शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चियाबारीका आँखाले चिहाइरहेको सिंहदरबार

मङ्गलबार, १७ चैत २०८२, १५ : १७
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • झापाका चिया बगान र सहरका गल्लीमा रहेका नेपालीहरू आशा र अभावको दोसाँधमा बाँचिरहेका छन्।
  • मुर्मु दाईको पीडा, ऋणको विभेद, र विदेश जान नसकेको कथाले आजको नेपालको साझा पीडालाई दर्शाउँछ।
  • सहरमा सपना बोकेर आएका निम्न वर्गका मानिसहरूले भोग्नुपरेका पीडा र खाडीमा नेपाली युवाहरूको दुःखदायी जीवनको चित्रण गरिएको छ।

चियाबारीको हरियालीभित्र डामिएका नीला कथाहरू प्रायः बाहिर आउँदैनन् । झापाका चिया बगानका सुइरो टिप्ने हातहरू हुन वा सहरका गल्लीमा भारी बोक्ने काँधहरू, नेपालको एउटा ठुलो हिस्सा आज पनि आशा र अभावको दोसाँधमा बाँचिरहेको छ । चियाबारीको बाटोमा भेटिएका ती सन्थाल (मुर्मु) दाइ, जसले हतारिँदै सोधे, ‘सर, तपाईं पनि घण्टी हो ?’ उनको त्यो प्रश्नमा राजनीतिक आस्था मात्र थिएन, त्यो त वर्षौंदेखिको उपेक्षापछिको एउटा अन्तिम भरोसाको प्रतिबिम्ब थियो ।

ती मुर्मु दाइको आँखामा देखिएको त्यो घण्टीप्रतिको विश्वास र साहुले ऋण नपत्याउँदा विदेश जान नपाएको पीडा आजको नेपालको साझा पीडा हो । पाँच जनाको परिवार, ज्याला मजदुरीको भर र रक्सीको नसामा भुल्न खोजिएको पारिवारिक पीडा र कलह; यो केवल एक व्यक्तिको कथा होइन । 

यो त सुकुम्वासी बस्तीदेखि दुर्गम गाउँसम्मका हजारौं मुर्मुहरूको साझा व्यथा हो । ‘बालेनलाई भेट्यो भने भन्दिनु है’ भन्ने उनको वाक्यले भुइँमान्छेहरूले अब पुराना दल र आश्वासन बिर्सिसके भन्ने संकेत गर्छ  । उनीहरू अब एउटा यस्तो नायक खोजिरहेका छन्, जसले उनीहरूको चुल्होको पिर बुझोस् । समाजमा समूहका नाममा हुने ऋणको विभेद, तल्लो तहमा गरिने व्यवहार र अपमानले उनको जवानी पनि बुढ्यौली जस्तो देखिन्थ्यो ।

अर्को झन् पीडादायी अवस्था त गौरादह–६ मुर्मु गाउँमा देखियो । चुनावी प्रचार–प्रसारको रौनक चलिरहेका बेला किसान मुर्मु (नाम परिवर्तन) र दीपक विश्वकर्माका छोराहरू नेताको घरदैलो कार्यक्रम हेर्न गएका थिए । भिडमा सँगै आएका साथी धकेलिएर लडे र उनको हात भाँचियो । भिडले धकेलेर लडेको भएपनि मुर्मुको छोरालाई आरोप लाग्यो । उजुरी पर्नासाथ वडा कार्यालयको निर्देशनमा मुर्मु परिवारले ६० हजार रुपैयाँ तिर्ने पर्ने भयो । 

विचरा मुर्मु कृषि मजदुर हुन् । गाउँमा सबैतिर परिवर्तनका कुरा हुँदै गर्दा त्यहाँ गरिबमाथि भोटको राजनीति साँधियो र तिनको व्यथा दबाइयो । कसैले सहयोग गर्न सकेनन्, किनकि त्यहाँ गरिबलाई राजनीतिक चंगुलमा फसाइँदै थियो । कसैलाई नागरिकताको बार्गेनिङ त कसैलाई पुर्जा लिन घर र अफिस आउनु भन्ने दबाब पालिका प्रतिनिधिले दिन्थे । यो समाजमा राजनीतिक रूपान्तरण गाउँमा कहाँ पुगेको रहेछ र कुन वादले काम गरिरहेको थियो ? त्यो प्रश्न अझै गर्भमै छ ।

सहरको चमकभित्र लुकेको अँध्यारो

गाउँको दुर्दशाबाट भागेर सहर छिर्दा मानिस यस्तै अनेक पीडा बोकी सपनाको नयाँ संसार बसाउन संघर्ष गर्छ । तर, सहरले प्रायः ती सपनालाई निमोठेर प्रवास वा खाडीको तातो बालुवामा मिल्काइदिन्छ । सहरमा छोराछोरी पढाउने र राम्रो जीवन जिउने सपना देख्ने एउटा निम्न वा मध्यमवर्गीय परिवार जब अभावको चपेटामा पर्छ, तब सुरु हुन्छ कहिल्यै नसकिने त्रासदी ।

श्रीमान् कमाउन खाडी जान्छन्, तर त्यहाँको कमाइले कोठाभाडा, नानीबाबुको शुल्क पुग्दैन । यस्तो अवस्थामा कतिपय महिलाले आफ्ना छोराछोरीको भविष्यका लागि आफ्नै अस्मिता र आत्मसम्मानलाई तिलाञ्जली दिनुपर्ने बाध्यता समाजको भित्री तहमा गडेर बसेको छ । पत्रपत्रिकामा नआउने, समाजले थाहा नपाउने र पीडितले भन्न नसक्ने यस्ता कैयौं घटना हाम्रा सहरका भित्ताहरूमा ठोक्किएर हराउँछन् । 

खाडीबाट बाकसमा फर्किने युवाहरू र त्यहाँ जेलझैँ नारकीय जीवन बिताइरहेका नेपाली चेलीहरूको आँसुले हाम्रो राष्ट्रिय नीति र वैदेशिक रोजगारको खोक्रोपनलाई गिज्याइरहेको छ ।

मध्यपश्चिमका देशहरूमा श्रमको शोषण मात्र होइन, मानवीय संवेदनाको समेत हत्या भइरहेको छ । तर, हाम्रा राज्य सञ्चालकहरू रेमिट्यान्सको तथ्यांकमा रमाइरहेका छन् । ती पैसा पठाउने हातहरू कति क्षतविक्षत छन्, त्यसमा कसैको ध्यान जाँदैन ।

नीति, सत्ता र कर्मचारीतन्त्रको पर्खाल

केही समयअघि भौतिक पूर्वाधार मन्त्री इङ्नामले ‘कर्मचारीको दादागिरीका कारण काम गर्न सकिनँ, अब म हारेँ, तपाईँहरू भोज खानुस’ भन्दै बाहिरिनुले एउटा भयानक सत्यलाई उजागर गरिदिएको छ । यसले यो देश सरकारले होइन, एउटा अदृश्य स्वार्थीतन्त्रले चलाइरहेको तर्फ इंगित गर्छ । जब विभागिय मन्त्री नै प्रणालीसँग हारेर राजीनामा दिन्छ भने, चियाबारीको मुर्मु दाइले सरकारी अड्डाबाट न्याय पाउने आशा कसरी गर्ने ? 

यसको उत्तर कहाँ र कसरी खोज्ने ? यो मुटुमा बिझ्ने धारिलो प्रश्न हो ।

नीति बनाउनेहरू र भुइँ तहमा संघर्ष गरिरहेकाहरूबिचको खाडल झन्–झन् बढ्दो छ । बालेन शाह वा नयाँ शक्तिहरूप्रति मानिसको आकर्षण बढ्नुको मुख्य कारण यही हो कि मानिसहरू अब पुराना सिद्धान्तभन्दा पनि परिणाम खोजिरहेका छन् । मुर्मु दाइले चियाबारीबाट बाहिर निस्केर सोधेको प्रश्नले नीति निर्माताहरूलाई झक्झक्याँउछ– तिम्रो नीतिले मेरो सन्तानको पेट कसरी भर्छ ? तिम्रो कानुनले मलाई ऋणमुक्त भएर अन्तिम स्वास फेर्न दिन्छ वा ऋणमोचन गर्नका लागि दौड्दा दौड्दै त्यसैले मेरो स्वास लिन्छ ?

अबको बाटो कुन?

हामी आज त्यस्तो मोडमा छौँ, जहाँ एकातिर आशाका किरणहरू छन् भने अर्कोतिर पुरानो संयन्त्रले ती किरणलाई छेक्न खोजिरहेको छ । चियाबारीमा बिँडी सल्काउँदै पछाडि फर्केर हेर्ने ती मुर्मु दाइप्रति अगाध श्रद्धा ! कसैका लागि केवल राजनीतिक भोट होला, तर वास्तवमा त्यो भर्खरै उदाएको दुई तिहाइको सरकारलाई लागेको ठुलो ऋण हो । त्यो ऋण तबसम्म तिरिने छैन, जबसम्म एउटा नागरिकले आफ्नै देशमा श्रम गरेर सानसँग बाँच्न पाउने वातावरण बन्दैन ।

सहरका गल्लीदेखि खाडीका मरुभूमिसम्म छरिएका नेपालीका पीडाहरूलाई समेट्न अब आश्वासन होइन, साहसी नीतिको खाँचो छ । कर्मचारीतन्त्रको सिन्डिकेट तोड्ने र ‘भोज खाने’ प्रवृत्तिका विरुद्ध उभिने साहस नयाँ पुस्ताले गर्नैपर्छ । मुटु चिसो बनाउने ती मुर्मु दाइका दृश्यहरू अनि बाकसमा फर्किने नेपालीहरूको चित्कार र सयौं नाबालकहरूको बलिदानमा मलम लगाउनु नै आजको वास्तविक राजनीति हुनुपर्छ । 

त्यसो हुन सकेन भने, चियाबारीबाट निस्किएका ती प्रश्नहरू भोलि ठुलो ज्वाला बनेर सिंहदरबार पस्नेछ । त्यतिबेला रवि लामिछानेले परिवर्तनका लागि रोपेको बिउको आधार र नेता बालेन्द्र शाहको क्रेजको पनि नेपाली समाजमा कुनै अर्थ रहने छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भूमिनन्द बराल
भूमिनन्द बराल
लेखकबाट थप