बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इरान युद्धमा हुथीको संलग्नताले समुद्री ढुवानीमा थप खतरा

आइतबार, १५ चैत २०८२, १३ : ४९
आइतबार, १५ चैत २०८२

सारांश

  • यमनका हुथी समूहको सक्रियताले क्षेत्रीय तेल आपूर्ति र समुद्री ढुवानीमा जोखिम बढेको छ।
  • हुथीहरूले बाब अल-मन्दब स्ट्रेटलाई निशाना बनाउन सक्ने संकेत देखिएको छ, जसले लालसागर र हिन्द महासागरलाई जोड्छ।
  • हुथीहरूको आक्रमणका कारण जहाजहरूले लामो मार्ग प्रयोग गर्नुपरेको छ, जसले समय र लागत बढाएको छ।

तेहरान । पश्चिम एसियामा जारी पछिल्लो युद्धमा यमनस्थित हुथी समूहको सक्रियतासँगै क्षेत्रीय तेल आपूर्ति र अन्तर्राष्ट्रिय समुद्री ढुवानीमा थप जोखिम बढ्ने चिन्ता व्यक्त गरिएको छ । पहिले नै स्ट्रेट अफ हर्मुज करिब एक महिनादेखि अवरुद्ध छ ।

अब हुथीहरूले अर्काे महत्त्वपूर्ण समुद्री मार्ग बाब अल मन्दब स्ट्रेटलाई पनि निशाना बनाउन सक्ने संकेत देखिएको छ । यो स्ट्रेटले लालसागर र हिन्द महासागरलाई जोड्छ । ‘गेट अफ टियर्स’ भनेर चिनिने बाब अल–मन्दाब स्ट्रेट भएर यात्रा चुनौतीपूर्ण मानिन्छ ।

यसको सबैभन्दा साँघुरो भाग करिब २९ किलोमिटर चौडा छ । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार सन् २०२३ का पहिलो ११ महिनामा मात्रै यस मार्गबाट ३ करोड टनभन्दा बढी प्राकृतिक ग्यास ढुवानी भएको थियो । विश्वको करिब १२ प्रतिशत समुद्री तेल कारोबार यही बाटो भएर भएको थियो ।

यसअघि हुथीहरूले लाल सागरमा १०० भन्दा बढी व्यापारिक जहाजमाथि आक्रमण गरिसकेको थियो । इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेपछि ती आक्रमणहरू बढेका थिए ।

गत नोभेम्बरमा अस्थायी रूपमा आक्रमण रोकिएको घोषणा गरिएको थियो । यी आक्रमणका कारण धेरै जहाजहरूले केप अफ गुड होप भएर जाने लामो मार्ग प्रयोग गर्नुपरेको थियो, जसले समय र लागत दुवै बढाएको थियो ।

हुथी सूचना मन्त्रालयका एक अधिकारीका अनुसार उक्त स्ट्रेटमा आवागमन अवरुद्ध गर्नु सम्भव विकल्प भएको बताएका छन् । अमेरिकाले स्ट्रेट अफ हर्मुज पुनः खोल्ने प्रयास गरे थप तनाव बढ्न सक्ने चेतावनी इरानी स्रोतहरूले दिएका छन् ।

यसबिच साउदी अरबले आफ्नो तेल निर्यातलाई पश्चिमी तटस्थित यान्बु बन्दरगाहमार्फत पाइपलाइन प्रयोग गरी पुनः मार्ग निर्धारण गर्न थालेको छ, जसको दैनिक क्षमता ७ मिलियन ब्यारेलसम्म रहेको बताइएको छ । यसका कारण लालसागर क्षेत्रमा ट्यांकरको आवागमन बढेको देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप