ वाईफाई राउटर ?

सोमबार, ०९ चैत २०८२, १२ : १८
सोमबार, ०९ चैत २०८२

सारांश

  • विज्ञहरूका अनुसार, पुरानो वाइफाइ राउटरले इन्टरनेटको गति कम हुनुका साथै व्यक्तिगत गोपनीयतालाई खतरामा पार्न सक्छ।
  • ४-५ वर्ष पुराना राउटरहरूलाई प्रविधिको विकास र सुरक्षाका लागि बदल्नुपर्छ, किनकि यसले इन्टरनेटको गति कम गर्छ र सुरक्षा जोखिम बढाउँछ।
  • नयाँ राउटरहरूले उच्च गति, सुरक्षा प्रोटोकल र धेरै उपकरणहरूलाई समर्थन गर्ने क्षमता प्रदान गर्छन्।

काठमाडौँ । घरमा एकपटक वाईफाई जडान गरेपछि धेरैजसो प्रयोगकर्ताले राउटरलाई वर्षौँसम्म वा नबिग्रिएसम्म चलाइरहने गर्छन् । तर, अन्य विद्युतीय उपकरण जस्तै वाईफाई राउटरको पनि निश्चित ‘एक्स्पायरी डेट’ हुने र पुरानो राउटरका कारण इन्टरनेटको गति मात्र नभई व्यक्तिगत गोपनीयता समेत खतरामा पर्न सक्ने विज्ञहरूले औँल्याएका छन् ।

सामान्यतया वाईफाई राउटरको कुनै लिखित म्याद समाप्त हुने मिति नभए पनि प्रविधिको विकास र सुरक्षाका दृष्टिकोणले ४ देखि ५ वर्षमा राउटर बदल्नु उपयुक्त हुने मानिन्छ । अमेरिकाको कन्जुमर रिपोर्ट्स जस्ता संस्थाहरूका अनुसार ३ देखि ५ वर्ष पुराना राउटरहरूलाई अपग्रेड गर्नु जरुरी छ । 

पुरानो राउटर प्रयोग गरिरहँदा प्रयोगकर्ताले इन्टरनेटको स्पिड कम हुने देखि लिएर सिग्नल नटिप्ने जस्ता थुप्रै समस्या झेल्नुपर्ने हुन्छ । पुरानो राउटर चलाउँदा हुने सबैभन्दा ठूलो बेफाइदा भनेको इन्टरनेटको सुस्त गति हो । 

धेरैजसो पुराना राउटरहरू ‘वाईफाई ४’ वा ‘वाईफाई ५’ जस्ता पुराना स्ट्यान्डर्डमा आधारित हुन्छन् । यस्तो अवस्थामा प्रयोगकर्ताले १०० एमबीपीएसको महँगो प्लान लिए पनि राउटरको क्षमता कम हुँदा ३०-४० एमबीपीएस मात्र स्पिड प्राप्त हुने गर्दछ । जबकि नयाँ ‘वाईफाई ६’ प्रविधिका राउटरहरूले उच्च गतिको इन्टरनेट प्रवाह गर्न सक्छन् ।

गतिको तुलनामा सुरक्षाको विषय अझ गम्भीर छ । धेरै वर्ष पुराना राउटरहरूका लागि उत्पादक कम्पनीले सफ्टवेयर अपडेट दिन बन्द गरिसकेका हुन्छन् । यस्तोमा सुरक्षा कवच नभएका पुराना राउटरहरू ह्याकरको सजिलो निशाना बन्ने गर्छन्, जसका कारण प्रयोगकर्ताको व्यक्तिगत विवरण, पासवर्ड र बैंक विवरणहरू चोरी हुने जोखिम उच्च रहन्छ । नयाँ राउटरहरू भने आधुनिक सुरक्षा प्रोटोकल (डब्लूपीए ३) सँग आउने हुनाले तुलनात्मक रूपमा सुरक्षित हुन्छन् ।

यसैगरी, राउटरभित्रका एन्टिना र अन्य पार्टपूर्जाहरू समयसँगै तातेर कमजोर हुने हुनाले सिग्नलको रेन्ज घट्दै जान्छ । नयाँ राउटरहरूमा ‘बिमफर्मिङ’ जस्ता आधुनिक प्रविधि हुने भएकाले यसले सिग्नललाई सिधै डिभाइसतर्फ केन्द्रित गरी राम्रो रेन्ज प्रदान गर्छन् । साथै, आजकल घरमा ल्यापटप, स्मार्ट टिभी, एलेक्सा र स्मार्ट बल्ब जस्ता धेरै डिभाइसहरू वाईफाईमा कनेक्ट हुने गर्छन् । 

पुरानो राउटरले यति धेरै लोड धान्न सक्दैन, तर नयाँ राउटरमा हुने ‘MU-MIMO’ प्रविधिले एकैसाथ धेरै उपकरणहरूलाई सहजै व्यवस्थापन गर्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप