बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
इनिशा मृत्यु प्रकरण

इनिसा मृत्यु प्रकरणः चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश

मङ्गलबार, १७ चैत २०८२, २० : ३८
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • सुर्खेतमा बलात्कारपछि हत्या आरोप लागेका चारै जना नाबालकलाई बाल सुधार गृहमा पठाइएको छ।
  • १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको थियो।
  • प्रहरीले एकल करणीको निष्कर्ष निकाले पनि सरकारी वकिलले सामूहिक बलात्कारको अभियोग लगाएको छ।

सुर्खेत । इनिसा विकको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकहरुलाई पूर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश दिएको छ । 

मंगलबार सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले चारै जना नाबालकहरुलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन भनेको हो । 

अदालतका सूचना अधिकारी उज्वल रावलले हाललाई पूर्पक्षका लागि सुधार गृह पठाइए पनि मुद्दाको अन्तिम फैसला भने बाँकी नै रहेको रातोपाटीलाई बताए । ‘सबै साक्षीहरूको बयान र प्रमाणहरूको अध्ययन गरिसकेपछि मात्र यस मुद्दामा अन्तिम ठहर हुनेछ,’ उनले भने । 

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् । 

फागुन २३ गते शनिबार बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । 

‎प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट उनका प्रेमी भनिएका १६ वर्षे नाबालकलाई नियन्त्रणमा लिएको थियो ।

‎‎भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर गरेको पोस्टमार्टम रिपोर्टमा जबरजस्तीकरणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको बताएको थियो ।  ‎

‎ ‎इनिसाका परिवार तथा आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २४ गते अन्य तीन जनाको नाममा निवेदन दिए । प्रहरीले ती तीन जना नाबालकलाई सोही दिन पक्राउ गर्‍यो । उनीहरू पनि सबै नाबालक नै थिए । 

चैत्र ११ गते प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा इनिसामाथि सामूहिक नभई एकल करणी भएको निष्कर्षसहित पठाएको थियो । इनिसाका प्रेमी भनिएका १६ वर्षीय नाबालकले सहमतिमै यौन सम्बन्ध राखेको र उनी एक्कासि बेहोस भएको बयान दिएका थिए । 

पछि अस्पताल लैजान सहयोगका लागि आफ्ना साथीहरुलाई बोलाएको बताएका छन् । तर आइतबार सरकारी वकिल कार्यालयले योजनाबद्ध तरिकाले सामूहिक बलात्कार भएको भन्दै चारै जनाविरुद्ध मुद्दा अघि बढाउन अभियोग पत्र अदालतमा दायर गर्‍यो ।

अदालतले पनि मंगलबार चारै जना नाबालकलाई पूर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप