काठमाडौँ । सन्तान नहुनुको पीडा कस्तो हुन्छ ? त्यो भोग्नेलाई जति कसलाई पो थाहा होला र । बदलिँदो जीवनशैली, अस्वस्थकर खानपान, ढिलो विवाह लगायत कारणले पछिल्लो समय धेरै दम्पतीमा नि:सन्तानपनको समस्या बढ्दो छ ।
नि:सन्तानपनको समस्या के धनी के गरिब, के सम्पन्न के विपन्न, के शिक्षित के अशिक्षित सबै वर्गमा देखिने गरेको छ । विभिन्न उपचार विधिबाट पनि सन्तान सुखको सपना पूरा हुन नसकेकाहरूलाई पछिल्लो समय चिकित्सा विज्ञानले आईभीएफ प्रविधि विकास गरेको छ । नेपालमा पनि आईभीएफ प्रविधिबाट बच्चा जन्माउनेहरूको संख्या निकै छ ।
नि:सन्तानपन हुनुको मुख्य कारण के हो ? आईभीएफ प्रविधिबाट कसरी सन्तान सुख प्राप्त गर्न सकिन्छ ? लगायत विषयमा केन्द्रित रहेर हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरकी नि:सन्तापन विशेषज्ञ डा. श्वेता ढकालसँग गरिएको कुराकानीको सम्पादित अंश :
पछिल्लो समय नि:सन्तानपन बढ्दै गएको देखिन्छ । सबैभन्दा पहिले नि:सन्तानपन भनेको के हो ? यो कुन कारणले हुन्छ ? यसबारे बताइदिनुस् न ।
नि:सन्तानपन आजको समयमा एक गम्भीर स्वास्थ्य र सामाजिक चुनौतीका रूपमा देखा परेको छ । चिकित्सा विज्ञानको भाषामा भन्नुपर्दा यदि ३५ वर्षमुनिका कुनै दम्पतीले एक वर्षसम्म कुनै पनि गर्भनिरोधक साधन प्रयोग नगरी नियमित रूपमा सन्तानका लागि प्रयास गर्दा पनि गर्भ रहन सकेन भने त्यसलाई हामी 'नि:सन्तानपन' भन्छौँ । यदि उमेर ३५ वर्षभन्दा माथि छ भने ६ महिनाको प्रयासमा पनि सफलता नमिलेमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।
अहिलेको अवस्था हेर्दा यो समस्या निकै बढिरहेको छ । पहिले-पहिले नि:सन्तानपन हुनुमा महिलाको मात्र दोष मानिन्थ्यो, तर अहिले तथ्याङ्कले के देखाउँछ भने ३० देखि ४० प्रतिशत केसहरूमा पुरुषका कारणले नि:सन्तानपन भइरहेको छ । बाँकी ४० प्रतिशत महिलाका कारण र बाँकी २० प्रतिशतमा दुवैको वा कारण पत्ता नलाग्ने समस्या हुन्छ । विशेषगरी वैदेशिक रोजगारीमा गएका पुरुषहरूमा शुक्रकीटको कमी र गुणस्तरमा गिरावटको समस्या बढी देखिएको छ ।
हाम्रो खानपान र आधुनिक जीवनशैलीले यसमा कत्तिको भूमिका खेलेको छ ?
यो निकै महत्वपूर्ण प्रश्न हो । अहिलेको आधुनिक जीवनशैली नै नि:सन्तानपनको प्रमुख कारक बनेको छ । हामीले खाने खानेकुरामा प्रशोधित चिनी, मैदा, सेतो चामल र बाहिरका तयारी खाना (जस्तै: म:म, चाउमिन, कोक, पिज्जा) को बाहुल्यता छ । यस्ता खानाले शरीरमा 'इन्सुलिन'को मात्रा बिगार्नुका साथै हर्मोनल असन्तुलन गराउँछ ।
आईभीएफ केही खर्चिलो प्रक्रिया पक्कै हो । यसको प्रमुख कारण यसमा प्रयोग हुने महँगा इन्जेक्सनहरू र प्रयोगशालाका अत्याधुनिक सामग्रीहरू हुन्, जुन हामीले विदेशबाट आयात गर्नुपर्ने हुन्छ । नेपालमा आईभीएफको औसत खर्च २ लाख ६० हजारदेखि ४-५ लाखसम्म पर्न सक्छ । यो बिरामीको अवस्था र आवश्यक पर्ने इन्जेक्सनको मात्रामा भर पर्छ ।
महिलाहरूमा पीसीओएसको समस्या बढ्नुको मुख्य कारण नै अस्वस्थकर खानपान र व्यायामको कमी हो । साथै, बढ्दो मानसिक तनाव, पर्याप्त निद्राको अभाव, धुम्रपान र मदिराको सेवनले अण्डा र शुक्रकीट दुवैको गुणस्तर नष्ट गरिरहेको छ । मोटोपन अर्को ठुलो शत्रु हो । जसले गर्दा शरीरमा प्रजनन् हर्मोनहरूले सही तरिकाले काम गर्न पाउँदैनन् ।
जब दम्पतीहरू सन्तान नभएर पीडामा हुन्छन्, उनीहरूका लागि 'आईभीएफ' प्रविधि एउटा ठुलो आशा बनेर आएको छ । यो आईभीएफ भनेको के हो ? यसलाई सरल भाषामा बुझाइदिनुस् न ।
आईभीएफ अर्थात् 'इन भिट्रो फर्टिलाइजेसन' कृत्रिम गर्भाधान प्रविधि हो । कतिपय अवस्थामा प्राकृतिक रूपमा महिलाको पाठेघरको नलीमा अण्डा र शुक्रकीटको मिलन हुन सक्दैन । यस्तो अवस्थामा हामी महिलाको शरीरबाट परिपक्व अण्डा निकाल्छौँ र पुरुषको शुक्रकीटसँग प्रयोगशालामा (शरीरबाहिर) मिलाएर भ्रूण तयार पार्छौँ ।
जब त्यो भ्रूण प्रयोगशालामा तीनदेखि पाँच दिनसम्म विकसित हुन्छ, त्यसलाई पुनः महिलाको पाठेघरमा प्रत्यारोपण गरिन्छ । यो प्रविधि ती दम्पतीका लागि वरदान सावित भएको छ, जसको अन्य सामान्य उपचारबाट सन्तान प्राप्तिको सपना पूरा हुन सकेको छैन ।
कस्तो अवस्थामा आईभीएफ गराउन आवश्यक हुन्छ ? नि:सन्तानपनको कस्तो समस्या भएका दम्पतीलाई आईभीएफ प्रभावकारी हुन्छ ?
सबैलाई आईभीएफ आवश्यक पर्दैन । हामी सुरुमा सामान्य उपचार विधि जस्तै ओभुलेसन इन्डक्सन वा आईयूआईबाट प्रयास गर्छौँ । तर यी अवस्थामा भने आईभीएफ नै उत्तम विकल्प हुन्छ । यदि महिलाको दुवै पाठेघरको नली बन्द भएको अवस्थामा, महिलामा अण्डाको सङ्ख्या एकदमै कम भएमा वा उमेर ४० को हाराहारीमा पुगेमा, पुरुषको शुक्रकीटको सङ्ख्या वा गतिशीलता धेरै नै कमजोर भएमा, इन्डोमेट्रियोसिस जस्ता जटिल समस्या भएमा र लामो समयसम्म अन्य उपचार गर्दा पनि सफलता नमिलेमा ।
आईभीएफको प्रक्रिया सुन्दा धेरैलाई यो निकै जटिल वा पीडादायी होला भन्ने लाग्छ । यसका चरणहरू के-के हुन्छन् ?
धेरैलाई लाग्न सक्छ यो धेरै ठुलो शल्यक्रिया हो, तर त्यस्तो होइन । यसका मुख्य ४-५ वटा चरण हुन्छन् ।
स्टिमुलेसन : महिनावारीको दोस्रो दिनदेखि करिब १०-१२ दिनसम्म सानो सुई (इन्जेक्सन) लगाएर धेरै अण्डा बनाइन्छ।
अण्डा निकाल्ने : अण्डाहरू तयार भएपछि एउटा सानो प्रक्रियामार्फत अण्डा निकालिन्छ । यो काम बेहोस बनाएर गरिने हुनाले दुखाइ हुँदैन ।
फर्टिलाइजेसन : प्रयोगशालामा अण्डा र शुक्रकीट मिलाएर भ्रूण बनाइन्छ ।
भ्रूण हुर्काउने : भ्रूणलाई ३ देखि ५ दिनसम्म विशेष इन्क्युबेटरमा राखिन्छ ।
प्रत्यारोपण : यो सबैभन्दा सजिलो प्रक्रिया हो । तयार भएको भ्रूणलाई पातलो नलीमार्फत पाठेघरमा राखिन्छ । यसमा बेहोस बनाउन पनि पर्दैन र दुखाइ पनि हुँदैन ।
समाजमा एउटा भ्रम छ, आईभीएफ गर्दा जहिले पनि जुम्ल्याहा बच्चा जन्मिन्छन् । यसमा कत्तिको सत्यता छ ?
यो एउटा आम धारणा मात्र हो । आईभीएफ गर्दा सफलताको दर बढाउन कहिलेकाहीँ हामीले दुईवटा भ्रूण प्रत्यारोपण गर्छौँ । त्यस्तो अवस्थामा जुम्ल्याहा हुने सम्भावना रहन्छ, तर यो १०० प्रतिशत होइन । तथ्याङ्कअनुसार दुईवटा भ्रूण राख्दा जुम्ल्याहा हुने सम्भावना जम्मा १० देखि १५ प्रतिशत मात्र हुन्छ । अहिले त हामी सकभर एउटै मात्र राम्रो गुणस्तरको भ्रूण राख्न सल्लाह दिन्छौँ, ताकि आमा र बच्चा दुवैको स्वास्थ्यमा जोखिम कम होस् ।
आईभीएफबाट जन्मेका बच्चाहरू प्राकृतिक रूपमा जन्मेका जस्तै स्वस्थ हुन्छन् ?
आईभीएफबाट जन्मेका बच्चाहरू प्राकृतिक रूपमा जन्मेका बच्चाजस्तै पूर्ण रूपमा स्वस्थ र सामान्य हुन्छन् । उनीहरूमा अटिजम वा अन्य शारीरिक अपाङ्गताको जोखिम बढी हुन्छ भन्ने कुरा वैज्ञानिक रूपमा पुष्टि भएको छैन । आमाको हकमा भन्नुपर्दा इन्जेक्सनका कारण केही समयका लागि मुड स्विङ हुने, पेट अलि फुल्ने वा हल्का दुख्ने जस्ता सामान्य समस्या हुन सक्छन्, जुन केही दिनमा आफैँ ठीक भएर जान्छ । यसको कुनै दीर्घकालीन नकारात्मक असर छैन ।
नेपालको सन्दर्भमा आईभीएफ कत्तिको खर्चिलो छ ?
आईभीएफ केही खर्चिलो प्रक्रिया पक्कै हो । यसको प्रमुख कारण यसमा प्रयोग हुने महँगा इन्जेक्सनहरू र प्रयोगशालाका अत्याधुनिक सामग्रीहरू हुन्, जुन हामीले विदेशबाट आयात गर्नुपर्ने हुन्छ । नेपालमा आईभीएफको औसत खर्च २ लाख ६० हजारदेखि ४-५ लाखसम्म पर्न सक्छ । यो बिरामीको अवस्था र आवश्यक पर्ने इन्जेक्सनको मात्रामा भर पर्छ । यद्यपि, विदेशको तुलनामा नेपालमा यो उपचार निकै सस्तो छ ।
सन्तान प्राप्तिको प्रतीक्षामा रहेका र सङ्घर्ष गरिरहेका दम्पतीहरूलाई तपाईं के सुझाव दिन चाहनुहुन्छ ?
नि:सन्तानपन कुनै पाप वा अभिशाप होइन, यो एउटा मेडिकल समस्या मात्र हो । त्यसैले नलजाउनुस् र नहिचकिचाउनुस् । समयमै विशेषज्ञको सल्लाह लिनुहोस् ।
आफ्नो जीवनशैली सुधार्नुहोस् । चिनी, मैदा र प्याकेटका खाना त्याग्नुहोस् । ताजा फलफूल, तरकारी र ओखर, बदाम, चिया सिड जस्ता स्वस्थ बिउबिजन खानुहोस् । यदि तपाईंले आफ्नो तौल १० देखि १५ प्रतिशत मात्र घटाउनुभयो भने पनि सन्तान हुने सम्भावना २५ प्रतिशतले बढ्छ । तनाव कम गर्नुहोस् र सकारात्मक रहनुहोस् ।
'हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टर'को बारेमा पनि केही बताइदिनुस् न ।
‘हार्दिक आईभीएफ’मा हामी बिरामीलाई नम्बरका रूपमा मात्र हेर्दैनौँ । हामी उनीहरूको भावनात्मक पीडा बुझेर उपचार गर्छौँ । हाम्रो प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्डको छ र यहाँ विशेषज्ञ डाक्टरहरूको टिमले प्रत्येक बिरामीलाई उनीहरूको विशिष्ट आवश्यकताअनुसार व्यक्तिगत सेवा प्रदान गर्छ । हाम्रो सफलता दर पनि निकै राम्रो छ । यहाँ आउने दम्पतीले उपचार मात्र होइन, एउटा भरोसा र परिवार जस्तै वातावरण पाउनुहुन्छ ।
प्रतिक्रिया