अमेरिका-इरान मध्यस्थता : ट्रम्पको १५ बुँदे शान्ति प्रस्तावमा सम्झौता सम्भव छ ?
ट्रम्पका दूतहरूले पाकिस्तानमार्फत इरानलाई १५-बुँदे युद्धविराम प्रस्ताव पठाएका छन्। तर तेहरानका आफ्नै सर्तहरू छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी युद्ध अन्त्य गर्न अमेरिकी र इजरायली माग तथा प्रस्तावहरू समावेश गरिएको १५-बुँदे योजना जारी गरेको अल जजिराले पुष्टि गरेको छ। यो योजना पाकिस्तानमार्फत इरानमा पुर्याइएको छ, जसले यसै साता शान्ति वार्ताको आयोजना गर्न आफू तयार रहेको बताएको छ।
ट्रम्पले यसै साता वासिङ्टन र तेहरानबिच युद्ध अन्त्य गर्ने उद्देश्यले ‘धेरै राम्रो र फलदायी कुराकानी’ भएको बताएका छन्। यद्यपि, इरानले अमेरिकासँग वार्ता भइरहेको कुरालाई लगातार अस्वीकार गर्दै आएको छ। ट्रम्पको दावीको जवाफमा इरानी नेताहरूले अमेरिका ‘आफैँसँग वार्ता गरिरहेको’ बताएका छन्।
फेब्रुअरी २८ मा अमेरिकासँग इरानको वार्ता चलिरहेकै बेला अमेरिका र इजरायलले सुरु गरेको यस युद्धको ठुलो मूल्य चुकाउनु परेको छ। यसले विश्वभरको ऊर्जा र सेयर बजारलाई अस्थिर बनाएको छ, पानीजहाजको आवागमनमा अवरोध पुर्याएको छ र पश्चिम एसियाभरि मानवीय क्षति निम्त्याएको छ।

इरानी स्वास्थ्य मन्त्रालयको आधिकारिक तथ्याङ्कअनुसार मङ्गलबारसम्म इरानमा मात्रै १,५०० जनाको मृत्यु भएको छ भने १८,५५१ जना घाइते भएका छन्।
अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेको केही दिनपछि, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले स्ट्रेट अफ होर्मुज पानीजहाजका लागि बन्द गरिएको घोषणा गर्यो। त्यसयता यसले थोरै सङ्ख्यामा स्वीकृत जहाजहरू, मुख्यतया भारतीय, पाकिस्तानी र चिनियाँ झन्डा भएका, लाई पार गर्न अनुमति दिन थालेको छ।
यसका साथै, खाडी क्षेत्रमा अमेरिकी सैन्य सम्पत्ति र ऊर्जा पूर्वाधारमा इरानको आक्रमणले तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुर्याएको छ, जबकि युद्धअघि अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य करिब ६५ डलर थियो।
बुधबार ट्रम्प प्रशासनको १५-बुँदे युद्धविराम योजना सार्वजनिक भएपछि, विश्वव्यापी सेयर मूल्यमा सामान्य वृद्धि भयो भने तेलको मूल्य केही घट्यो। तर पर्यवेक्षकहरू भन्छन्, वार्ता साँच्चै भइरहेको छ वा छैन भन्ने स्पष्ट छैन, र यदि भइरहेको भए पनि दुवै पक्षका मागहरू यति धेरै फरक हुँदा उनीहरूले सफलतापूर्वक सम्झौता गर्न सक्छन् कि सक्दैनन् भन्ने निश्चित छैन।
अमेरिकाको १५-बुँदे योजनामा के छ?
अल जजिरा तथा अमेरिकी र इजरायली समाचार माध्यमहरूले रिपोर्ट गरेअनुसार, अमेरिकाले पाकिस्तानमार्फत इरानलाई १५-बुँदे शान्ति योजना पठाएको छ, जसमा युद्ध अन्त्यका सर्तहरूमा वार्ता चलिरहँदा एक महिनाको युद्धविराम गर्ने कुरा समावेश छ।
अल जजिराका जोन हेन्ड्रेनले वासिङ्टन डीसीबाट रिपोर्ट गरेअनुसार पाकिस्तान, इजिप्ट र टर्कीले पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबिच शान्ति बैठक गराउन दबाब दिइरहेका छन्।

‘अमेरिकी प्रशासनले शान्ति वार्ताको तयारी गरिरहँदा, यसले युद्धको पनि तयारी गरिरहेको छ,’ हेन्ड्रेनले ८२औं एयरबर्न डिभिजनका करिब ३,००० अमेरिकी सेनालाई पश्चिम एसियामा खटाउने अपेक्षित तयारीलाई उद्धृत गर्दै भने।
यसमा संलग्न कुनै पनि पक्ष अमेरिका, इरान, इजरायल वा मध्यस्थकर्ता देशहरूले १५-बुँदे योजनाको विस्तृत विवरण पुष्टि गरेका छैनन्। तर इजरायलको च्यानल १२ ले उक्त योजनाका प्रमुख बुँदाहरू भन्दै केही विवरण सार्वजनिक गरेको छ। धेरैजसो प्रस्तावहरू ट्रम्प प्रशासनले पहिले बोलेका कुराहरूसँग मिल्दाजुल्दा छन्।
यसमा उल्लेखित केही प्रमुख कुराहरू यस प्रकार छन्:
- ३० दिने युद्धविराम।
- नतान्ज, इस्फाहान र फोर्डोमा रहेका इरानका आणविक सुविधाहरू नष्ट गर्ने।
- इरानले कहिल्यै आणविक हतियार विकास नगर्ने स्थायी प्रतिबद्धता जनाउनुपर्ने।
- इरानले आफूसँग भएको संवर्धित युरेनियमको भण्डार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) लाई हस्तान्तरण गर्ने, र देशको बाँकी आणविक पूर्वाधारका सबै तत्वहरूको अनुगमन गर्न आईएईएलाई अनुमति दिने प्रतिबद्धता। इरानले अब देशभित्र युरेनियम संवर्द्धन गर्न पाउने छैन।
- इरानका क्षेप्यास्त्रहरूको दायरा र सङ्ख्यामा सीमा तोक्ने।
- क्षेत्रीय विद्रोही/प्रोक्सी समूहहरूलाई इरानले दिने समर्थन अन्त्य गर्ने।
- क्षेत्रीय ऊर्जा सुविधाहरूमा इरानी आक्रमण रोक्ने।
- स्ट्रेट अफ होर्मुज पुन: खुला गर्ने।
- इरानमाथि लगाइएका सबै प्रतिबन्धहरू हटाउने, साथै प्रतिबन्धहरू पुन: लगाउन अनुमति दिने संयुक्त राष्ट्रसङ्घीय संयन्त्रको अन्त्य गर्ने।
- इरानको बुशेहर नागरिक आणविक प्लान्टमा विद्युत् उत्पादनको लागि अमेरिकी सहयोग उपलब्ध गराउने।
इरानसँगको अमेरिकी वार्तालाई इजरायलले कुन हदसम्म अनुमोदन गर्छ भन्ने स्पष्ट छैन। बुधबार, अल जजिराकी निदा इब्राहिमले भनिन्, ‘बन्द कोठाभित्र इजरायल अमेरिकाले राखेका १५ बुँदामा सहमत छ, तर यसलाई प्राप्त गर्न राष्ट्रपति ट्रम्पले कति सम्झौता गर्लान् भन्नेमा ऊ चिन्तित छ।’
‘उनीहरूलाई डर छ कि यी १५ बुँदाहरू सम्भावित वार्ताका लागि रूपरेखा बन्न सक्छन् र त्यसभन्दा अघि एक महिना लामो युद्धविराम हुन सक्छ... त्यसैले राष्ट्रपति ट्रम्पले आफ्ना केही बुँदाहरू मात्र सहमत गराउन सक्छन्, सबै होइन,’ इब्राहिमले रिपोर्ट गरिन्।
- युद्ध सुरु भएयता अमेरिकी मागहरू कसरी परिवर्तन भएका छन् ?
केही मागहरू - जस्तै इरानको आणविक कार्यक्रमसँग सम्बन्धित कुराहरू - उस्तै छन्।
जुन २०२५ मा इरान र इजरायलबिचको १२ दिने युद्धका क्रममा, अमेरिकाले नतान्ज, इस्फाहान र फोर्डो आणविक साइटहरूमा आक्रमण गरेको थियो। यी युरेनियम संवर्द्धन सुविधाहरू हुन्, जहाँ सैद्धान्तिक रूपमा परमाणु बम उत्पादन गर्न सक्ने स्तरसम्म युरेनियम संवर्द्धन गर्न सकिन्छ।
सन् २०१५ मा इरानले अन्य राष्ट्रहरूसँग गरेको संयुक्त विस्तृत कार्ययोजना (जेसीपीओए) को सर्तहरू अन्तर्गत, इरानले नागरिक प्रयोगभन्दा बाहिर युरेनियम संवर्द्धन नगर्ने प्रतिबद्धता जनाएको थियो र आवधिक निरीक्षणको दायरामा थियो। यद्यपि, ट्रम्पले तीन वर्षपछि एकतर्फी रूपमा अमेरिकालाई उक्त सम्झौताबाट बाहिर निकालेका थिए।

अमेरिकाले आफ्नो १५-बुँदे योजनामा सहयोग उपलब्ध गराउने भनेको बुशेहर पावर प्लान्ट, तेहरानबाट करिब ७५० किलोमिटर दक्षिणमा अवस्थित छ। यो इरानको एक मात्र व्यावसायिक आणविक उर्जा केन्द्र हो र यो रुसमा उत्पादित युरेनियमबाट चल्छ।
युद्धको दौडान अमेरिकाका अन्य उद्देश्यहरू भने परिवर्तन भएको देखिन्छ। गत वर्षको १२ दिने युद्धमा अमेरिका र इजरायलले इरानको आणविक कार्यक्रममा ध्यान केन्द्रित गरेका थिए भने, वर्तमान युद्धमा उनीहरूले इरानमा सत्ता परिवर्तनका लागि दबाब दिएका छन्।
फेब्रुअरी २८ मा जारी युद्धको पहिलो दिन, इरानी राज्य सञ्चालित सञ्चारमाध्यमले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको तेहरानस्थित आफ्नै कार्यालयमा मृत्यु भएको पुष्टि गरेको थियो।
एक सातापछि, खामेनीका माइला छोरा मोजताबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेताको रूपमा चयन गरियो, जुन निर्णयबाट वासिङ्टन असन्तुष्ट थियो।
नयाँ सर्वोच्च नेता नियुक्त भएपछि ट्रम्पले एनबीसी न्युजलाई भनेका थिए, ‘मलाई लाग्छ उनीहरूले ठूलो गल्ती गरे। मलाई थाहा छैन यो टिक्छ कि टिक्दैन।’
यद्यपि, बाहिर आएको १५-बुँदे योजनामा सत्ता परिवर्तनको कुनै सन्दर्भ उल्लेख छैन।
इरानले कसरी प्रतिक्रिया दिएको छ?
वासिङ्टन र तेहरानबिच कुनै पनि प्रकारको वार्ता नभइरहेको इरानी नेताहरूले दाबी गरेका छन्।
इरानको सैन्य नेतृत्वले अमेरिकासँग वार्ता गर्न नसकिने बताएको छ, जसले विगत दुई वर्षमा चलिरहेको वार्ताकै बिच इरानमाथि दुई पटक आक्रमण गरेको छ।
‘के तपाईंको भित्री सङ्घर्षको स्तर तपाईं [ट्रम्प] आफैँसँग वार्ता गर्ने चरणमा पुगेको हो ?,’ इरानको संयुक्त सैन्य कमान्डका शीर्ष प्रवक्ता इब्राहिम जोल्फाकारीले बुधबार इरानी सरकारी टिभीमा अमेरिकी राष्ट्रपतिको मजाक उडाउँदै भने।
‘हामी तपाईंहरू जस्ता मानिसहरूसँग कहिल्यै मिल्न सक्दैनौँ। हामीले सधैँ भनेझैँ... हामी जस्तो कसैले तपाईंसँग सम्झौता गर्ने छैन। अहिले पनि होइन। कहिल्यै पनि होइन।’
बिहीबार पनि इरान र इजरायलले एकअर्कामाथि आक्रमण जारी राखेका थिए।

युद्ध अन्त्य गर्न इरानका मागहरू के हुन् ?
इरानको आईआरजीसीले अमेरिकासँग वार्ता गर्न नचाहेको स्पष्ट पारे तापनि, शान्तिका लागि इरानका आफ्नै केही सर्तहरू छन्। मार्च ११ मा इरानी राष्ट्रपति मसुद पेजेस्कियनले युद्ध अन्त्यका लागि इरानी सर्तहरू प्रस्तुत गरेका थिए।
एक्समा एक पोस्ट लेख्दै पेजेस्कियनले रुस र पाकिस्तानका समकक्षीहरूसँग कुरा गरेको र शान्तिप्रतिको इरानको प्रतिबद्धता पुन: पुष्टि गरेको बताएका थिए।
पेजेस्कियनले लेखेका छन्: ‘जायोनिस्ट (इजरायली) शासन र अमेरिकाद्वारा प्रज्वलित यो युद्ध अन्त्य गर्ने एक मात्र उपाय भनेको इरानको जायज अधिकारको मान्यता, क्षतिपूर्तिको भुक्तानी, र भविष्यमा आक्रमण नहुने दृढ अन्तर्राष्ट्रिय ग्यारेन्टी हो।’
इरानले आफूमाथिका सबै प्रतिबन्धहरू फुकुवा गरियोस् भन्ने पनि चाहेको बुझिएको छ।
यसका अतिरिक्त, इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीले सप्ताहन्तमा एक इरानी अधिकारीलाई उद्धृत गर्दै तेहरानले यस क्षेत्रका सबै अमेरिकी सैन्य आधारहरू बन्द गर्न र स्ट्रेट अफ होर्मुज हुँदै हुने पारवहनलाई नियन्त्रण गर्न नयाँ कानुनी संयन्त्रको माग गरिरहेको बताएको छ, जसले उक्त जलमार्गमा इरानको वर्चस्वलाई औपचारिकता दिनेछ।
यद्यपि, कतारको जर्जटाउन विश्वविद्यालयका जेदोन अल्कनानीले यसै महिनाको सुरुमा अल जजिरालाई बताएअनुसार यस युद्धले आईआरजीसी र इरानको राजनीतिक नेतृत्वबिचको केही भिन्नतालाई उजागर गरेको छ।
आर्थिक र राजनीतिक दबाबमा रहेका राष्ट्रपति पेजेस्कियनले इरानका माग पूरा भएमा युद्ध अन्त्यका लागि वार्ता गर्न केही तत्परता देखाएका छन्, अल्कनानीले भने। तर उनले थपे, ‘आईआरजीसी का लागि यो अस्तित्वको लडाइँ हो र अमेरिका र इजरायलले इरानमा फेरि कहिल्यै आक्रमण गर्न नपाउन् भनी सुनिश्चित गर्न यो सुरक्षा बल अन्तिमसम्म लड्न तयार देखिन्छ।’
‘यी भिन्नता र विभाजनहरू (आईआरजीसी र राजनीतिक नेताहरूबिच) यो युद्धभन्दा पहिले पनि सधैँ थिए तर हामी अहिले यसलाई बढी महसुस गर्न सक्छौँ, किनभने आईआरजीसी ले यो क्षेत्रीय युद्धको नेतृत्व गर्ने अग्रस्थान आफ्नो अधिकार हो भन्ने ठान्छ, जसका कारण धेरै भनाइ र अडानहरू राष्ट्रपति पेजेस्कियनका आधिकारिक भनाइहरूसँग बाझिएका छन्,’ अल्कनानीले भने।
के वार्ता हुन सक्छ, र त्यसको मुख्य विषय के होला ?
केही पर्यवेक्षकहरू विश्वास गर्छन् कि इरान सीमित स्तरमा कुरा गर्न इच्छुक हुन सक्छ।
मङ्गलबार अमेरिकी प्रसारक सीएनएनले एक अज्ञात इरानी स्रोतलाई उद्धृत गर्दै अमेरिका र इरानबिच ‘पूर्ण वार्ता’ नभई ‘सम्पर्क’ भएको रिपोर्ट गरेको छ।
स्रोतका अनुसार इरान द्वन्द्व अन्त्य गर्न ल्याइने दिगो प्रस्तावहरू सुन्न तयार छ। ‘इरानले आफूले कहिल्यै आणविक हतियार विकास नगर्ने सबै आवश्यक ग्यारेन्टी दिन तयार छ तर आणविक प्रविधिको शान्तिपूर्ण प्रयोग गर्ने हकदार भने छ,’ सीएनएनले स्रोतलाई उद्धृत गरेको छ, जसले इरानबाट प्रतिबन्धहरू पनि हटाइनुपर्ने थप सर्त राखेको थियो।
इरान विश्वकै सबैभन्दा धेरै प्रतिबन्ध लगाइएका देशहरूमध्ये एक हो।
सन् १९७९ मा, निर्वासनबाट फर्केका आयतोल्लाह रुहोल्लाह खोमेनीको नेतृत्वमा भएको इस्लामिक क्रान्तिद्वारा अमेरिका समर्थित शाहलाई सत्ताच्युत गरिएपछि, जनमतसङ्ग्रहबाट देश इस्लामिक गणतन्त्र बन्यो। त्यसपछि तेहरानस्थित दूतावासमा भएको बन्धक सङ्कटपछि अमेरिकाले आफ्नो पहिलो प्रतिबन्ध लगाएको थियो। यसले देशको आम्दानी, तेल राजस्व र उड्डयन क्षेत्रमा असर पारेको छ।
त्यसैले, ट्रम्पलाई युद्ध अन्त्य गर्न दबाब बढिरहेकाले वार्ता प्रशंसनीय हुन सक्ने विशेषज्ञहरू ठान्छन्। यद्यपि, उनीहरू यो सफल हुन्छ कि हुँदैन भनेर भविष्यवाणी गर्न भने सावधान छन्।
‘म धेरै कारणहरूले वार्ताको सम्भावना ६० प्रतिशत देख्छु,’ इरानी-अमेरिकी अर्थशास्त्री नादेर हबिबीले मङ्गलबार अल जजिरालाई भने।
हबिबीले बताए कि युद्धको मूल्य सबै पक्षहरूका लागि उच्च भएको छ। ट्रम्पलाई खाडी देशहरू (जसले इरानी आक्रमणको सामना गरेका छन्) र प्रमुख आर्थिक साझेदारहरूबाट ऊर्जा मूल्य र सेयर बजारमा परेको प्रभावका कारण युद्ध नियन्त्रण गर्न दबाब छ।
उनले मतदाताहरूको दबाब पनि सामना गरिरहेका छन्, जसलाई उनले यसै वर्षको नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावअघि शान्त पार्नु पर्नेछ। जनमत सर्वेक्षणहरूले धेरैजसो अमेरिकीहरू इरानमाथिको युद्धलाई समर्थन गर्दैनन् भन्ने लगातार देखाएका छन् ।
देशभित्रै मानवीय क्षति र ठुलो अवरोध भोग्नुका साथै, इरानी नेताहरूले आफ्ना छिमेकीहरूबाट पनि यस क्षेत्रको भूभाग र ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न दबाब सामना गरिरहेका छन्। हबिबीले थपे, ‘इजिप्ट, साउदी अरेबिया, पाकिस्तान र टर्की जस्ता धेरै मध्यस्थकर्ता देशहरूले इरानी अधिकारीहरूसँग सञ्चार च्यानलहरू स्थापना गर्न सफल भएका छन्।’ यसले वार्ताका लागि बाटो तयार गर्ने उनले बताए।
इजरायल र संयुक्त राज्य अमेरिकाले सत्ता पतनको बाटोसहित छोटो युद्धको अपेक्षा गरिरहेका थिए। तर अहिले उनीहरू आफ्नो अपेक्षालाई परिमार्जन गर्दैछन् र इजरायलमा रहेका लक्ष्यहरूमा प्रहार गर्न इरान सक्षम रहेको लामो युद्धको उच्च लागतबारे सचेत छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण