बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्याङ्जाका चन्द्र: जो एउटै कोठाबाट सेलिब्रेटीको ‘डिजिटल साम्राज्य’ सम्हाल्छन्

मङ्गलबार, १० चैत २०८२, २२ : ३६
मङ्गलबार, १० चैत २०८२

सारांश

  • स्याङ्जाका २० वर्षीय चन्द्र काफ्लेले लकडाउनको समयमा डिजिटल करियर सुरु गरे, र अहिले उनी विभिन्न सेलिब्रेटीहरूको डिजिटल साम्राज्य सम्हालिरहेका छन्।
  • उनले २५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेलिब्रेटीहरूको डिजिटल प्रोफाइल र सुरक्षाको जिम्मा लिएका छन्, जसमा खेलाडी र पत्रकारहरू पनि छन्।
  • चन्द्रले भविष्यमा अन्तर्राष्ट्रिय बजारका थप जटिल प्राविधिक पक्षमा केन्द्रित हुने लक्ष्य राखेका छन्, र नेपाली प्रतिभाको डिजिटल सुरक्षामा जोड दिन्छन्।

स्याङ्जा । २० वर्षीय चन्द्र काफ्लेले प्रविधिमा आफ्नो भविष्य खोज्छु भन्ने सोचेकै थिएनन् । जीवनका धेरै मोडहरू आकस्मिक हुन्छन्, र चन्द्रको जीवनमा पनि त्यस्तै भइदियो । लकडाउनको फुर्सदलाई अवसरमा बदल्दै उनले आज स्वदेश तथा विदेशका चर्चित व्यक्तित्वहरूको ‘डिजिटल साम्राज्य’ सम्हालिरहेका छन् ।

जिज्ञासाले डोर्‍याएको बाटो

‘लकडाउनको फुर्सदमा इन्टरनेटमा समय बिताउँदा मैले कतिपय स्थापित व्यक्तित्वका सामाजिक सञ्जाल ह्याक भएको वा नक्कली अकाउन्टले भ्रम फैलाएको देख्थेँ । ती समस्यालाई प्राविधिक रूपमा कसरी समाधान गर्न सकिन्छ भन्ने जिज्ञासाले मलाई यसतर्फ डोर्‍यायो,’ चन्द्र ४ वर्षअघिका सुरुवाती दिन सम्झन्छन् ।

सानैदेखि जिज्ञासु स्वभावका चन्द्रको प्रविधिप्रतिको लगाव घरमा पहिलो पटक टेलिभिजन भित्रिँदा सुरु भएको थियो । कक्षा ६ मा पढ्दै गर्दा पर्दामा देखिने दृश्यले उनलाई आश्चर्यचकित बनाउँथ्यो । त्यही जिज्ञासाले उनलाई मोबाइल र कम्प्युटरको संसारमा तान्यो ।

एउटै कोठाबाट अन्तर्राष्ट्रिय पहुँच

छोटो समयमै चन्द्रले आफ्नो कार्यक्षेत्रलाई निकै फराकिलो बनाएका छन् । हालसम्म उनले २५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेलिब्रेटी, चर्चित क्रिकेटर र स्थापित पत्रकारहरूको डिजिटल प्रोफाइल र सुरक्षाको जिम्मा सम्हालिसकेका छन् ।

नामिबियाका क्रिकेटर रुबेन ट्रम्पलम्यान नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्न आउँदा उनको प्रोफाइललाई आधिकारिकता दिलाउनेदेखि नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, र नन्दन यादवजस्ता खेलाडीको डिजिटल पहिचान व्यवस्थित गर्ने काम चन्द्रले नै गर्दै आएका छन् । धेरैको ‘ब्लु टिक’ भेरिफिकेसनदेखि गुगलमा आधिकारिक सूचना (नलेज प्लान) व्यवस्थापन र डिजिटल सुरक्षाको प्राविधिक पक्ष उनले सम्हाल्छन् ।

पारिवारिक अपेक्षा र आफ्नो रोजाइ

स्याङ्जाको अर्जुनचौपारीको ग्रामीण परिवेशमा हुर्किएका चन्द्रका बुबा मुक्तिनाथ काफ्ले छोरा सरकारी सेवामा लागोस् भन्ने चाहन्थे । तर, चन्द्रको रुचि प्रविधिमा थियो । ‘मेरो मन र मस्तिष्क ल्यापटपको स्क्रिनभित्रै कैद भइसकेको थियो, उनी भन्छन् । सुरुमा परिवारलाई उनको लगावले चिन्तित बनाए पनि आफ्नो बाटोमा उनको विश्वास डगमगाएन ।

१३ वर्षकै उमेरदेखि कविता र संस्मरण लेख्न थालेका चन्द्रका रचनाहरू विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित भएका छन् । यही लेखनप्रतिको मोह र प्रविधिको ज्ञानले उनलाई डिजिटल क्षेत्रमा सफल हुन मद्दत गर्‍यो ।

व्यावसायिक सफलता र भविष्यको लक्ष्य

सुरुमा केही लेखक तथा कलाकारको पेज सुरक्षित बनाउने कामबाट यात्रा थालेका चन्द्रले (एनपीएल) को समयमा विदेशी खेलाडीको प्रोफाइल व्यवस्थापन गरेपछि अन्तर्राष्ट्रिय अनुभव बटुल्ने मौका पाए । ‘एउटै कोठामा बसेर अन्तर्राष्ट्रिय खेलाडीको डिजिटल पहिचान व्यवस्थापन गर्नुको खुसी बेग्लै हुन्छ,’ उनले भने ।

अहिले उनी सञ्चारकर्मी ऋषि धमला, कलाकार राजु मास्टरदेखि पूर्व मन्त्री सुरेन्द्र पाण्डेसम्मलाई प्राविधिक सहयोग दिइरहेका छन् । स्वतन्त्र रूपमा काम गर्दै उनी पूर्णतः आत्मनिर्भर बनेका छन् ।

भविष्यमा अन्तर्राष्ट्रिय बजारका थप जटिल प्राविधिक पक्षमा केन्द्रित हुने उनको लक्ष्य छ । ‘नेपालका प्रतिभाहरूलाई विश्वले इन्टरनेटमा खोज्दा उनीहरूको सूचना आधिकारिक र सुरक्षित रूपमा भेटियोस् भन्ने नै मेरो मुख्य लक्ष्य हो,’ उनले आफ्नो योजना सुनाए। ह्याकिङ र फिसिङजस्ता जोखिमका बीच, उनी हरेक नयाँ चुनौतीलाई सिक्ने अवसरको रूपमा लिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप