केपी ओली र रमेश लेखकको गिरफ्तारी स्वेच्छाचारी र अधिनायकवादी : चित्रबहादुर केसी
सारांश
- राष्ट्रिय जनमोर्चाले केपी शर्मा ओली र रमेश लेखकको गिरफ्तारीको विरोध गरेको छ।
- पार्टीले सरकारको कार्यले देशलाई फासिवादतर्फ धकेल्ने खतरा औंल्याएको छ।
- जनमोर्चाले भदौ २३ गतेको घटनाको छानबिन गर्न उच्चस्तरीय आयोगको माग गरेको छ।
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई स्वेच्छाचारी र अधिनायकवादी कदम भन्दै विरोध जनाएको छ ।
अध्यक्ष चित्रबहादुर केसीले आज एक प्रेस वक्तव्य जारी गर्दै सरकारको यो कार्यले देशलाई फासिवादतर्फ धकेल्ने खतरा रहेको औंल्याएका छन् ।
वक्तव्यमा भदौ २३ गतेको हत्याकाण्डका दोषीहरूमाथि कारबाही हुनुपर्ने कुरामा पार्टी स्पष्ट रहे पनि जुनसुकै कारबाही कानुनको प्रक्रिया पुर्याएर निष्पक्ष र न्यायोचित हुनुपर्ने उल्लेख गरिएको छ ।
'ओलीसहितलाई गरिएको गिरफ्तारी कानुनको प्रक्रिया पूरा गरेर गरिएको देखिँदैन,' विज्ञप्तिमा भनिएको छ, 'स्वेच्छाचारी प्रकारले गिरफ्तार गर्ने तरिकाको हामी कडा शब्दमा विरोध गर्दछौँ ।'
अध्यक्ष केसीले भदौ २३ गतेको गोलीकाण्ड, शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाउन उक्साउने तत्वहरू र भदौ २४ गते भएको तोडफोड तथा आगलागीका घटनाहरूको उच्चस्तरीय छानबिन गर्न माग गरेका छन् ।
राष्ट्रिय जनमोर्चाले यी घटनाहरूको सत्यतथ्य पत्ता लगाउन सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा एउटा उच्चस्तरीय निष्पक्ष छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण