बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
स्थानीय गन्तव्य

पर्यटकीय गन्तव्य बन्दै सीमावर्ती सुन्दरनाथ धाम

सोमबार, १६ चैत २०८२, १० : ३०
सोमबार, १६ चैत २०८२

सारांश

  • नेपाल-भारत सीमा क्षेत्रमा अवस्थित बाबा सुन्दरनाथ धाम धार्मिक पर्यटनको केन्द्र बन्दै गएको छ।
  • मन्दिरमा शिवलिङ्ग, स्वस्तिक चिह्न र माता पार्वतीको मन्दिर रहेको छ, जहाँ भक्तजनहरूको ठूलो आस्था छ।
  • विराटनगरबाट यहाँ पुग्न सहज छ र महाशिवरात्रिमा ठूलो मेला लाग्ने गर्छ।

नेपाल र भारतको सीमावर्ती क्षेत्रहरूमा पौराणिक कालदेखिका किंवदन्तीहरूमा आधारित धार्मिक स्थलहरू प्रशस्त छन् । सीमावर्ती क्षेत्रमा रहेका मठमन्दिरहरू एक–अर्काको देशको धार्मिक पर्यटनको धरोहर र परम्परा रहेका छन् । परस्पर पर्यटनको कारणले द्विपक्षीय सामाजिक, सांस्कृतिक, वैवाहिक, धार्मिक, आर्थिक सम्बन्धहरू महत्त्वपूर्ण भएका छन् ।

भारतको बिहार अररिया जिल्ला अन्तर्गत कुर्साकाँटा प्रखण्ड, डुमरिया पञ्चायत स्थित शिवभक्तहरूको श्रद्धा एवं आस्थाको एक प्रमुख केन्द्र मानिएको प्राचीन, ऐतिहासिक एवं प्रसिद्ध धार्मिक स्थल बाबा सुन्दरनाथ धाम याचक भक्तको मनोकामना पूरा गरी दिने कारणले प्रसिद्ध हुँदै गइरहेसँगै यो धर्मस्थल बिस्तारै पर्यटकीय गन्तव्यको रूपमा पनि विकसित हुँदै गएको छ । 

सुन्दरी मठ भन्ने स्थानमा बाबा सुन्दरनाथ धाम बसेको छ । यो मन्दिर भगवान् शिव (महादेव) मा समर्पित छ । मिथिला क्षेत्रको यो एक ऐतिहासिक मन्दिर हो । यहाँ अज्ञात कालदेखि शिवलिङ्ग स्थापित रहेको छ । स्थानीय जनश्रुति अनुसार, यो शिवलिङ्ग स्वयं प्रकट (स्वयम्भू) भएको र यसमा रहेका चिह्नहरू प्राकृतिक वा ईश्वरीय रचना हुन् भन्ने विश्वास गरिन्छ । 

शिवलिङ्ग उपर स्वस्तिक कुँदिएको छ । बाबाको बायाँ भागमा माता शक्ति पार्वतीको मन्दिर छ । माताको काखमा पुत्र गणपति हुनुहुन्छ । भगवान् शिवको वासस्थान शिवालय कहलाउँछ । शिवालयको स्वरूप अनुसार नन्दी महाराजको उपस्थिति छ । मन्दिरको परिसर विशाल छ, जसअन्तर्गत शिव गंगा तथा अनेक भव्य संरचनाहरू निर्माण गरिएका छन् ।

बाबा सुन्दरनाथ धामको शिवलिङ्गमा स्वस्तिक कुँदिएको कुरा श्रद्धालुहरूका बिच निकै चर्चाको विषय रहने गर्छ । यो दृश्य अन्य सामान्य शिवलिङ्गहरू भन्दा फरक र विशिष्ट छ । यसलाई सृष्टि र संहारको प्रतीक मानिएको छ । सुल्टो स्वस्तिकलाई सृष्टि र ब्रह्माको प्रतीक मानिन्छ भने उल्टो वा देब्रेतर्फ फर्केको स्वस्तिकलाई भगवान् शिव र संहारको प्रतीक मानिन्छ । 

शिवलिङ्गमा स्वस्तिक हुनुले शिवको कल्याणकारी र ब्रह्माण्डीय शक्तिलाई दर्साउँछ । शिवलिङ्गमा कुँदिएको स्वस्तिकले उक्त स्थानको सकारात्मक ऊर्जालाई केन्द्रित गर्ने विश्वास गरिन्छ । स्वस्तिकलाई ‘शुभ’ र ‘कल्याण’ को प्रतीक मानिने हुनाले यसले भक्तजनहरूलाई मानसिक शान्ति र सौभाग्य प्रदान गर्ने मान्यता छ । 

यो शिवलिङ्ग निकै पुरानो र पौराणिक कालको भएको मानिन्छ । शिवलिङ्गमा यस्ता चिह्नहरू कुँदिनुले यो मन्दिरको ऐतिहासिक र तान्त्रिक महत्वलाई उजागर गर्छ । यसले चार वेद र दिशाको प्रतिनिधित्व गरेको मानिन्छ । स्वस्तिकका चारवटा रेखाहरूले चार वेद, चार दिशा र जीवनका चार लक्ष्यहरू (धर्म, अर्थ, काम, मोक्ष) लाई प्रतिनिधित्व गर्दछन् भन्ने विश्वास गरिन्छ ।

बाबाको मन्दिरमा भक्तजनहरू आफ्ना मनोकामना लिएर आउँछन् । उनीहरूले जलाभिषेक, रुद्राभिषेक, हवन र जप गर्छन् । बाबा सुन्दरनाथले उनीहरूको समस्या समाधान गर्नुहुन्छ । परिसरभित्र अवस्थित माता पार्वती मन्दिर विवाहताका लागि आस्थाको केन्द्र बनेको छ । माता पार्वतीको पूजा गरी जीवनमा सुख र शान्तिको कामना गर्छन् । 

दुबै मन्दिरलाई ध्वजापताकाले एकाकार गरी जोडिएको छ । मन्दिरको भव्यता र नक्काशी अवर्णनीय छ । मन्दिर परिसरबाहिर सानो बजार बसेको छ, जहाँ दर्शनार्थीलाई आवश्यक पर्ने सरसामान उपलब्ध रहेको छ । मन्दिरको एक किलोमिटर अघि प्रवेश मार्गमा भव्य रामजानकी मन्दिर अवस्थित छ ।

सन् १९३५ मा गढबनौलीका राजा कुलानन्द सिंहले यहाँ स्थायी मन्दिर निर्माण गराएका थिए । सन् ००६ मा, विराटनगर (नेपाल) का उद्योगपति आशकरण अग्रवालले पुरानो मन्दिरलाई भत्काएर भव्य मन्दिर बनाउन थाले । अपरिहार्य कारणहरूले गर्दा त्यो काम अधूरो रहन गयो । विधायक विजय कुमार मण्डलले स्थानीय बासिन्दासँग मिलेर सन् २०१२ मा मन्दिरको बाँकी काम अघि बढाए । 

सन् २०१६ मा, एघार सदस्यीय समिति गठन गरियो र बिहार राज्य धार्मिक न्यास बोर्ड, पटनामा दर्ता गरियो । बोर्डले यस समितिलाई “सुन्दरी मठ न्यास समिति“ नाम दियो । सुन्दरी मठका मूल महन्त सिंघेश्वर गिरि हुन भने उनका भतिजो श्रवण कुमार गिरि सहयोगी भूमिकामा रहेका छन् ।

नेपाल र भारतको सीमा क्षेत्र पौराणिक किंवदन्तीहरूको भण्डार हो । जनकपुरधाममा माता सीताको जन्म र अयोध्याका राजकुमार भगवान् रामसँगको उनको विवाहले दुई देशबिचको धार्मिक पर्यटनको जग बसालेको हो । लुम्बिनी (नेपाल) र कुशीनगर वा बोधगया (भारत) बिचको बुद्ध परिपथ (बुद्धिस्ट सर्किट) ले विश्वभरका श्रद्धालुहरूलाई जोड्छ । 

त्यस्तै, पशुपतिनाथ र काशी विश्वनाथको सम्बन्धले दुबै देशका सनातनीलाई एक–अर्काको भूमिप्रति अगाध श्रद्धा जगाएको छ । यो मन्दिर महाभारत कालसँग जोडिएको मानिन्छ । जनश्रुति अनुसार, पाण्डवहरूले आफ्नो अज्ञातवासको अन्तिम वर्ष विराटनगरमा बिताउँदा यहाँ पूजा गरेका थिए । 

भनिन्छ, माता कुन्तीले यहाँ एक हजार कमलका फूलहरू चढाएर भगवान् शिवको आराधना गरेकी थिइन् । पाण्डवहरूले विराट राजाको दरबारमा जानुअघि आफ्ना अस्त्र–शस्त्रहरू एउटा रूखमुनि यही क्षेत्रमा लुकाएको विश्वास पनि गरिन्छ ।

मन्दिर परिसरमा बलियो प्रकाश व्यवस्था, शिव गंगामा फोहोराहरू जडान, दृश्य व्यवस्थापन प्रणालीको विकास, पोखरीको डिलमा पदमार्ग र माथि शेडको निर्माण, अत्याधुनिक शौचालयहरूको निर्माणका साथै दर्शनार्थीहरूका लागि आवश्यक सेवा र सुविधाहरू प्रदान गर्ने कार्यमा प्रगति छ । बजारको सडक चौडा गर्ने प्रयास भइरहेको छ ।

यो स्थलमा पर्यटकीय गन्तव्य बन्ने अपार सम्भावना छ । केन्द्र र बिहार सरकारले यसलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको छ । सार्वजनिक दानबाट बाबा भोलेनाथ र माता पार्वतीको भव्य मन्दिर निर्माण गरिएको हो । सौन्दर्यीकरणको काम हाल चलिरहेको छ । 

सुन्दरनाथ धाम बिहार, अररिया जिल्लाको एक महत्त्वपूर्ण धार्मिक स्थल हो । वार्षिक रूपमा, यहाँ १५ देखि २० लाख भक्तजनहरू आउँछन् । यो भारत र विदेश दुबैमा रहेका नेपाली मूलका मानिसहरूको लागि आस्थाको केन्द्र बनेको छ ।

सीमावर्ती क्षेत्रका मठ–मन्दिरहरूमा हुने दैनिक पूजाआजा र उत्सवहरूमा दुवै देशका भक्तजनहरूको समान सहभागिता रहन्छ । गढीमाईको मेला होस् वा पूर्णागिरीको यात्रा, सीमाले कहिल्यै आस्थालाई रोक्न सकेको छैन । यस्ता धार्मिक स्थलहरूले गर्दा परापूर्व कालदेखि नै तीर्थाटनको परम्परा चल्दै आएको छ, जसले जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।

धार्मिक पर्यटनले केबल मनलाई शान्ति मात्र दिँदैन, यसले अर्थतन्त्रलाई पनि चलायमान बनाउँछ । सीमा क्षेत्रका स्थानीय बजार, यातायात र होटल व्यवसाय तीर्थयात्रीहरूमै निर्भर छन् । वैवाहिक सम्बन्धको कुरा गर्दा, राम–सीताको विवाहको आदर्शलाई पछ्याउँदै सीमा वारपार हुने वैवाहिक सम्बन्धले ‘सांस्कृतिक सेतु’ को काम गरेको छ । 

नेपाल र भारतको सीमावर्ती धार्मिक स्थलहरू साझा सम्पदा हुन् । यी स्थलहरूले दुई राष्ट्रबिचको सामाजिक सद्भाव र आर्थिक वृद्धिलाई बल पु¥याएका छन् । यस ऐतिहासिक र आध्यात्मिक सम्बन्धलाई संरक्षण गर्दै धार्मिक पर्यटनको व्यवस्थित विकास गर्न सकेमा दुबै देशको समृद्धि र भ्रातृत्व अझै उचाइमा पुग्ने निश्चित छ ।

महाशिवरात्रि यहाँको सबैभन्दा ठुलो उत्सव हो, जहाँ वार्षिक २० लाख श्रद्धालुहरू सहभागी हुने गर्छन् । महाशिवरात्रिको समयमा यहाँ भव्य मेला लाग्छ र नेपालबाट आउने भक्तजनहरूको ठुलो उपस्थिति रहन्छ । साउन महिनामा पनि यहाँ जल अर्पण गर्ने श्रद्धालुहरूको उत्तिकै भीड लाग्ने गर्छ ।

साउनको सोमबार र शिवरात्रिको दिन खुट्टा राख्ने ठाउँ हुँदैन, त्यसैले शान्त दर्शनका लागि अन्य सामान्य दिनमा जानु राम्रो हुन्छ । शिवरात्रि वा साउनको सोमबार जाँदै हुनुहुन्छ भने निकै भीड हुने भएकाले बिहानै निस्कनु राम्रो हुन्छ । अन्य सामान्य दिनमा भने दिउँसोको समयमा शान्त दर्शन पाउन सकिन्छ ।

यहाँको मुख्य पूजा भनेको शिवलिङ्गमा जल अर्पण गर्नु हो । धेरैजसो भक्तजनहरूले नजिकैको पवित्र जलाशय वा नदीबाट जल ल्याएर चढाउने गर्छन् । विशेष मनोकामना पूरा गर्न भक्तजनहरूले यहाँ रुद्राभिषेक र महामृत्युञ्जय जाप गराउने गर्छन् । यसका लागि मन्दिरका स्थानीय पुजारीहरूसँग सम्पर्क गर्न सकिन्छ । 

बिहार र नेपालको सीमावर्ती क्षेत्रका धेरै परिवारहरूले आफ्ना बालकको पहिलो मुण्डन संस्कार यस मन्दिरमा गर्ने प्रथा छ । भक्तजनहरूले आफ्नो इच्छा पूरा भएपछि बोका बलि दिने वा विशेष शृङ्गार पूजा गर्ने चलन पनि छ । मन्दिर व्यवस्थापन समितिले भक्तजनहरूलाई सहयोग गर्न स्वयंसेवकहरू खटाएको हुन्छ ।

सुन्दरी मठमा दर्शनार्थीहरूको सुविधाका लागि मन्दिर परिसरमा एउटा सार्वजनिक धर्मशाला छ, जहाँ टाढाबाट आउने भक्तजनहरू सस्तो दरमा वा निःशुल्क बस्न सक्छन् । मन्दिर परिसर बाहिर साना होटल र पसलहरू छन् जहाँ स्थानीय खाना र नास्ता पाइन्छ । शिवरात्रिमा ठुलो भण्डारा आयोजना गरिन्छ ।

नेपाल–भारत सीमा नजिकै पर्ने हुनाले विशेषगरी नेपालको मोरङ, सुनसरी र झापा जिल्लाबाट ठुलो संख्यामा भक्तजनहरू यहाँ आउने गर्छन् । पूर्वी मोरङ्गको कटहरीबाट लछमिनिया, मझारे हुँदै वा कटहरी–सिसबनीजहदा–नोचा हुँदै वा कदमाहाबाट नोचा हुँदै भारत प्रवेश गरी सुन्दरी मठ पुग्न सकिन्छ । नेपालतर्फको सीमान्त गाउँ उखरकट्टा र भारततर्फको सीमान्त गाउँ डुमरिया हो । यसै डुमरियादेखि दक्षिण सुन्दरी गाउँको विशाल चौरीमा सुन्दरी मठ धाम बसाइएको छ । 

नेपालको विराटनगरबाट सीमा पार गरेर सहजै यस मन्दिरसम्म पुग्न सकिन्छ । विराटनगरबाट सुन्दरी मठ पुग्न निकै सजिलो छ, किनकि यो नेपाल–भारत सीमाको निकै नजिक पर्छ । विराटनगरबाट सुन्दरी मठ पुग्ने सबैभन्दा चल्तीको बाटो जोगबनी हुँदै जाने हो । विराटनगरको रानी नाकाबाट सीमा पार गरेपछि अटोरिक्सा वा निजी सवारी साधनमा जोगबनी पुग्न सकिन्छ । 

बिहारको अररिया जिल्ला अन्तर्गत कुर्साकाँटा प्रखण्ड, डुमरिया पंचायतमा यो प्राचीन, ऐतिहासिक एवम प्रसिद्ध धार्मिक स्थल बाबा सुन्दरनाथ धाम अवस्थित छ । निजी सवारी साधनले भन्सारको प्रक्रिया पूरा गरी सिधै मन्दिरसम्म पुग्न सकिन्छ । 

सडकको अवस्था सामान्यतया राम्रो छ । जोगबनी वा फारबिसगञ्जबाट सुन्दरी मठका लागि सिधै अटोरिक्सा वा ट्याक्सीहरू पाइन्छन् । समूहमा जाँदा निजी ट्याक्सी रिजर्भ गर्नु बढी सुविधाजनक हुन्छ । यदि टाढाबाट आउँदै हुनुहुन्छ भने जोगबनी रेल्वे स्टेसनसम्म रेलमा आएर त्यहाँबाट सडक मार्ग प्रयोग गर्न सकिन्छ । 

विराटनगरबाट मन्दिर पुग्न सामान्यतया १ देखि डेढ घण्टा लाग्छ । विराटनगरको महेन्द्रचोकबाट शनिमन्दिर, कटहरी, लक्ष्मिनिया, उखरकट्टा, डुमरीया हुँदै सुन्दरी मठको दुरी १७ किमी पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार झा
अजयकुमार झा
लेखकबाट थप