शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
प्रदर्शन

अमेरिकाभर ट्रम्पविरुद्ध ‘नो किंग्स’ र्‍याली : ५० वटै राज्यमा उत्रिए लाखौँ प्रदर्शनकारी

आइतबार, १५ चैत २०८२, २० : ५९
आइतबार, १५ चैत २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पको आप्रवासन नीति, इरानसँगको तनाव र अधिनायकवादी शैलीको विरोध गर्दै अमेरिकाभर प्रदर्शन भयो।
  • न्यूयोर्क, डालस, र वासिङ्टन डीसी लगायतका शहरहरूमा विशाल र्‍यालीहरू निकालिए, जसमा लाखौं मानिस सहभागी थिए।
  • प्रदर्शनकारीहरूले ट्रम्पको नीतिको विरोध गर्दै लोकतन्त्रको पक्षमा नारा लगाए र कतिपय स्थानमा झडपसमेत भयो।

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति, इरानसँगको तनाव र अधिनायकवादी शैलीको विरोध गर्दै शनिबार अमेरिकाका सहर-सहरमा विशाल प्रदर्शन भएको छ। नो किंग्स (राजा चाहिँदैन) अभियान अन्तर्गत तेस्रो चरणको यो आन्दोलनमा अमेरिकाका सबै ५० वटै राज्यका ३ हजार २०० भन्दा बढी स्थानमा विरोध कार्यक्रम आयोजना गरिए। 

no king rally (2)

अघिल्ला दुई चरणका राष्ट्रव्यापी प्रदर्शनमा झैँ यस पटक पनि लाखौँ मानिसले सडक तताएका छन्। विशेष गरी न्युयोर्क, डालस, फिलाडेल्फिया र वासिङ्टन जस्ता ठुला सहरमा विशाल र्‍याली निस्किएका छन्। 

no king rally (4)

आयोजकका अनुसार यस पटक साना समुदाय र सहर बाहिरका क्षेत्रमा प्रदर्शनको लहर गत जुनको तुलनामा झन्डै ४० प्रतिशतले बढेको छ। मिनेसोटा राज्यमा त यसले उग्र रूप लिएको छ, जहाँ यसै वर्ष अध्यागमन अधिकारीको गोली लागेर मारिएका अमेरिकी नागरिक रेनी गुड र एलिक्स प्रेटीको तस्बिर बोकेर हजारौँ मानिस सेन्ट पलस्थित संसद् भवन बाहिर भेला भए।

no king rally (5)

मिनेसोटाको प्रदर्शनलाई सम्बोधन गर्दै सन् २०२४ का लोकतान्त्रिक पार्टीका उपराष्ट्रपतिका उम्मेदवार टिम वाल्जले ट्रम्पको नीतिको विरोध गर्नेहरू नै अमेरिकाको 'मुटु र आत्मा' भएको बताए। वाल्जले ट्रम्प पक्षले आफूहरूलाई कट्टरपन्थी भनेकोमा व्यङ्ग्य गर्दै भने, ‘हो, हामी कट्टरपन्थी हौँ— करुणा, सभ्यता, कानुनी शासन र लोकतन्त्रका लागि कट्टरपन्थी भएका हौँ, ताकि निरङ्कुशतालाई रोक्न सकियोस् ।’ 

no king rally (6)

सोही कार्यक्रममा चर्चित गायक ब्रुस स्प्रिङस्टिनले ट्रम्पको आप्रवासन नीतिको आलोचना गर्दै गीत गाएका थिए भने सिनेटर बर्नी स्यान्डर्सले अमेरिकालाई कसैको निजी सम्पत्ति वा अधिनायकवादतर्फ धकेल्न नदिने उद्घोष गरे।

no king rally (7)

यता, रिपब्लिकन पार्टीले भने यी प्रदर्शनलाई अमेरिका विरोधी र्‍यालीको संज्ञा दिएको छ। नेशनल रिपब्लिकन कंग्रेसनल कमिटीका प्रवक्ता माइक मारिनेलाले विज्ञप्ति जारी गर्दै यी र्‍यालीहरू वामपन्थीहरूको हिंसात्मक र भ्रमित मानसिकताको उपज भएको आरोप लगाए। 

no king rally (8)

न्युयोर्कको म्यानहटनमा भएको प्रदर्शनमा भने हलिउड अभिनेता रोबर्ट डी निरोले ट्रम्पलाई अमेरिकी स्वतन्त्रता र सुरक्षाका लागि अहिलेसम्मकै ठुलो ‘अस्तित्वगत खतरा’ को रूपमा चित्रण गरे।

no king rally (3)

वासिङ्टनको नेशनल मलदेखि मेरिल्याण्डका वृद्धवृद्धासम्मले लोकतन्त्रको पक्षमा नाराबाजी गर्दै ‘तानाशाहीको विरोध गर’ भन्ने सन्देश फैलाएका छन्। डालस जस्ता केही स्थानमा भने प्रदर्शनकारी र उग्र दक्षिणपन्थी समूह प्राउड ब्वाइज बिच झडप समेत भएको छ।

no king rally (1)no king rally (9)no king rally (10)no king rally (11)no king rally (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप