चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
सारांश
- कलंकीदेखि बसुन्धरासम्मको चक्रपथ विस्तारको दोस्रो खण्डको निर्माण कार्य चिनियाँ पक्षको ठेक्का प्रणालीमा ढिलाइ भएको छ ।
- सम्झौता भएको लामो समय बितिसक्दा पनि चिनियाँ कम्पनीले विस्तृत सर्भे र डिजाइन स्वीकृत गरी ठेक्का बन्दोबस्तको चरणमा प्रवेश गर्न ढिलाइ गरिरहेको छ ।
- यो खण्डमा १६ मिटरको पुल, ६४ मिटरको विष्णुमती पुल, ४ वटा आकाशेपुल र ५६० मिटरको ओभरपास निर्माण गरिनेछ ।
काठमाडौँ । यतिबेला काठमाडौँ चक्रपथ सडक खण्ड भएर यात्रा गर्ने जो–कोहीले एउटै कुरा महसुस गर्छन्, चरम अस्तव्यस्तता र सकस ।
कलंकीदेखि बसुन्धरा, सुकेधारा हुँदै धोबीखोलासम्मको सडक खण्ड अहिले सडक होइन, झाडी र घाँसको मैदानजस्तो देखिन्छ । वर्षामा हिलोले सवारी गुड्न मुस्किल पर्छ, घाम लाग्दा धुलोले आकाशै छोप्छ । विस्तारका नाममा ८ वर्षदेखि लाखौँ नागरिकले यो सास्ती खेप्दै आएका छन् ।
सडकको दुवैतर्फ उम्रिएका झारपातले कतिपय ठाउँमा मुख्य सडक नै ढाक्न लागिसकेको छ । त्यसमाथि सडकमा जथाभावी गाडी पार्किङ गर्ने र सामान लोड–अनलोड गर्ने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । न कतै पैदलयात्री हिँड्न मिल्ने सडक पेटी छ नत जेब्राक्रसिङ नै, सडक सुरक्षाका दृष्टिकोणले यो क्षेत्र यतिबेला अत्यन्तै चुनौतीपूर्ण बनेको छ । कलंकीदेखि सुकेधारा र महाराजगञ्ज–नारायणगोपाल चोकसम्मकको सडक झार र हिलोले कुरूप बनेको छ ।
सम्झौताको अढाइ महिना तर सुरु भएन काम
यो सकस र सास्तीबिच गत वैशाख १६ गते काठमाडौँबासीका लागि एउटा खुसीको खबर आएको थियो । लामो समयदेखि अन्योलमा रहेको चक्रपथ विस्तारको दोस्रो खण्ड (कलंकी–बसुन्धरा) को निर्माणका लागि नेपाल सरकार र चिनियाँ पक्षबिच औपचारिक सम्झौता भयो । पूर्वाधार विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबिच २०८३ वैशाख १६ गते ११ अर्ब रुपैयाँ बराबरको अनुदान सहायतासम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको थियो ।
सम्झौताअनुसार कलंकीदेखि बसुन्धरासम्मको ८.२ किलोमिटर सडक तथा पुल निर्माणका लागि चीन सरकारले यो ठुलो रकम उपलब्ध गराउनेछ । तर, सम्झौता भएर प्रारम्भिक डिजाइनसमेत स्वीकृत भइसके पनि भौतिक रूपमा सडक विस्तार कार्य अझै अघि बढ्न सकेको छैन ।
चक्रपथको मुख्य सडक चीन सरकारको अनुदानमा बन्ने भएकाले लेटर अफ एक्सचेन्जमा सहमति भएबमोजिम चिनियाँ पक्षकै ठेक्का प्रणालीमा भर पर्नुपर्ने अवस्था छ । सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालका अनुसार सम्झौतासँगै प्राविधिक कामहरू अगाडि बढेका छन् । चिनियाँ कम्पनीले प्रारम्भिक डिजाइन तयार पारी सडक विभागबाट स्वीकृत गराइसकेको छ ।
अब विस्तृत सर्भे र डिजाइन कम्पनीले आफ्नो देशको मन्त्रालयमा पेस गर्नेछ र उनीहरूको आफ्नै प्रणालीअनुसार त्यसलाई स्वीकृत गरेर मात्र ठेक्का बन्दोबस्तको चरणमा प्रवेश गर्ने आयोजनाको भनाइ छ । पूर्ण रूपमा चिनियाँ अनुदानमा निर्माण हुन लागेकाले ठेकेदार छनोटको सम्पूर्ण जिम्मेवारी चिनियाँ पक्षकै हुने भएकाले विस्तारमा ढिलाइ भइरहेको आयोजनाको भनाइ छ ।
किन लाग्यो ८ वर्ष ?
सन् २०१९ मा चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलंकी) सफलतापूर्वक सम्पन्न भएपछि दोस्रो खण्ड तत्काल सुरु हुने अपेक्षा थियो । तर, दोस्रो खण्ड सुरु हुन ७ वर्ष लाग्नुमा कोभिड–१९ महाव्याधि, नेपालको आन्तरिक प्रशासनिक झमेला र राजनीतिक अस्थिरतालाई मुख्य कारण मानिएको छ ।
सडक विभागका अधिकारीका अनुसार चक्रपथ विस्तार ढिला हुनुमा कुनै विशेष भू–राजनीतिक कारण नभई नियमित प्रशासनिक प्रक्रिया र नेपालकै आन्तरिक कमजोरीहरू जिम्मेवार छन् । नेपालको अस्थिर राजनीतिक वातावरणले पनि यसमा ठुलो असर पुर्यायो । निर्माण सामग्रीमा कर छुटसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाँदा बारम्बार सरकार परिवर्तन हुने वा संसद् विघटन हुनेजस्ता राजनीतिक उतारचढावले फाइलहरू निष्क्रिय भए ।
अन्ततः २०८२ फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले निर्माण सामग्रीमा भन्सार र कर छुट दिने निर्णय गरेपछि मात्रै चिनियाँ पक्षसँग सम्झौताको औपचारिक ढोका खुलेको थियो । चक्रपथ स्तरोन्नतिको काममा चिनियाँ पक्षलाई सहजता ल्याउने उद्देश्यले नेपाल सरकारले २०६९ पुस १८ गते नै बबरमहलमा योजना कार्यालय स्थापना गरेको थियो । सोही योजनाअन्तर्गत चीनले २०६९ सालमा सुरु गरेको कोटेश्वर–कलंकी (१०.३९ किमि) प्रथम खण्ड करिब ५ अर्ब रुपैयाँ अनुदानमा आठ लेनमा विस्तार गरी सन् २०१९ जनवरी ८ मा नेपाललाई हस्तान्तरण गरेको थियो ।
अहिले दोस्रो खण्डका लागि नेपाल सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने सडक सीमा (राइट अफ वे) खाली गर्ने, विद्युत्, खानेपानी र टेलिफोनका पोल तथा तार सार्ने रूख कटान गर्ने काम पूर्ण रूपमा सम्पन्न गरिसकेको छ । त्यस्तै, नेपाल सरकारकै बजेटमा कलंकीदेखि स्वयम्भूसम्म दुवैतर्फको सर्भिस ट्रयाक निर्माण भइसकेको छ भने स्वयम्भूबाट बसुन्धरासम्म ४ वटा प्याकेजमा सर्भिस ट्रयाक निर्माण पनि सकिइसकेको छ । नेपालले आफ्नो हिस्साको तयारी पूरा गरे पनि चिनियाँ प्रक्रियाको सुस्तताका कारण मुख्य काम अघि बढ्न सकेको छैन ।
ओभरपासदेखि अपांगमैत्री आकाशेपुलसम्मको आधुनिक स्वरूप
चिनियाँ सरकारी कम्पनी ‘सीसीसीसी फर्स्ट हाइवे कन्सल्टेन्ट्स’ र ‘सिआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङ लिमिटेड’ले तयार पारेको यो सडकको डिजाइन निकै अत्याधुनिक छ । कुल ३८.५ मिटर चौडाइ रहने यो सडक चीनको सहरी सडक मापदण्डअनुसार भव्य आठ लेनमा विस्तार गरिनेछ ।
डिजाइनअनुसार सडकको दुवै छेउमा २.७५ मिटरको फुटपाथ हुनेछ । बिचमा दुईतर्फी चार लेनको मुख्य सडक र सडकको ठीक बिच भागमा बोटबिरुवा रोप्न तथा बिजुली र इन्टरनेटका तार व्यवस्थापन गर्न ३ मिटरको ‘मेडियन’ (ग्रीन बेल्ट) निर्माण गरिनेछ ।
यस खण्डमा कलंकी–स्युचाटारमा १६ मिटर लम्बाइको र विष्णुमती नदीमाथि ६४ मिटर लम्बाइको गरी दुई वटा मुख्य पुल निर्माण हुनेछन् । साथै, यात्रुलाई बाटो काट्न सहज होस् भनेर ४ वटा अत्याधुनिक अपांगमैत्री आकाशेपुल निर्माण गरिनेछन् । यी पुलहरू सीतापाइला–स्वयम्भू, ढुंगेधारा–बालाजु, बालाजु–माछापोखरी र सामाखुसी–बसुन्धरा चौकीको बिचमा बनाइनेछ ।
यातायात व्यवस्थापनलाई थप चुस्त बनाउन माछापोखरीदेखि नयाँ बसपार्कसम्म ५६० मिटर लम्बाइको भव्य ‘ओभरपास’ निर्माण गरिनेछ । सवारीसाधन तथा यात्रुको सहजताका लागि सडकमा ११ वटा चोकहरू (इन्टरसेक्सन) र २२ वटा व्यवस्थित बस बिसौनीसमेत बनाइने डिजाइनमा उल्लेख छ ।
भौतिक निर्माणको काम कहिलेदेखि ?
वैशाखको सम्झौताले उपत्यकावासीमा आधुनिक र सुविधायुक्त सडक पाउने आशा जगाए पनि भौतिक निर्माणका लागि अझै केही महिना कुर्नुपर्ने देखिएको छ । उपमहानिर्देशक अर्यालका अनुसार तत्काल मेसिन लिएर काम सुरु हुने सम्भावना छैन । चिनियाँ पक्षले ठेकेदार छनोट प्रक्रिया सक्न समय लाग्ने भएकाले आगामी वर्षायाम सकिएपछि (अर्थात् असोज महिनाको आसपासबाट) मात्र चक्रपथमा भौतिक रूपमा काम सुरु हुने जानकारी दिएका छन् ।
दसैँ तिहारलगायतका चाडपर्वपछि मात्रै काम सुरु हुने उनको भनाइ छ । यता नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको ७ सय मिटर सडक विस्तारको काम सकिइसकेको छ । सडक डिभिजन काठमाडौँले उक्त सडक विस्तार गरेको हो । यस्तै चपल कारखानादेखि धोवीखोलासम्म पनि विस्तार कार्य अघि बढाइएको छ । त्यस उता कोटेश्वरसम्मको खण्ड (चावेल– गौशाला–कोटेश्वर) पनि अस्त व्यस्त नै छ । कहिले विस्तार अघि बढ्छ टुंगो छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण