बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल पत्रकार महासङ्घ खोटाङको कार्यालय भवन निर्माण सुरु

शुक्रबार, १३ चैत २०८२, २० : १२
शुक्रबार, १३ चैत २०८२

खोटाङ । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाको आफ्नै कार्यालय भवन निर्माण सुरु गरिएको छ । कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको रु तीन करोड बजेटमा साढे दुई तले पक्की कार्यालय भवन निर्माण सुरु गरिएको हो।

भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत ठेक्का आह्वान गरिएकामा मोहन एण्ड बेँसीगाउँ-रूपाकोट-सरस्वती जेभी खोटाङले रु दुई करोड छ लाख ४१ हजार ५४६ मा सम्झौता गरेर पत्रकार महासङ्घको कार्यालय भवन निर्माण सुरु गरेको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए।

“पत्रकार महासङ्घको भवन चार कोठाको साढे दुई तले बन्नेछ । निर्माण कम्पनीसँगको सम्झौताअनुसार वि.सं. २०८४ पुस २३ गतेभित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने छ”, उनले भने, “पूर्वाधार कार्यालयको तर्फबाट निर्माण कम्पनीलाई सक्दो सहयोग हुनेछ । तोकिएको मितिभित्र सम्पन्न गराउन निर्माण कम्पनीलाई सुरुवाती चरणबाट खबरदारी गर्छौँ ।”

पूर्वाधार विकास कार्यालयले गत पुस २३ गते निर्माण कम्पनीसँग सम्झौता गरेर काम सुरु गरिएको पत्रकार महासङ्घको भवन आज कोशी प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले भवनको औपचारिक रूपमा शिलान्यास गरे । स्थापनाकालदेखि अहिलेसम्म भाडाको घरमा सञ्चालन हुँदै खोटाङ शाखाले आफ्नै सुविधासम्पन्न पक्की कार्यालय भवन पाउने भएपछि पत्रकारहरूसमेत हर्षित भएका छन् ।

पत्रकार महासङ्घको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्रीसमेत रहनुभएका पूर्वमन्त्री राईले लोकतान्त्रिक व्यवस्थामा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए।

“नागरिकको आवाज बुलन्द गर्ने र सरकारका गतिविधि जनतासम्म पु¥याउने काम पत्रकारको हो । त्यसैले पत्रकारिता क्षेत्र व्यवस्थित र विश्वासिलो हुन आवश्यक छ”, उनले भने, “पत्रकारिता क्षेत्र बलियो भए मात्र लोकतान्त्रिक व्यवस्था सुदृढ हुन्छ । पत्रकारको चौतर्फी विकास गर्न आफू मन्त्री हुँदा भवनका लागि बहुवर्षीय बजेट सुनिश्चित गरेको हुँ ।”

पत्रकार महासङ्घको नयाँ भवन शिलान्याससँगै निर्माण तीव्रगतिमा हुनेमा आफूहरू विश्वस्त रहेको महासङ्घ खोटाङका अध्यक्ष हरिबोल आचार्यले बताए। “यो संस्थागत भवन हो र खोटाङका पत्रकारको साझा सम्पत्ति हो । काम समयमै सम्पन्न गराउन पत्रकार महासङ्घले निर्माण व्यवसायीलाई निरन्तर सचेत गराउनेछ”, उहाँले भन्नुभयो, “भवनलाई गुणस्तरीय र छिटो सम्पन्न गराउन अनुगमन समितिसमेत गठन गरेका छौँ । आवश्यकता अनुसार निर्माण व्यवसायीलाई सहयोग पनि गर्नेछौँ ।”

पत्रकार महासङ्घका लागि कृषिविज्ञ मदन राईले दिक्तेलस्थित किरातचोक नजिकै आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका छन् । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईले वि.सं. २०६३ मा निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा यसअघि ढुङ्गा/माटोको कच्ची भवन निर्माण गरिए पनि उपयोगविहीन भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप